कात्तिक १३ गतेदेखि तीनदिने काठमाडौं फिल्म फेस्टिभल आयोजना हुने

डिसी नेपाल
३ कार्तिक २०८३ १८:०५
8
Shares

काठमाडौं।  काठमाडौं महानगरपालिकाको विशेष आयोजनामा आगामी कात्तिक १३, १४ र १५ गते तीनदिने भव्य ‘काठमाडौँ फिल्म फेस्टिभल’ सम्पन्न हुने भएको छ। नेपाली चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन र अन्तराष्ट्रिय बजारीकरणलाई टेवा पुर्‍याउने उद्देश्यसहित यो महोत्सब आयोजना गर्न लागिएको महानगरले जनाएको छ।

आगामी कात्तिक १३ गते ऐतिहासिक तथा सांस्कृतिक क्षेत्र वसन्तपुरमा एक भव्य सम्पदा यात्रा (हेरिटेज वाक) का साथ यस फेस्टिभलको औपचारिक शुभारम्भ हुनेछ। यस महोत्सवअन्तर्गत राजधानीका राष्ट्रिय सभा गृह, नेपाल पर्यटन बोर्ड, जय नेपाल सिनेमा हल र तारागाउँमा विभिन्न आकर्षक कार्यक्रमहरू तथा चलचित्र स्क्रिनिङहरू सञ्चालन हुनेछन्।

विभिन्न संघसंस्थाहरूसँगको सहकार्य र साझेदारी

महानगरपालिकाका अनुसार यस फेस्टिभललाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग औपचारिक सहकार्य गरिएको छ। चलचित्र प्रदर्शन साझेदारीका लागि जय नेपाल सिनेमा हल, आधिकारिक सवारीसाधन तथा यातायात व्यवस्थापनका लागि अग्नि ग्रुप र इन्ड्राइभसँग सम्झौता भएको छ।

त्यस्तै, अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रसँग सुमधुर सम्बन्ध विस्तार र सहकार्यका लागि काठमाडौँस्थित संयुक्त राज्य अमेरिकाको दूतावास, अष्ट्रेलियन दूतावास, युनेस्को तथा एलाइन्स फ्रेन्चिजसँग सहकार्य गरिएको महानगरले जनाएको छ।

यसैगरी, फेस्टिभलका लागि आधिकारिक विद्युतीय टिकट (डिजिटल टिकेटिङ) पार्टनरका रूपमा ‘हिमालय पे’सँग सम्झौता सम्पन्न भइसकेको छ। दर्शकहरूका लागि फेस्टिभलमा चलचित्र प्रदर्शन पूर्ण रूपमा निःशुल्क गरिएको भए तापनि व्यवस्थित रूपमा सिट रिजर्भ गर्नका लागि भने निःशुल्क डिजिटल टिकट लिनुपर्ने विशेष व्यवस्था मिलाइएको छ।

कार्यक्रम सञ्चालन हुने स्थलहरूको प्रबन्धका लागि हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति, बौद्ध क्षेत्र विकास समिति र तारागाउँ नेक्स्ट म्युजियमसँग आवश्यक सहकार्य गरिएको छ।

यसैगरी, रोमाञ्चक ‘सम्पदा दौड’ (हेरिटेज रन) को सम्पूर्ण व्यवस्थापनका लागि एनएसआर स्पोर्ट्स फाउन्डेसन (काठमाडौँ म्याराथन), आतिथ्यता तथा बसोबासका लागि होटल एसोसिएसन अफ नेपाल (हान) र नेपाल पर्वतारोही संघ (माउन्टेरिङ एसोसिएसन) सँग सहकार्य गरिएको छ। साथै, समग्र कार्यक्रम व्यवस्थापनको जिम्मेवारी माब्रिक्स  र आइएसएस (ISS) लाई प्रदान गरिएको महानगरपालिकाले आज जारी गरेको प्रेस विज्ञप्तिमा स्पष्ट पारिएको छ।

विविध कार्यक्रम तथा चलचित्र प्रदर्शन

फेस्टिभलको पहिलो दिन शुभारम्भकै अवसरमा विशेष ‘भिडियो च्यालेञ्ज’ प्रतियोगिता अन्तर्गत उत्कृष्ट ठहरिएर छानिएको एउटा लघु चलचित्र (सर्ट फिल्म) र नेपाली चलचित्र इतिहासको एक ऐतिहासिक तथा पुरानो चलचित्र ‘सिन्दूर’ को खुला प्रदर्शन गरिनेछ। नयाँसडकको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको ऐतिहासिक सडक क्षेत्रमा प्रदर्शन गरिने उक्त चलचित्रहरू हेर्नका लागि आम सर्वसाधारण दर्शकहरूलाई निःशुल्क खुला आमन्त्रण गरिएको छ।

फेस्टिभलको तीन दिनको अवधिमा ‘सर्ट फिल्म भिडियो च्यालेञ्ज’, ‘नेपाल पानोरामा’ र ‘इन्टरनेसनल पानोरामा’ अन्तर्गत कुल ४० वटा उत्कृष्ट चलचित्रहरू प्रदर्शन गरिनेछन्। यसैगरी, महानगरपालिकाले यसअघि नै आह्वान गरेको ‘युथ भिडियो च्यालेञ्ज’ का विजेता युवा चलचित्रकर्मीहरूलाई आकर्षक अवार्ड प्रदान गरिनेछ भने ‘नेपाल पानोरमा’ अन्तर्गत छनोट भएका उत्कृष्ट चलचित्रहरूलाई विशेष प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ।

महोत्सवका क्रममा नेपाल पर्यटन बोर्डको सभाहलमा चलचित्र निर्माणसम्बन्धी विशेष ‘मास्टर क्लास’ तथा विविध विषयक अन्तरक्रियात्मक संवाद कार्यक्रमहरू पनि सञ्चालन हुनेछन्।

यसैबीच, फेस्टिभल पूर्वको कार्यक्रमअन्तर्गत आगामी कात्तिक ८ गते आइतबार वसन्तपुरबाट सुरु भई नरःदे (हाँडीगाउँ) तथा पशुपतिनाथ क्षेत्र हुँदै पुनः वसन्तपुरमै आएर सम्पन्न हुने गरी एक विशेष ‘हेरिटेज रन’ (सम्पदा दौड) को समेत आयोजना गरिनेछ। नेपाली चलचित्र क्षेत्रका विशिष्ठ स्रष्टा तथाकर्मीहरूको उच्च सम्मान र अभिनन्दनका लागि महोत्सवको दोस्रो दिन राष्ट्रिय सभा गृहमा एक आकर्षक ‘रेड कार्पेट’ कार्यक्रमको समेत विशेष आयोजना गरिनेछ।

काठमाडौँ महानगरपालिकाले चलचित्र विधालाई केवल मनोरञ्जनको माध्यम मात्र नभई यसलाई समुदाय र शिक्षासँग गहिरो रूपमा जोड्दै एक सबल रचनात्मक उद्योग (क्रिएटिभ इन्डस्ट्री) को रूपमा विकास र विस्तार गरिरहेको बताएको छ।

स्थानीय मौलिकता, परम्परा र सांस्कृतिकपनलाई जगेर्ना गर्दै चलचित्र क्षेत्रका पेसाकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरू र महोत्सव आयोजकहरूलाई एकै मञ्चमा जोड्ने महत्त्वपूर्ण कदमका रूपमा यस फेस्टिभललाई हेरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *