मोरङबाट पक्राउ परेका भरत दाहाललाई अनुसन्धानका लागि काठमाडौं ल्याइँदै

डिसी नेपाल
४ असोज २०८३ १३:३३

विराटनगर। राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाल मोरङको सुन्दरहरैंचाबाट पक्राउ परेका छन्।

मोरङ प्रहरीका अनुसार दाहाललाई आइतबार बिहान सुन्दरहरैंचा नगरपालिका-८ सलकपुरस्थित एक चिया पसलबाट नियन्त्रणमा लिइएको हो।

काठमाडौंजिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि काठमाडौंस्थित साइबर ब्युरोको आग्रहमा उनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए।

दाहालविरुद्ध मोरङमा भने कुनै उजुरी परेको छैन। साइबर ब्युरोले उनीमाथि अनुसन्धान अघि बढाउने भएकाले आइतबार नै जहाजमार्फत काठमाडौँ पठाउने तयारी गरिएको प्रहरी उपरीक्षक कटवालले बताए।

विभिन्न राजनीतिक छलफल तथा कार्यक्रममा सहभागी हुन असोज २ गते पूर्वी नेपाल पुगेका दाहाल शनिबारको कार्यक्रम सकेर आइतबार काठमाडौँ फर्किने तयारीमा थिए।

पछिल्लो समय दाहालले सरकार तथा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा सार्वजनिक रूपमा आफ्ना विचार राख्दै आएका थिए। विशेष गरी बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारका निर्णय र कार्यशैलीमाथि उनले आलोचनात्मक अभिव्यक्ति दिँदै आएका थिए।

दाहालका सहकर्मीहरूले भने उनको पक्राउलाई राजनीतिक विचार र शासन व्यवस्थामाथि प्रश्न उठाउने आवाज दबाउने प्रयासका रूपमा व्याख्या गरेका छन्। उनीहरूले पछिल्लो राजनीतिक घटनाक्रमपछि राज्य संयन्त्रको दुरुपयोग गरिएको आरोपसमेत लगाएका छन्।

प्रहरीले भने दाहाललाई कुन विशिष्ट अभिव्यक्ति वा कसुरका आधारमा पक्राउ गरिएको हो भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन। साइबर ब्युरोले अनुसन्धान अघि बढाएपछि थप विवरण खुल्ने प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *