बङ्लादेशबाट ३५ सय रोहिङ्ग्या म्यानमार फर्काउने तयारी

डिसी नेपाल
३ भदौ २०७६ ५:५८

बङ्लादेश । बङ्लादेशमा शरणार्थीका रूपमा रहेका झण्डै तीन हजार ५०० रोहिङ्ग्यालाई म्यानमार फर्काउने तयारी भएको छ। सरकारी उच्च अधिकारीले सोमबार दिएको जानकारी अनुसार उनीहरुलाई घर फर्काउने प्रक्रिया यसै हप्ता सुरु हुनेछ। सैनिकको ज्यादतीबाट आजित भएर झण्डै दुई बर्ष अगाडि उनीहरू भागेर बङ्लादेश आएका थिए।

सन् २०१७ को अगस्टतिर झण्डै सात लाख ४० हजार रोहिङ्ग्या शरणार्थीहरू विस्थापित भएर बङ्लादेश आएका थिए। उनीहरुलाई स्वदेश फर्काउनका लागि फिर्ती सम्झौतामा हस्ताक्षर गराउने क्रम चलिरहेको अधिकारीहरुले जनाएका छन्।

बङ्लादेशका शरणार्थी आयुक्त मोहम्मद अबुल कलामले आउँदो बिहीबार थप शरणार्थीहरुलाई म्यानमार फर्काउने प्रक्रिया शुरु हुने विश्वास व्यक्त गरे ।यसअघि सन् २०१८ को नोभेम्बरमा २२ सय ६० शरणार्थीहरुलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेकोमा सुरक्षाको सुनिश्चितता नभएकाले फर्किन नसकिने भन्दै शरणार्थीहरुले घर फर्किन अस्वीकार गरेका थिए।

“अन्य सवै कुरा तयारी अवस्थामा छन्, गन्तव्यस्थान मात्रै निश्चित गर्न बाँकी छ,” म्यानमारका अधिकारीहरुसँगको बैठकपछि कलामले पत्रकारहरुसँग भने । उनले कसैलाई पनि जबरजस्ती फर्किनका लागि दवाव नदिएको पनि स्पष्ट पारे । दुवै देशका अधिकारीहरुले स्वदेश फर्काउन तयार पारिएका तीन हजार ५०० शरणार्थीमध्ये हरेक दिन तीन सय जनाका दरले रोहिङ्ग्या शरणार्थीहरुलाई म्यानमार फर्काउने योजना बनाएका छन्। रासस




प्रतिक्रिया

One thought on “बङ्लादेशबाट ३५ सय रोहिङ्ग्या म्यानमार फर्काउने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *