भाइरल भ्रम र भविष्य
हिजोआज भाइरल शब्द सर्वाधिक चर्चित भइरहेको छ। भाइरल शब्द केवल प्रविधिसँग सम्बन्धित शब्द मात्र रहेन, यो सामाजिक चेतना, राजनीतिक निर्णय र लोकतान्त्रिक अभ्यासलाई निर्देशित गर्ने शक्तिशाली कारक बन्दै गएको छ।
एआइ र एल्गोरिदमको युगमा भाइरल शब्दले राजनीति, अर्थतन्त्र, मिडिया, व्यक्ति र समाज विभिन्न क्षेत्रमा अत्यन्तै गहिरो प्रभाव पारेको छ। धेरै जनताको जनजिब्रोमा भाइरल शब्द धेरै झुन्डिन थालेको छ।
यसले मानिसहरूबीचको संवादलाई निर्देशित गरिरहेको छ। लाइक, डिसलाइक, कमेन्ट र भाइरल कन्टेन्टका भरमा धेरै जसो मानिसहरुले आफ्नो धारणा बनाई रहेका छन्। यस्तो किन भइरहेको छ? यसको विश्लेषण गर्न जरुरी छ।
धेरैलाई थाहा छ, सत्य गहिरो हुन्छ, त्यसैले ढिलो बुझिन्छ। भाइरल छिटो हुन्छ, त्यसैले छिटो विश्वास गरिन्छ। हामी हतारमा छौं, हामीलाई तत्काल धेरै कुरा चाहिएको छ। यसको प्रत्यक्ष प्रभाव समाजका विभिन्न क्षेत्र स“गस“गै विशेषगरी हाल राजनीति र निर्वाचनमा बढी मात्रामा परेको छ।
नेपाल आज केवल राजनीतिक संक्रमणको चरणमा मात्र छैन, सूचनाको असीमित प्रवाहले सिर्जना गरेको गम्भीर संकटसँग पनि जुधिरहेको छ। सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूले प्रयोग गर्ने एल्गोरिदमहरूले नागरिकको सोच, विवेक र छनोट प्रक्रिया माथि अभूतपूर्व प्रभाव जमाएको छ। यसले लोकतन्त्रको मेरुदण्ड मानिने स्वतन्त्र मत निर्माण प्रक्रियालाई समेत गम्भीर रुपमा प्रभावित बनाएको छ।
ब्रेनवास अब कुनै गोप्य कोठामा होइन, मोबाइलको स्क्रिनमार्फत सञ्चालन भइरहेको छ। निरन्तर दोहोरिने भिडियो, रिल, स्टाटस र पूर्वनिर्धारित न्यारेटिभहरूले व्यक्तिको चेतनालाई बिस्तारै सीमित बनाउँदै लैजाँदैछन्।
एल्गोरिदमले प्रयोगकर्ताको रुचि र व्यवहारको विश्लेषण गरी उस्तै प्रकृतिका सामग्री मात्र बारम्बार प्रस्तुत गर्दा वैकल्पिक दृष्टिकोण ओझेलमा पर्छन्। जसले गर्दा व्यक्तिहरु एकतर्फी सूचनाका कारण सही निर्णयको छनौटमा असफल हुन पुगिरहेका छन्।
एल्गोरिदमिक प्रभावका कारण मानिसले आफ्नै रुचिसँग मेल खाने सामग्री मात्र लाइक,सेभ र सेयर गर्दा बारम्बार त्यस्तै प्रकृतिका कन्टेट मात्र बढीमात्र अगाडी आउँछ र फरक कन्टेट क्रमशः अदृश्य बन्छ।
यसले व्यक्तिको सोचलाई साँघुरो बनाउँछ र यही साँघुरोपनको फाइदा लोकप्रियतावादी न्यारेटिभहरूले उठाउँछन्।। जहाँ विचारभन्दा भीडको मनोविज्ञान तिब्र गतिमा फैलिन्छ।
यही पृष्ठभूमिमा यति वेला मुलुक निर्वाचनको संघारमा उभिएको छ। निर्वाचन लोकतन्त्रको आधार हो, जहाँ मतदाताले स्वतन्त्र विवेक प्रयोग गर्ने अपेक्षा गरिन्छ। तर वर्तमान अवस्थामा फरक मत राख्ने व्यक्तिहरुले सामाजिक सञ्जालमा ट्रोल, धम्की र चरित्रहत्या जस्ता दबाबको सामना गर्न बाध्य भएको देखिन्छ।
चुनावमा मतदाताले आफ्ना वर्षौँदेखिका दुःखको जादुमयी उपचार खोजिरहेका छन्। राजनीतिक दलहरूले पनि यही कमजोरीलाई समातेर भाइरल हुने खालका सस्ता नारा र आश्वासन बाँडिरहेका छन्। हामीलाई लाग्छ कि एउटा चुनावले सबै थोक बदल्छ, तर राजनीतिक र सामाजिक परिवर्तन एक निरन्तर र ढिलो प्रक्रिया हो। हतारमा गरिने निर्णयले प्रायः पछुतो मात्र दिन्छ।
हालको सन्दर्भमा सबै पुराना दल असफल तथा सबै पुराना उम्मेदवार अयोग्य र सबै युवा सक्षम तथा नयाँ शक्ति नै समाधान भन्ने सरलीकृत न्यारेटिभ प्रभावशाली बन्दै गएको छ।
तर प्रश्नविहीन विश्वास र उत्तरदायित्वविहीन समर्थन परिपक्व लोकतान्त्रिक चेतनाको सूचक होइन। लोकतन्त्र विश्वासभन्दा बढी प्रश्न, जाँच र उत्तरदायित्वमा आधारित व्यवस्था हो। इतिहासले देखाइसकेको छ, आज स्वीकार गरिएको विकल्प भोलि जनताको अदालतमा पुनः अस्वीकारको विषय बन्न सक्छ।
तर विकास, समृद्धि र न्यायको तीव्र चाहनाले हामीलाई प्रक्रियाभन्दा परिणाममा केन्द्रित गराएको छ। हामी विकास, समृद्धि र न्यायका लागि यति भोकाएका छौँ कि हामीलाई प्रक्रिया भन्दा परिणाम मात्र चाहिएको छ। यो अस्थिरताले गर्दानै समाजमा भाइरल संस्कृति हाबी भइरहेको छ।
सामाजिक सञ्जालका एल्गोरिदमहरूले पनि यस्तै उत्तेजक सामग्रीलाई बढावा दिइरहेका छन्। यसले गर्दा मानिसहरूले जे धेरै देख्छन् त्यसैलाई सत्य मान्न थाल्छन्। सामाजिक सञ्जालको प्रभावले गर्दा हामी याक्ट भन्दा पनि इम्प्रेसनको पछि दौडिरहेका छौँ। पहिले मानिसहरू राजनीतिक सिद्धान्त र विचारका आधारमा नेताहरूबाट प्रेरित हुन्थे। अब एल्गोरिदमले गरिदिएको प्रचार भाइरल संस्कृतिबाट प्रभावित भइरहेको छ।आज मुख्य चासो र चिन्ता यसै विषयमा केन्द्रित बन्दै गइरहेको छ।
यो अवस्था दीर्घकालमा लोकतान्त्रिक मूल्य र सामाजिक सहिष्णुताका लागि गम्भीर चुनौती हो। स्वतन्त्र मत निर्माणको आधार कमजोर हुँदै जानु लोकतन्त्रकै क्षयको संकेत हो। निर्वाचन केवल मत हाल्ने प्रक्रियामात्र होइन, सूचित, स्वतन्त्र र विवेकशील निर्णयको अभ्यास पनि हो।
सत्य ढिलो बुझिनुको अर्थ यो होइन कि त्यो कमजोर छ। बरु त्यो दिगो छ। भाइरल छिटो हुनुको अर्थ यो होइन कि त्यो सही छ। बरु त्यो क्षणिक छ। कवी लेखनाथ पौड्यालको चर्चित कविताको एक अंश नै बुझ्नलाई काफी रहेको छ। उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ।
सामाजिक सन्जालमा भाइरल भइरहेका विषय वास्तवमा क्षणिक र खहरे जस्ता हुन्छन्। सत्य भने ढिलो भए पनि स्थायी हुन्छ। तसर्थ कुनै पनि समाज केवल भाइरल भावनामा लामो समय टिक्न सक्दैन। यदि हाम्रो भविष्यको निर्णय एल्गोरिदमले लियो भने, लोकतन्त्रलाई दोष दिने कि आफ्नो विवेक सुम्पिएको स्वीकार गर्ने? एउटा गम्भिर प्रश्न खडा भएको छ।
मनोविज्ञानका अनुसार हामीलाई छिटो प्रतिफल चाहिएको छ। जसले गर्दा हामी गहिरो सत्यतिर लाग्नु भन्दा भाइरल र सतही कुरामा अल्झिन रुचाउँछौँ। कुनै पनि कुरा भाइरल हु“दैमा दीगो हुँदैन। एल्गोरिदमको मिसयुजले लोकतन्त्रलाई उन्नत बनाउंदैन। यसले जनताको स्वतन्त्र विवेकलाई बन्धक बनाउँछ।
त्यसकारण संसारको इतिहास साक्षी छ, शासन छनौटमा जनताले प्रयोग गर्ने स्वतन्त्र विवेकले नै लोकतन्त्रको सुन्दर भविष्य तय गर्नेछ। त्यसकारण स्टन्ट र डिपफेकको गोलचक्करबाट जनताको स्वतन्त्र विवेक माथि उठ्नु जरुरी छ। इतिहासले बारम्बार यही सन्देश दिएको छ। अव भाइरल होइन भ्यालुएवल बनौं। स्वतन्त्र विवेक नै लोकतन्त्रको आत्मा हो।
यसका लागि हरेक असल नेतृत्व कर्ताले चुनावी दौरानका क्रममा कसैलाई पनि गाली, द्वेष, बदला वा उत्तेजनाका शब्द प्रहार गर्ने होइन, देश बदल्ने सोचका लागि आफ्ना योजना, विचार, नीति, मार्गचित्र, सिद्धान्त र परिवर्तनका स्पष्ट विचारहरु जनतासंग राखी मन जित्ने कार्य गरौं।
किनकि हाम्रो मुख्य साझा समस्या भनेको अर्थतन्त्रको न्युन विकास र सुशासनको अभाव हो। अर्थतन्त्र सुढृण नभएसम्म देश सबल हुँदैन, देश सबल नभएसम्म अर्थतन्त्र सुढृण हुँदैन। त्यसैले निकट भविष्यमा अर्थतन्त्र र देश सबल बनाउन राजनीतिक स्थिरताका लागि सवैले भाइरलको भ्रमबाट मुक्त भई आफ्नो अमुल्य विवेक प्रयोग गरौं।
भवतु मंगलम।















Facebook Comment