प्राचीन नियात्रा साहित्यको नवीन कृति
नेपाली नियात्रा साहित्यको भण्डारमा एकाग्र साधनाको उज्यालो नाम हो- जय छाङ्छा राई। यात्रालाई भौगोलिक दूरी पार गर्ने क्रिया नभई आत्मा, अनुभूति र इतिहासको संवेदनशील संगमका रूपमा व्याख्या गर्ने उनका लेखनले नेपाली साहित्यमा विशिष्ट स्थान निर्माण गरेको छ।
उनको नवीनतम् कृति ‘प्राचीन नियात्रा साहित्यको विश्लेष्णात्मक अध्ययन’ त्यही साधनाको परिपक्व रूप हो। यस कृतिमा नियात्रा परम्पराको गहिरो उत्खनन, विम्बीय सौन्दर्यको विवेचना र विधागत अस्पष्टताको समालोचनात्मक अन्वेषण एकैसाथ गरिएको छ।
यस ‘प्राचीन नियात्रा साहित्यको विश्लेष्णात्मक अध्ययन’ कृतिमा प्राचीन नेपाली एवं पाश्चात्य नियात्राको योगदान, प्रारम्भिककालीन नारीको नियात्रामा योगदान, के यात्रा साहित्यको अवसान भएकै हो त ?, नियात्रा सिर्जनामा अस्पष्टताको अवस्था, नियात्रामा विम्बविधान र नियात्राका सौन्दर्यहरु शीर्षकमा चर्चा गरिएको छ।
नियात्रा लेखकका अनुसार नियात्रा विधा गन्तव्यसम्म पुग्ने बाटोको विवरण होइन; यो मनुष्यको अन्तःयात्राको अभिलेख पनि हो। उनको नवीनतम् कृति प्राचीन यात्रा साहित्य सम्बन्धी मन्तव्य पढ्दा यस्तो अनुभूति हुन्छ- जस्तो उकाली-ओरालीले घेरिएको पूर्वी पहाडको भूगोल मात्र होइन, जीवनको उतार–चढावले बनेको आत्मानुभूतिक भूगोल पनि बोलिरहेको छ।
पूर्वी पहाडी जिल्लाको पुत्र हुनु उनको भौगोलिक परिचय मात्र होइन, भावनात्मक संस्कार पनि हो। उकालो चढ्दा सास फेर्न सिकिन्छ, ओरालो झर्दा सन्तुलन कायम राख्नुपर्ने हुन्छ। यिनै अभ्यासले जीवनका संघर्ष र सहजताबिचको लय बुझाइदिन्छ।
त्यसैले उनले यात्रालाई गमनको क्रिया नभई अस्तित्वको नियमका रूपमा ग्रहण गरेका छन्। ब्रह्माण्डका मूर्त र अमूर्त तत्व निरन्तर गतिशील छन् भन्ने उनको अनुभूति नियात्रा दर्शनको स्थिरता मृत्यु हो, गति जीवन भन्ने मूल संवेदना हो ।
उनको स्वीकारोक्ति- ‘कतिपय खुसी र कतिपय कर्कापले यात्रामा सहभागी भइरहनु पर्यो।’ मानवीय जीवनको यथार्थ निचोड हो। यात्रामा रमणीय दृश्यहरू हुँदैनन्, थकान, एक्लोपन, अनिश्चितता र आत्मसंघर्ष पनि हुन्छन्। यिनै विरोधाभासहरूले नियात्रालाई जीवनसँग जोड्छन्। त्यसैले उनको यात्राबोध व्यक्तिगत स्मृतिको लेखाजोखा मात्र नभई अस्तित्ववादी संवेदनाको अभिव्यक्ति बनेको छ।
उनको अध्ययनले उठाएको अर्को महत्वपूर्ण प्रश्न नेपाली नियात्राको शास्त्रीय पहिचानसँग सम्बन्धित छ। विदेशी विद्वानहरूको उदासीनता र नियात्रालाई निबन्धकै सीमामा सीमित गर्ने प्रवृत्तिले विधागत अन्योल सिर्जना गरेको उनको संकेत गम्भीर छ।
नियात्रा निबन्धको विस्तार मात्र होइन; यो भूगोल, संस्कृति, समाज, इतिहास, मनोविज्ञान र आत्मानुभूतिक संश्लेषण हो। यसलाई स्वतन्त्र विधाका रूपमा चिन्ने बौद्धिक साहस आवश्यक छ। यही बिन्दुमा उनको अनुसन्धानात्मक आग्रह सिर्जनात्मक जिम्मेवारीमा परिणत हुन्छ।
राईको आकर्षण नियात्रातर्फ रहर र उत्साहबाट सुरु भए पनि त्यसले अध्ययन, चिन्तन र शोधको अनुशासन प्राप्त गरेको छ। भावनात्मक प्रेरणा बौद्धिक अनुशीलनसँग जोडिँदा साहित्य दीर्घजीवी हुन्छ। उनको यात्रा साहित्यप्रतिको प्रतिबद्धता व्यक्तिगत रुचि होइन; नेपाली नियात्रा परम्परालाई विधागत सम्मान दिलाउने सांस्कृतिक दायित्व पनि हो।
यसरी हेर्दा प्राचीन यात्रा साहित्य सम्बन्धी उनको दृष्टिकोण नियात्राको सौन्दर्य र सार दुवैलाई उद्घाटित गर्छ। मेरो जस्तै उनको पनि उकाली-ओरालीको बाल्यकालीन अनुभवबाट सुरु भएको यात्रा-प्रेम ब्रह्माण्डीय गतिशीलताको दर्शनमा रूपान्तरित हुन्छ।
अन्ततः नेपाली नियात्रा विधाको पहिचान र प्रतिष्ठाको खोजमा रूपान्तरित हुन्छ। यही रूपान्तरण उनको कृतित्वको सौन्दर्य हो- जहाँ बाटो, बाटो रहँदैन, जीवनको अर्थ खोज्ने साधना बन्छ।
नियात्रा साहित्यको इतिहास यात्रा वृत्तान्तको इतिहास मात्रै होइन; यो त समय, संस्कृति र दृष्टिकोणको विकास-गाथा पनि हो। यस कृतिमा प्राचीन नेपाली तथा पाश्चात्य नियात्राको योगदानलाई समेट्दै लेखकले नियात्राको जरो कहाँबाट पलायो र कसरी विकसित भयो भन्ने प्रश्नको शोधपूर्ण उत्तर दिएका छन्।
यात्रा साहित्यलाई कतिपयले क्षणिक अनुभवको अभिलेख मात्र ठान्छन्। तर राईले देखाएका छन्- यात्रा त सभ्यताको ऐना हो, जहाँ समाजको मानसिकता, आस्था, संघर्ष र सौन्दर्य प्रतिविम्बित हुन्छ।
उनका पूर्व प्रकाशित कृतिहरू- कङ्गारुको देशदेखि आइफेल टावरसम्म (२०५२), चाँप फुल्ने पहाडमुन्तिर (२०५४), बादल रुँदाको जुरिच (२०५९), अमेरिका यात्राः अध्ययन र इलम (२०६३), बिब्ल्याँटो आकाशको धरातलतिर (२०६४), दोहाको सीधा उडान (२०७३), पैदलै काठमाडौंका चुलीहरू (२०७५), नियात्रा विधा परिचय (२०७७), साङ्ग्रिलाको पुछारतिर (२०८०) र क्याम्फोर रेन इन दार्जिलिङ (२०२०) ले छाङ्छालाई यात्रीसँगै अनुभूतिको इतिहासकार पनि बनाएका छन्। उल्लिखित कृतिहरूमा देखिएको संवेदनात्मक दृष्टि यस नवीन कृतिमा अनुसन्धानात्मक प्रारम्भिककालीन नारी र नियात्रा यस कृतिको एक महत्वपूर्ण पक्ष नियात्रामा योगदानको खोज हो।
इतिहासले धेरैजसो पुरुष यात्रुहरूको नामलाई उजागर गर्यो, तर स्त्री यात्रीका अनुभूति, पीडा र दृष्टिलाई प्रायः ओझेलमा पारियो। राईको अध्ययनले त्यो मौन इतिहासलाई आवाज दिएको छ। उनले देखाएका छन्– नियात्रा पुरुष साहसको आख्यान होइन; त्यो त स्त्री संवेदनाको मौन डायरी पनि हो। यस दृष्टिले मेरो विचारमा यो कृति लैङ्गिक चेतनाले समेत सम्पन्न बनेको छ।
आधुनिक युगमा डिजिटल माध्यम, तस्बिर र भिडियोले यात्रा अनुभवलाई तुरुन्तै सार्वजनिक गरिरहेका छन्। यस्तो परिवेशमा ‘के यात्रा साहित्यको अवसान भएकै हो त ?’ भन्ने प्रश्न उठ्नु स्वाभाविक छ।
राईको निष्कर्ष स्पष्ट छ- तर ‘अवसान’ होइन, ‘रूपान्तरण’ भएको हो। उनले भनेझैँ मेरो पनि यस कुरामा सहमति छ- आजको नियात्रा अधिक बहुआयामिक, अन्तर्दृष्टिपूर्ण र विश्लेषणात्मक बनेको छ। भौतिक यात्रा छोटिएको हुन सक्छ, तर चेतनाको यात्रा अझै अनन्त छ।
नियात्रा सिर्जनामा अस्पष्टताको अवस्था विषयमा लेखकले गम्भीर विमर्श गरेका छन्। नियात्रा कहिले निबन्ध, कहिले संस्मरण, कहिले रिपोर्टाजजस्तो देखिन्छ– यही विधागत द्विविधा यसको सौन्दर्य हो र चुनौती पनि।
राईले विम्ब-विधानको सूक्ष्म विश्लेषण गर्दै नियात्राको सौन्दर्य तत्वलाई उद्घाटित गरेका छन्। यात्राका दृश्य, ध्वनि र सुगन्ध शब्दमा रूपान्तरित हुँदा पाठकको मनमा नयाँ भूगोल निर्माण हुन्छ। वास्तवमा यही शब्द-चित्र नियात्राको ‘प्राण’ हो।
‘प्राचीन नियात्रा साहित्यको विश्लेष्णात्मक अध्ययन’ इतिहासको सूचीकरण होइन; यो विधागत चिन्तनको सशक्त दस्तावेज हो। लेखकले तथ्य, तर्क र संवेदनाको सन्तुलन कायम राखेका छन्। कतिपय स्थानमा विषयको व्यापकता अझै विस्तार हुन सक्थ्यो भन्ने अपेक्षा रहन्छ, तर समग्रमा कृति अनुसन्धानपरक, सुसंगठित र प्रामाणिक देखिन्छ।
यस पुस्तकले नेपाली नियात्रा साहित्यलाई सैद्धान्तिक आधार प्रदान गरेको छ। यसले पाठकलाई यात्रा बाहिरी दृश्यावलोकन होइन, आत्मअन्वेषणको प्रक्रिया हो भन्ने अनुभूति गराउँछ।
अन्ततः, जय छाङ्छा राईको यो कृति नेपाली नियात्रा साहित्यका लागि मार्गदर्शक ग्रन्थका रूपमा स्थापित हुन सक्ने सम्भावना बोकेको छ। यसले परम्पराको पुनर्पाठ, वर्तमानको समालोचना र भविष्यको संकेत एकैसाथ प्रस्तुत गरेको छ भन्ने मेरो बुझाइ छ।
यात्रा जहाँ समाप्त हुन्छ, त्यहीँबाट साहित्य आरम्भ हुन्छ- यही सत्यलाई यो कृतिले सुन्दर, तर्कसंगत र कलात्मक ढङ्गले प्रमाणित गरेको कुरा मेरो पाठकीय अभिमत छ।
नियात्रा साहित्य किताबको आवरण स्वयंमा एउटा नौलो प्रस्तुति लाग्छ। आवरणमै भित्रको विषय सूचीबद्ध गरिएको छ। र, मौन प्रस्तावना जस्तै देखिन्छ- पुस्तक खोल्नुअघि नै पाठकलाई भावभूमिमा प्रवेश गराउने सौन्दर्यात्मक निम्तो।
‘प्राचीन नियात्रा साहित्यको विश्लेष्णात्मक अध्ययन’ शीर्षकको गम्भीरता र पृष्ठभूमिको दृश्यात्मक संयोजनले कृतिको वैचारिक स्वरलाई कलात्मक ढङ्गले अभिव्यक्त गरेको छ।
यो कभर कलात्मक रूपमा सरल, तर अर्थगर्भित छ। अत्यधिक रङ्गीन वा भीडभाडयुक्त नभई न्यूनतम दृश्य तत्व प्रयोग गरिएको छ, जसले गम्भीर अध्ययनग्रन्थको गरिमा जोगाएको छ।
हिमाल, पहाड र नीलि रङमा मिलेर नियात्राको भाव, गहिराइ र निरन्तरता व्यक्त गर्छन्। यसरी हेर्दा, आवरणले कृतिको मूल आशय- परम्परा, विश्लेषण र सौन्दर्यलाई दृश्य भाषामा अनुवाद गरेको देखिन्छ।
नेपाली साहित्यमा नियात्राप्रति यति गम्भीर विषयको उठान गरी कृति प्रकाशन भएकोमा लेखक जय छाङ्छा राई र प्रकाशक भुँडी पुराण बधाई र धन्यवादका पात्र भएका छन्।















Facebook Comment