व्यवसायीक कृषि उत्पादनमा जोड

डिसी नेपाल
२३ कार्तिक २०७६ १६:४७

काठमाडौं । प्रदेश सरकारको अनुदान तथा गाउँपालिकाको व्यावसायिक र आधुनिक कृषिमा प्राथमिकता दिने नीतिका कारण मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको कृषि उत्पादनमा वृद्धि हुँदै गएको छ ।

विगतमा चारदेखि पाँच हजार लिटरसम्म उत्पादन हुने दूधको उत्पादन बढेर हाल १० हजार लिटर पुगेको जनाइएको छ । त्यस्तै केरा तथा तरकारीको उत्पादनमा समेत वृद्धि भएको गाउँपालिका कार्यालयले जनाएको छ ।

कृषिमार्फत समृद्धि हुने ठानेर पालिकाले कृषिमा आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिए।

“हामी जसरी भए पनि किसानलाई प्रोत्साहन गरेर कृषि उत्पादन वृद्धि गराउने तथा स्वरोजगारको सिर्जना गर्ने अभियानमा छौ”, उनले भने पालिकाले प्रदेश सरकारको सहयोगमा माटो तथा गोबर परीक्षण केन्द्र सञ्चालनको तयारी गरेको तथा पशु आहाराका लागि दाना उद्योग सञ्चानको तयारी गरिहेको उनको भनाइ थियो ।

व्यावसायिक दूध उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको मकवानपुरगढी गाउँपालिकामा सहकारीमार्फत मात्रै दैनिक दश हजार लिटर दूध सङ्कलन हुने जनाइएको छ जुन यहाँको कूल उत्पादनको आधा भन्दा पनि कम रहेको दुग्ध सङ्कलक बताउँछन् ।

सहकारीमार्फत सङ्कलन हुने दूधमार्फत मात्रै यस गाउँपालिकामा मासिक १ करोड ५५ लाख भित्रिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर परियारले जानकारी दिए ।

गाउँपालिकामा हाल ३० वटा ठूला गाईपालन केन्द्र सञ्चालनमा रहेको जनाइएको छ । थोरै गाई तथा भैँसीपालन गर्ने किसानहरु धेरै रहेको तर उनीहरुको अभिलेख नभएको बुझिएको छ ।

मकवानपुरगढी गाउँपालिकाको दोस्रो ठूलो उत्पादन यहाँको मालभोग प्रजातिको केरा रहेको छ । त्यस्तै आधुनिक खेती प्रणालीमार्फत मकवानपुर गढीमा दैनिक लाखौंको तरकारी, केराजस्ता उत्पादन बाहिरिने स्थानीय अगुवा किसान बताउँछन् ।

राज्मा, बोडी, मास, सिमी, भटमासजस्ता मौसमी गेडागुडी तथा विभिन्न प्रकारका मौसमी एवं बेमौसमी तरकारी यहाँ प्रशस्त उत्पादन हुने अधिकृत परियारले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.