इराकमा सरकार विरोधी प्रदर्शन जारी, राजिनामा दिन प्रधानमन्त्री तयार

डिसी नेपाल
१६ कार्तिक २०७६ ६:०७

बग्दाद । इराकी राष्ट्रपति बरहाम सालेहले देशमा एक महिनादेखि सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शन जारी रहेको भन्दै मध्यावधि चुनाव गर्न प्रतिबद्ध रहेको बताएका छन् । तर प्रदर्शनकारीहरुले चुनावले मात्र समस्याको समाधान नहुने बताएका छन् ।

टेलिभिजनमा बिहीबार प्रशारित एक सन्देशमा राष्ट्रपति सालेहले प्रधानमन्त्री अदेल अब्देल माहदी राजिनामा गर्न तयार रहेको बताए । उनले प्रधानमन्त्री पदका लागि अर्को कुनै व्यक्ति तत्काल तयार नरहेको पनि बताए ।

राष्ट्रपति सालेहले भने, “प्रधानमन्त्रीले राजिनामा दिने बताइसक्नु भएको छ । सबैलाई स्वीकार्य विकल्पमा पुग्न सबै राजनीतिक दललाई आग्रह गर्दछु ।” उनले नयाँ निर्वाचन कानुन र निगरानी आयोगमा सहमति हुनासाथ चुनाव गर्न आफू प्रतिबद्ध रहेको बताए । तर उनको सन्देशले प्रदर्शनकारीलाई खासै प्रभावित गर्न सकेको छैन ।

राष्ट्रपतिको सन्देशका बारेमा बग्दादको सडकमा भेटिएका एक ४९ वर्षीय हेदर काजिमले भने, “अब्देल माहदीको राजिनामाले मात्र समस्याको समाधान गर्दैन । समस्या त सत्तारुढ दलहरुभित्रै छ, प्रधानमन्त्री अब्देल माहदीसँग होइन ।”

इराकी नेताहरुले ठुल्ठूला प्रदर्शनलाई जारी राख्ने घोषणा गरेका छन् । गत अक्टोबर १ मा बेरोजगारी र भ्रष्टाचारको विरोधमा शुरु भएको यो प्रदर्शन हाल सरकारको विरोधमा केन्द्रित भएको छ ।

राष्ट्रपति सालेहले पछिल्लो समय प्रधानमन्त्री र अन्य दलहरुसँग गम्भीर विचार विमर्श जारी राखेका छन् । प्रदर्शनका बारेमा छलफल गर्न संसदको बैठक समेत डाकिएको छ । प्रधानमन्त्री माहदीले टेलिभिजनबाट संसदका कारबाही प्रत्यक्ष प्रशारण गरिए आफू संसदको रोष्ट्रममा उभिएर सांसदहरुले राखेका प्रश्नको जवाफ दिन तयार रहेको बताउँदै आएका छन्।

७७ वर्षीय अब्देल माहदी इराकको प्रधानमन्त्रीमा एक वर्षअघि चुनिएका हुन् । उनलाई मोक्तादा सदर र संसदीय नेता हादी अल–अमेरीको समर्थन छ । तर पछिल्लो समय मोक्तादा सदरले प्रदर्शनकारीलाई समर्थन गर्नुभएको छ भने अमेरी र अरु केही दलले सरकारलाई समर्थन गरिरहेका छन् ।

एक महिनादेखिको यस प्रदर्शनका कारण कम्तीमा २५७ जनाको मृत्यु हुनुका साथै १० हजारभन्दा बढी घाइते भएका छन् । गत सातामा मात्र १०० जनाको ज्यान गएको इराकी मानव अधिकारी आयोगले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.