बजारमा स्थापित हुँदै साना लगानीका उद्योग
काठमडौ.। थोरै पूँजिबाट सुरु भएका घरेलु तथा साना उद्योगका उत्पादन पनि बजार प्रतिस्पर्धामा स्थापित हुन थालेका छन् ।
साना, मझौला तथा घरेलु उद्योगीहरुले गुणस्तरीय र उपभोक्ताको रुची तथा समय अनुसारको डिजाईनमा तयारी कपडा उत्पादन गर्न थालेपछि नेपाली सुती तथा ढाकाको उत्पादनले ह्वात्तै बजार लिएको हो । २–४ बर्ष अगाडि नेपाली सुती र ढाकाको कपडाबाट बनेका तयारी पोशाक बेच्नका लागि उत्पादकर्तालाई हम्मे हम्मे पथ्र्यो । अहिले भने त्यो अवस्था छैन ।
सुती र ढाकाको कपडा एक पटक प्रयोग गरेका उपभोक्ताहरु उत्पादन कर्तालाई खोज्दै आउन थालेका छन् । यसबाट नेपाली उत्पादन बजारमा स्थापित हुनुको साथै उद्योगीलाई पनि प्रोत्साहन र हौसला मिलेको छ । ४ बर्ष देखि ढाकाको कपडा उत्पादन र बिक्री गर्दै आएकी न्यू पाथिभरा कलेक्सनकी आशा पोभू नेपाली उपभोक्तामा पनि ढाका निर्मित कपडा प्रयोग बढेको देखेर दंग छन्। तेह्थुपकी आशालाई अहिले आफ्नो उत्पादनको बजारिकरणको समस्या पटक्कै छैन । १ हजार देखि ३५ हजार सम्मका ढाकाका उत्पादन आफुसंग भएको बताउने आशा गुणस्तरीय वस्तु उत्पादन गरे उपभोक्ता खोज्नु नपर्ने बताउँछिन्।
त्यस्तै अनुग्रह ह्याण्डीक्राफ्ट कि कृष्ण कुमारी पौडेल पनि ढाकाको आफ्नो उद्योगबाट सन्तुष्ट छिन्। पहिला स्वदेशी उत्पादन त्यसमा पनि ढाका प्रयोग बारे उपभोक्ताको चासो नभएपनि पछिल्लो ढाकाका बस्तुमा उपभोक्ताको माग अत्याधिक बढेको बताउँछिन्।
सुतीको कपडा प्रति पनि उपभोक्ताको चाहाना उत्तिकै बढेको छ । साना तथा मझौला व्यवसायी महासंघको आयोजनामा विहीबार राजधानीको भृकुटीमण्डपमा सुरु भएको ‘नेपाल एसएमबि व्यापार मेला ’मा उल्लेख्य संख्यामा सुतीका कपडाका स्टलमा उपभोक्ताको उल्लेख भिड देखिन्थ्यो ।
जोरबा बुद्ध इन्टरप्राईजेजका अशोक कुमार सिंहले जाडो, गर्मी दुवै मौसममा लगाउन मिल्ने गरि तयार पारिएकाले सुतीको तयारी कपडा प्रयोगमा उपभोक्ताको चासो बढ्दै गएको बताए। त्यसैगरी सुतीको तयारी कपडा उद्योगी रणविर मालाकार नेपाली सुती कपडाको प्रयोग बढेसंगै व्यवसायमा दीगोपना आएको बताए।
घरेलु स्वादका अचार तथा ड्राईफुडको प्रयोग पनि अत्याधिक बढेको छ । ३ वर्षदेखि घरमै बसेर घरेलु स्वादका अचार र ड्राईफुड बनाउन थालेकी शुभम उद्योगकी संचालक इन्दु शर्माले बनाएको अचार स्वदेशमा मात्रै होइन विदेशमा पनि निर्यात हुने गरेको छ । उनले बजारीकरणको समस्या नभएपनि प्रर्दशनीले नयाँ उपभोक्ता थप्न सहयोग पुर्याउने भएकाले आफ्नो उत्पादन बेच्न आफै आएको बताइन्।
सानो सानो लगानीमा सुरु भएका अचार बनाउने, पोते बनाउने, गहुँको छ्वाली, पराल आदीबाट बनाईने सामाग्रीको साथै ढाका र सुतीका मझौला उद्योगका उत्पादनको प्रयोग बढेसंगै यस्ता उद्योगको भविश्य सुनिश्चित हुनुको साथै मुलुकको आर्थिक सम्वृद्धिमा पनि उल्लेख्य टेवा पुग्ने निश्चत छ । त्यसैले स्वरोजगारी र साना उद्योगको प्रवद्र्धनलाई सरकारले अझै प्राथमिकतामा राख्न सक्ने हो भने भविष्यमा स्वदेशी उत्पादनको निर्यात अस्वभाविक ढंगले बढ्ने देखिन्छ ।
Facebook Comment