दशैँमा उपत्यकाको फोहर व्यवस्थापन गर्न समस्या
काठमाडाै। काठमाडौँ महानगरपालिकालाई दशैँमा उपत्यकाको फोहर व्यवस्थापन गर्न समस्या हुने भएको छ। बाटो निर्माण भइरहेकाले कामपालाई पछिल्लो समय काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न समस्या भएको हो।
दुई सातादेखि नुवाकोटस्थित फोहर विसर्जन गरिँदै आएको स्थान सिसडोल जाने बाटो नागार्जुनमा मर्मतको काम भइरहेकाले फोहर व्यवस्थापनमा समस्या आएको कामपाको वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।
दशैँसम्म बाटो निर्माणको काम जारी रहने भएकाले दशँैमा फोहर व्यवस्थापन गर्न समस्या हुने उनी बताउँछन्। अन्य समयमा भन्दा वर्षात्को समय र चाडबाडमा काठमाडौँ उपत्यकामा फोहर बढी हुन्छ।
काम नभएको समयमा थोरैको अनुपातमा फोहर व्यवस्थापन गरिँदै आएको भए पनि नियमित रुपमा फोहर व्यवस्थापन हुन सकेको छैन। “अहिलेदेखि नै फोहर थुप्रिदा दशैँमा थप समस्या हुन्छ”, श्रेष्ठले भने।
दुई वर्षका लागि फोहर व्यवस्थापन गर्ने भने पनि १३ वर्षदेखि सिसडोलमा फोहर बिसर्जन गरिँदै आएको छ। काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर उक्त स्थानमा बिसर्जन गरिन्छ ।
उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। सबैभन्दा बढी कामपाबाट पाँच सय मेट्रिक टन फोहर सङ्कलन हुँदै आएको छ।
हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी दुई सय गाडी फोहर फाल्न प्रयोग गरिँदै आएको छ। ससडोलबाट दुई किलोमिटर टाढाको बञ्चरे डाँडामा सरकारले दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माण गरिरहेको छ। रासस







डिसी नेपाल







Facebook Comment