नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

डिसी नेपाल
३ कार्तिक २०८३ १७:५३
4
Shares

काठमाडौं।  शारदीय नवरात्र अर्थात् दुर्गा पक्षको दशौँ दिन आज घर-घरका दसैँ घर तथा पूजा कोठामा नौ दुर्गामध्येकी अन्तिम स्वरूप नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक विशेष पूजाआराधना गरिएको छ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातन परम्परा रहे तापनि यस वर्ष महाअष्टमी तिथिमा भएको वृद्धिका कारण दशौँ दिनमा यो पूजा सम्पन्न गरिएको हो। घटस्थापना गरिएको पवित्र स्थलमै नवौँ देवी सिद्धिदात्रीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको छ। आफ्ना भक्तहरूलाई सम्पूर्ण किसिमका सिद्धि प्रदान गर्ने हुनाले नै नवौँ देवीको नाम सिद्धिदात्री रहन गएको विभिन्न शास्त्रीय ग्रन्थहरूमा स्पष्ट रूपमा उल्लेख गरिएको छ।

सिद्धिदात्री देवीको दिव्य स्वरूप र महिमा

संसारका बन्धनबाट मुक्त हुन चाहने साधकहरूलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिने गरिएको छ। सिद्ध अर्थात् मोक्ष प्राप्त गर्न चाहनेहरूलाई मुक्ति दिन सक्ने सामर्थ्य राख्ने हुनाले ती देवीको नाम सिद्धिदात्री रहेको पौराणिक ग्रन्थहरूमा वर्णन गरिएको पाइन्छ।

विशेष गरी सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सधैँ सेविता भएकाले यिनलाई ‘सिद्धिदायिनी’ पनि भनिन्छ। यिनी नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवीका रूपमा मानिन्छिन्। माता सिद्धिदात्री देवीको विधिपूर्वक निष्ठाका साथ पूजाआराधना गरेमा मानिसका सम्पूर्ण मनकामनाहरू पूर्ण हुने दृढ धार्मिक विश्वास रहिआएको छ।

भगवान् दुर्गा देवीका यी नौ दिव्य नामहरू स्वयम् ब्रह्माजीले महर्षि मार्कण्डेयलाई बताउनुभएको कुरा विभिन्न पुराणहरूमा उल्लेख गरिएको छ। यी नौवटा नामहरूको केवल स्मरण मात्र गर्नाले पनि जीवनमा आइपर्ने जुनसुकै कष्ट, बाधा वा संकटबाट सजिलैसँग छुटकारा पाउन सकिने जनविश्वास छ।

यस वर्षको बडादसैँअन्तर्गत नवरात्रको पहिलो दिन गत असोज २५ गते आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक शुभ साइतमा घटस्थापना गरी पवित्र जौको जमरा राखिएको थियो। सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो स्वरूप देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो।

त्यसपछि दोस्रो दिन असोज २६ गते सोमबार पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन असोज २७ गते मङ्गलबार चन्द्रघण्टा देवीको  निष्ठाका साथ पूजा आराधना गरियो।

यसैगरी, चौथो दिन असोज २८ गते बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो भने पाँचौँ दिन असोज २९ गते बिहीबार स्कन्दमाताको विशेष पूजाआराधना सम्पन्न भयो। छैटौँ दिन असोज ३० गते शुक्रबार कात्यायनी देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो।

त्यस्तै, सातौँ दिन असोज ३१ गते शनिबार कालरात्रि देवीको विधिपूर्वक पूजाआराधना गरियो भने दुर्गा पक्षको आठौँ दिन कात्तिक १ गते आइतबार र कात्तिक २ गते सोमबार पनि महागौरी देवीको विशेष आह्वानसहित पूजाआराधना गरियो।

महाअष्टमी तिथिमा भएको वृद्धिका कारण लगातार दुई दिनसम्म महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्नुपर्ने शास्त्रीय नियम रहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईले जानकारी दिएका छन्।

शक्तिपीठहरूमा भक्तजनको अपूर्व घुइँचो

दुर्गा पक्षको नवौँ दिन एवं नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना सम्पन्न भयो। नवरात्रका यी नौ दिनभरि नै घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत विभिन्न देवी स्तोत्रहरूको पाठसमेत गर्ने परम्परा छ।

नवरात्रका यी पवित्र अवसरहरूमा देवीको निष्ठापूर्वक आराधना गरी पूजा गरेमा अलौकिक शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। यसै मान्यताका आधारमा समस्त वैदिक सनातन धर्मावलम्बीहरूले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म माता दुर्गा देवीको विशेष आराधना गर्ने गर्दछन्।

नवरात्रको यस विशेष अवसरमा देशभरका सम्पूर्ण शक्तिपीठ तथा मन्दिरहरूमा पूजाआराधना एवं दर्शन गर्न आउने भक्तजनहरूको अत्यधिक भीड लागेको छ। मुलुकका विभिन्न भागमा रहेका प्रसिद्ध शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनहरू लामबद्ध भएर बसेका थिए।

यसैबीच, वर्षमा केवल एक दिन मात्र सर्वसाधारणका लागि खुल्ने ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा अवस्थित प्रसिद्ध तलेजु भवानीको मन्दिर पनि आजै मात्र भक्तजनहरूको दर्शनका लागि खुला गरिएको थियो।

तलेजु मन्दिरमा आज पनि उल्लेख्य सङ्ख्यामा दर्शनार्थीहरू लाममा बसेर देवीको दर्शन गरेका छन्। महाअष्टमीको दिन झैं आज पनि विभिन्न शक्तिपीठहरू तथा घर–घरमा बलिसहित तथा बिनाबलि विधिपूर्वक पूजाआराधना गरी नेपालीहरूले यस पर्वलाई विशेष उल्लासका साथ मनाइरहेका छन्।

भोलि विजयादशमी, टीका र जमरा ग्रहण गर्ने साइत

९ दिनसम्म विधिपूर्वक आह्वान गरी आराधना गरिएकी माता दुर्गा देवीलाई आगामी कात्तिक ४ गते बुधबार बिहान ठीक ८ः४९ बजेको साइतमा विसर्जन गरिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राडा पुरुषोत्तम भट्टराईले जानकारी दिएका छन्।

देवीको प्रसादस्वरूप टीका र जमरा लगाउनका लागि दिनभरि नै कुनै किसिमको बार वा बाधा नरहेको भए तापनि शुभ साइत खोज्ने महानुभावहरूका लागि बिहान १०ः२६ बजेको साइत उत्तम रहेको उनले बताए। आउने बुधबारदेखि सुरु भई कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनहरूको हातबाट दुर्गादेवीको प्रसादका रूपमा टीका र समृद्धिको प्रतीक जमरा ग्रहण गर्ने सनातन नेपाली परम्परा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *