चाइनाबजार ई-कमर्स सेवा सुरु: ललितपुरको ग्वार्कोमा खुल्यो पहिलो एक्सपेरियन्स स्टोर

डिसी नेपाल
१४ साउन २०८३ ७:५४

काठमाडौं। चीनका उत्पादक र नेपाली उपभोक्ताबीच प्रत्यक्ष व्यापारिक पहुँच स्थापित गर्ने उद्देश्यका साथ नयाँ ई-कमर्स प्लेटफर्म ‘चाइनाबजार’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।

नेपालमा आयातित वस्तुहरू आयातकर्ता, थोक विक्रेता र वितरकजस्ता बहु-तहका आपूर्ति शृङ्खलामार्फत उपभोक्तासम्म पुग्दा मूल्य बढाउने र आपूर्तिमा अनिश्चितता सिर्जना गर्ने परिपाटीलाई तोड्दै यो प्लेटफर्म सञ्चालनमा ल्याइएको हो।

कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) स्तुती श्रेष्ठका अनुसार कारखानादेखि उपभोक्ताको घरसम्म पुग्दा हुने अनावश्यक बिचौलिया र थप लागतबिना गुणस्तरीय वस्तु उचित एवं पारदर्शी मूल्यमा खरिद गर्न सकिने यस प्लेटफर्मको मूल अवधारणा रहेको छ।

चाइनाबजारले चीनका उत्पादकहरूबाट आफैँ वस्तु छनोट गरी प्रत्यक्ष खरिद गर्ने, आफ्नै ढुवानी सञ्जालमार्फत नेपाल भित्र्याउने, कम्पनीकै गोदाममा भण्डारण गर्ने र आफ्नै वितरण प्रणालीमार्फत ग्राहकसम्म पुर्‍याउने जनाएको छ।

स्रोत व्यवस्थापनदेखि आयात, भण्डारण र डेलिभरीसम्मको सम्पूर्ण प्रक्रिया एउटै व्यवस्थापनभित्र रहने भएकाले सामानको डेलिभरी छिटो हुनुका साथै मूल्य पारदर्शी र प्रतिस्पर्धी हुने कम्पनीको दाबी छ।

‘इन्जोय योर सपिङ’ नाराका साथ बजारमा आएको चाइनाबजारले प्रारम्भिक चरणमा विद्युतीय सामग्री, फेसन, जीवनशैली, तथा स्वास्थ्य एवं सौन्दर्यसँग सम्बन्धित उत्पादनहरू उपलब्ध गराउनेछ भने आगामी दिनमा यसको दायरा थप विस्तार गर्दै लगिनेछ।

डिजिटल प्लेटफर्मका साथै ग्राहकलाई सामान प्रत्यक्ष हेरेर अनुभव लिने अवसर प्रदान गर्न कम्पनीले पहिलो ‘एक्सपेरियन्स स्टोर’ (अफलाइन रिटेल स्टोर) ललितपुरको ग्वार्कोस्थित गुण कम्प्लेक्समा बुधबारदेखि सञ्चालनमा ल्याएको छ।

आगामी दिनमा देशभर एक्सपेरियन्स स्टोरको सञ्जाल विस्तार गर्ने योजना बनाएको कम्पनीले पहिलो चरणअन्तर्गत छिट्टै वीरगन्ज र भैरहवामा आफ्ना नयाँ स्टोरहरू खोल्ने घोषणा गरेको छ।

डिजिटल अर्थतन्त्र विस्तार भइरहेको समयमा ग्राहकको विश्वास जित्ने लक्ष्य राखेको यस प्लेटफर्ममा ग्राहकले खरिद गरेका सामानको भुक्तानी इसेवा र खल्तीजस्ता डिजिटल माध्यमबाट सजिलै गर्न सक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *