आईएस प्रमुख बग्दादीविरुद्ध यसरी कारबाही भएको थियो (भिडियो)
बीबीसी । अमेरिकी सेनाले इस्लामिक स्टेटका नाइके अबु बकर अल-बग्दादीको मृत्यु हुनेगरी आफूले गरेको कारबाहीका भिडियो तथा तस्बिरहरू पहिलोपटक सार्वजनिक गरेको छ।
स्थल कारबाहीका लागि अल–बग्दादी लुकेर बसेको परिसरतर्फ अगाडि बढ्नुअघि अमेरिकी फौजले तल रहेका लडाकुहरूलाई निसाना बनाएको भिडियोमा देखिन्छ।
अमेरिकी केन्द्रीय कमान्डर जेनरल केनेथ म्याक्केन्जीले आफ्ना फौज र आत्मघाती विस्फोट गराउन आत्मघाती पोसाक लगाएको ठानिएका मानिस आमुन्नेसामुन्ने भएको बताए।
जेनरल म्याक्केन्जीका अनुसार अबु बकर अल–बग्दादीले एउटा सुरुङभित्र गएर विस्फोट गराई दुई बालबालिकासहित आफ्नो ज्यान लिए। यद्यपि राष्ट्रपति डोनल्ड ट्रम्पले भने जस्तै आलापविलाप गरी बग्दादी मरेको कुराको जेनरल म्याक्केन्जीले पुष्टि गर्न सकेनन्।
‘दुई साना बालबालिकासहित उनी सुरुङमा पसे। आफ्ना अरू मान्छे माथि नै भएको बेला आत्मघाती विस्फोट गराए। यसैबाट तपाईँ थाहा पाउन सक्नुहुन्छ कि बग्दादी कस्ता मानिस थिए भनेर’ म्याक्केन्जीले बताए।
उनका अनुसार आत्मघाती पोसाक लगाएका चार महिला तथा एक पुरुष सो परिसरमै मारिएका थिए। अमेरिकी हेलिकप्टरमाथि गोली चलाएपछि अज्ञात सङ्ख्यामा लडाकुहरू पनि मारिएको उनले बताए। सो कारबाहीमा गैरसैनिकहरूको मृत्यु नहोस् भनेर निकै ध्यान पुर्याइएको उनले बताए।
बग्दादीको अवशेषलाई पहिचान गर्न आफ्नो शिविरमा ल्याइएको र त्यसपश्चात् त्यसलाई २४ घण्टाभित्रै सशस्त्र युद्धको नियमानुसार समुद्रमा व्यवस्थापन गरिएको म्याककेन्जीले जनाए।
पेन्टागनका अधिकारीहरूले आईएस लडाकुले प्रतिशोधको भावनाले आक्रमण गर्न सक्नेबारे आफूहरू जानकार रहेको बताएका छन्। यद्यपि आफ्ना नाइके बग्दादीको मृत्युबाट उनीहरू तनावमा रहेको अधिकारीहरूको भनाइ छ।
हेर्नुहाेस भिडियाे







डिसी नेपाल








Facebook Comment