वातावरण मन्त्रालयको चौथो त्रैमासिक प्रगति: ४४ वटा आयोजनाको वातावरणीय प्रक्रिया पूरा, दुई अस्पताललाई जरिवाना
काठमाडौं। कृषि वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासिक (बैशाख १ देखि असार ३२ गतेसम्म) को अवधिमा विकास निर्माणसँग सम्बन्धित ४४ वटा वातावरणीय प्रक्रियाहरू सम्पन्न गरेको छ।
मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाका अनुसार यस तीन महिनाको अवधिमा १६ वटा आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र ११ वटा आयोजनाको क्षेत्र निर्धारण (एसडी/टीओआर) प्रतिवेदन स्वीकृत भएका छन्।
मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार स्वीकृत भएका ईआईए प्रतिवेदनहरूमा जलविद्युत् आयोजनाहरूको बाहुल्यता रहेको छ।
ईआईए स्वीकृत प्राप्त गर्ने जलविद्युत् आयोजनाहरूमा ३४१ मेगावाटको बूढीगण्डकी, ९१.१५ मेगावाटको बूढीगण्डकी नदी, ३५.१५ मेगावाटको माथिल्लो अप्सुखोला, २२ मेगावाटको रोल्वालिङ खोला, ३०.४० मेगावाटको माथिल्लो दूधखोला र ३४.३९ मेगावाटको सुपर बूढीगण्डकी रहेका छन्।
भौतिक पूर्वाधारतर्फ बुटवल-पोखरा सडक खण्ड, पथलैया-हेटौँडा-नारायणघाट सडक स्तरोन्नति, कोहलपुर-सुर्खेत-बबई सडक र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको भवनका साथै काठमाडौँको डिएलएफ ग्रिन अपार्टमेन्ट र धनुषाको विनियतरा क्यान्सर अस्पतालको ईआईए प्रतिवेदन स्वीकृत भएको छ।
क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत भएका ११ आयोजनाहरूमा ३२५ मेगावाटको माथिल्लो भेरी अर्धजलाशययुक्त जलविद्युत् र १२४.३२ मेगावाटको जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना प्रमुख छन्।
यसबाहेक पूर्व-पश्चिम विद्युतीय रेलमार्गको निजगढ-चोचा खण्ड, अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन तथा ग्रिनफिल्ड टर्मिनल र बेसीसहर-चामे सडकको क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत भएको मन्त्रालयले जनाएको छ।
यसैगरी, मन्त्रालयले अमेरिकी सहयोग परियोजना (एमसीसी) अन्तर्गत एमसीए-नेपालद्वारा निर्माणाधीन ४०० केभी डबल सर्किट प्रसारण लाइन तथा सबस्टेसनहरूको परिमार्जित वातावरणीय व्यवस्थापन योजना (आरईएमपी) र १३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको पूरक ईआईए स्वीकृत गरेको छ।
सोही अवधिमा मन्त्रालयले पाँच आयोजनालाई पूरक ईआईए अध्ययनको सहमति दिएको छ भने दुई आयोजनाको म्याद थप गरेको छ। अर्कोतर्फ, वातावरणीय नियम पालना नगरेको भन्दै मन्त्रालयले बाँकेको भेरी अस्पताल र काभ्रेको धुलिखेल अस्पताललाई जरिवानासमेत गराएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment