‘कविता’ शब्दको कला मात्र होइन, युगको विचार र साधना हो : डा रमेश शुभेच्छु
काठमाडौं। विश्वभरका कवि र कविता प्रेमीहरूका लागि आजको दिन निकै विशेष मानिन्छ। किनकि आज २१ मार्च २०२६, अर्थात् विश्व कविता दिवस।
संयुक्त राष्ट्र संघीय अंग युनेस्कोले सन् १९९९ मा घोषणा गरेयता हरेक वर्ष यो दिवस मनाइँदै आइएको छ। यस वर्ष यो दिवस शनिबार परेकाले नेपाललगायत विश्वभर विभिन्न साहित्यिक उत्सव र गोष्ठीहरूको रौनक अझ बढी देखिएको छ।
नेपाली साहित्य जगतमा चिरपरिचत डा.रमेश शुभेच्छु लुइँटेल कविता केवल लयात्मक शब्दहरूको संयोजन नभई भावनाको बहाव भएको बताउँछन्।
कवितालाई केवल लय र शब्दको खेल मात्र नभई भाषिक कला र विचारको संयोजन मान्ने लुइँटेलको दृष्टिमा कविता भाषिक कला र विचारको गहिरो संयोजन हो, जसले समाजको चेतना, राजनीतिक परिवर्तन र मानव मनस्थितिलाई समेत प्रतिबिम्बित गर्छ।
उनका अनुसार आजको कविता हिजोभन्दा फरक परिवेशमा उभिएको छ। सामाजिक सञ्जालका प्रभावले आजको कवितालाई नयाँ बिम्ब र नयाँ सन्दर्भ दिएको छ। डा.लुइँटेल आजको देवकोटा आजै जन्मनुपर्छ भन्ने मान्यता राख्छन्। उनका अनुसार हरेक युगको आफ्नै बिम्ब हुन्छ।
उनी भन्छन्, ‘देवकोटा आजै जन्मनुपर्छ भन्ने मान्यता राखिन्छ। हिजो लेखनाथ वा देवकोटाका पालामा मेसेन्जर, भिडियो कल, इन्टरनेट वा ग्लोबलाइजेसनको कुरा कवितामा थिएन। तर आजको पाठक आफ्नै वरपरको बिम्ब खोज्छ।’
उनका अनुसार आजको मदन र मुनाहरू केवल भोट (तिब्बत) जाँदैनन्, तिनीहरू त अरबको तातो घाममा पसिना बगाइरहेका छन्। ‘अरबको तातो घामको बिम्ब देवकोटाको साहित्यमा पाइँदैन, त्यो त आजकै कविले कोर्नुपर्छ,’ उनी थप्छन्, ‘नेपाली कवितामा शास्त्रीय छन्ददेखि आधुनिक गद्य (मुक्तलय) सम्मको जुन धार छ, त्यसमा आजको परिवेश छिर्नु नै कविताको जीवन्तता हो।’
नेपाली कविता अहिले शास्त्रीय परम्परा र आधुनिक प्रयोगशीलताबीच अघि बढिरहेको छ। शास्त्रीय छन्द, मुक्तलय कविता, गीति कविता र गजल यी सबै विधाहरू समानान्तर रूपमा विस्तार भइरहेका छन्।
उनका अनुसार अहिले कविता लेखिने क्रम बढेको छ। साढे तीन दर्जन जति उपविधाहरू (गजल, मुक्तक, हाइकु, ताङ्का, चोका आदि) मा अभ्यास भइरहेको छ। तर, डा.लुइँटेल यसमा एउटा चुनौती देख्छन्।
मोबाइलमै टाइप गर्न सकिने र सामाजिक सञ्जालमा तुरुन्तै सेयर गर्न पाइने सुविधाले लेखकहरूमा गम्भीर साधना र परिष्कारको कमी हुँदै गएको उनको भनाइ छ।
‘हतारमा लेख्ने, छिटो प्रकाशित गर्ने प्रवृत्ति बढेको छ। तर परिष्कार र साधना घटिरहेको छ,’ उनी थप भन्छन्, ‘हिजो लेखनाथ पौडेलदेखि माधव घिमिरेसम्म कवितालाई निकै परिष्कृत गरेर मात्र कृति निकाल्ने परम्परा थियो। अहिले कतिपयले १०-१५ दिनमै महाकाव्य लेखेको दाबी गर्छन्।’
उनी सष्ट्रामा व्याकरण, छन्द र विश्व-परिवेशको गहिरो ज्ञान आवश्यक रहेको बताउँछन्।
डा.लुइँटेल गायक शिशिर योगीको उदाहरण दिन्छन्, जसले एउटा एल्बम निकाल्न १४ वर्ष साधना गरेका थिए। आजको पुस्तामा धैर्यता नभएको उनको भनाइ छ। त्यसका बाबजुद, उनी नयाँ पुस्ताको सक्रियता र सिर्जनात्मक उत्साहलाई सकारात्मक रूपमा लिएका छन्। सामाजिक सञ्जालमार्फत कविता वाचन, भिडियो प्रस्तुति र प्रतियोगिताहरूले कवितालाई अझ धेरै मानिससम्म पु¥याएको उनको बुझाइ छ।
लुइँटेलको काव्य यात्रा रोमाञ्चक छ। ५ कक्षामा पहिलो पटक कविता गोष्ठीमा सहभागी हुँदा उनी पुरस्कृत भएनन् तर, ८ कक्षामा पुगेपछि गुरु तीर्थ तिमल्सिना (पाली साइँलो) ले सुनाएको ‘तरुण तपस्वी’ को एउटा लयले उनको जीवनको लय नै बदलिदिएको उनी सुनाउँछन्।
उनको पहिलो गजल संग्रह ‘मेरो आँसु नदेऊ मलाई’ २०५७ सालमा सार्वजनिक भयो। तर, उनलाई कवि बनाउने श्रेय भने २०५८ मा प्रकाशित शोककाव्य ‘हजुरबा’लाई जान्छ। पछि २०७० को दशकमा आएर उनको ‘आमा’ शीर्षकको कविताले उनलाई आम मानिस र विद्यार्थीमाझ लोकप्रिय बनायो। ‘मलाई त्यतिखेर बोध भयो, शाश्वत कुरामा लेखिएको चिज नै बढी बिक्ने र टिकने रहेछ,’ उनी भन्छन्।
मार्च २१, अर्थात् विश्व कविता दिवस। सन् १९९९ देखि युनेस्कोले मनाउन थालेको यो दिवसलाई लुइँटेल एउटा उत्सवका रूपमा लिन्छन्। उनले भने, ‘बालकृष्ण समले ‘एउटा देखेको’ भन्ने निबन्धभित्र भनेका छन्,-हाम्रा पूर्वीय ऋषिहरूले, ज्ञानलाई कविता बनाएर संरक्षण गरे, कवितामा लुकाएको ज्ञान व्याख्या गर्ने मान्छे चाहिन्छ त्यो उनको कविताभित्रको दृष्टिकोण छ। तर कविता ज्ञानलाई भाषिक कलामा लुकाउने कला नै हो।’
कविताको ज्ञानलाई व्याख्या गर्ने क्षमता भएपछि ज्ञान बाहिर आउँने उनी बताउँछन्।
उनको बुझाइमा कविता केवल मनोरञ्जन होइन, यो त स्थानीय भाषादेखि राष्ट्रिय पहिचानसम्मलाई जोगाउने कडी हो। आज युट्युब र टिकटक जस्ता माध्यमले कवितालाई गायक वा फिल्मकर्मीको जस्तै एउटा सम्मानित ‘पहिचान’ दिलाएकोमा उनी सकारात्मक छन्।
डा. लुइँटेलको पत्रकारहरूप्रति पनि एउटा गुनासो गर्दै भन्छन् ‘तपाईंहरू गुणस्तरभन्दा प्रभावको पछि दौडनुहुन्छ।’ उनको सल्लाह सिर्जनामा ‘प्रभाव’ भन्दा ‘साधना’ बलियो हुनुपर्छ।
लुइँटेल आजकल नयाँ प्रयोगमा व्यस्त छन्। गजलमा लेखिएको काव्यलाई ‘गजलगाथा’ र नयाँ शैलीका रचनालाई ‘कवितावली’ भन्दै उनी नेपाली साहित्यको श्रीवृद्धिमा लागिपरेका छन्।
उनी कविता लेख्नु रहर मात्र नभई समाज र विचारलाई नयाँ फड्को मार्न सघाउने एउटा जिम्मेवार कलाको रुपमा लिन्छन्।















Facebook Comment