आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

डिसी नेपाल
२९ कार्तिक २०७६ १७:४८

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमलाई हत्या आरोपमा पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत रौतहटले आदेश दिएको छ।

२०६४ चैत्र २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोट र सो विस्फोटमा घाइते भएकाहरुलाई ईँटा भट्टामा हालेर हत्या गरेको आलाममाथि आरोप छ। अदालतले पुर्पक्षका लागि आलमलाई थुनामा पठाएसँगै उनको सांसद पद पनि निलम्बन भएको छ।

उनी रौतहट २ बाट प्रतिनिधिसभामा नेपाली काँग्रेसको उम्मेदवार भएका विजयी सांसद थिए।

एक साता लामो बहसपछि शुक्रवार जिल्ला अदालत रौतहटले उनलाई थुनामा पठाउन आदेश दिएको हो।

सरकारकी वकिलको कार्यालयले कार्तिक १८ गते रौतहटमा सांसद आलमसहित ११ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम मुद्दा दायर गरेको थियो। जन्मकैद सहितको माग दावी गर्दै अदालतमा दायर मुद्दामा आलमका तर्फबाट तीस जना भन्दा बढी वकिलले बहस गरेका थिए।

२०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा गत असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो। २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको विस्फोटमा घाइते भएका २३ जनालाई इँटा भट्टामा जिउँदै जलाएको अभियोग आलममाथि लाग्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.