बूढेसकालमा जीवनको साहारा “वृद्धभत्ता”

डिसी नेपाल
७ मंसिर २०७६ ९:२१
16
Shares

पाल्पा । बूढेसकालमा शरीरमा जोस, जाँगर र फुर्तिलोपनको अभाव हुन्छ । काम गर्न नसक्दा अरुसँग नै परनिर्भर हुनुपर्ने हुन्छ । शरीर फुर्तिलो नहुँदाको पीडामा रहेका बेला सामाजिक सुरक्षा भत्ता जीवन जिउनका लागि साहारा बनेको छ ।

सरकारले प्रदान गर्ने सामाजिक सुरक्षाभत्ता दलित समुदायका ६० वर्ष र गैरदलित समुदायमा ७० वर्षदेखि वितरण गर्छ । सामाजिक सुरक्षाभत्ता पाउँदा बूढापाकाको जीवनमा खुशीसँगै उत्साह थपिएको छ। पाल्पा रिब्दीकोट गाउँपालिका–५, कुसुमखोलाका ७५ वर्षीय शिवकुमारी थापालाई बिरामी हुँदा औषधिमूलो गर्न र पोसिलो आहारा खान सामाजिक सुरक्षाभत्ताले सहयोग गरेको छ।

“सानोतिना खर्च गर्नका लागि छोराबुहारीसँग पैसा माग्नुपर्दैन, बूढेसकाल लागेपछि बिरामी हुँदा ऋण खोज्नुपर्दैन”, थापाले भने । उपचारका नाममा पैसा नहुँदा अरुसँग पैसा माग्न हात थप्नुपर्ने बाध्यता हटेकोमा थापा खुसी हुनुहुन्छ । मासिक दुई हजार सामाजिक सुरक्षाभत्ता पाउने व्यवस्था छ । थप रु एक हजार स्वास्थ्योपचार खर्च गरी मासिक रु तीन हजार भत्ता पाउँदा थापाको अनुहारमा खुशी देखिन्छ।

“सरकारले हामीजस्ता बूढाबूढीलाई न्याय गरेको छ, अझै राम्रो काम गर्नुपर्छ । साउनदेखि वृद्धभत्ता बढाएकोमा खुशी लागेको छ”, थापाले थपे । रिब्दीकोट गाउँपालिका–४ खस्यौलीका ७१ वर्षीया शोभालक्ष्मी ढकाल वडा कार्यालयबाट सामाजिक सुरक्षाभत्ता पाउँदा खुशी छन् ।

दुई छोरा र बुहारीसमेत रहेका ढकालले पोसिलो आधार र औषधि उपचारमा नै खर्च हुने सुनाए । वृद्धभत्ता बुझ्न आउँदा पुराना साथीसँग भेट हुन्छ। एकअर्काका दुःखसुख आदानप्रदान हुन्छ । हामीलाई पुराना मान्छेका पुरानै कुरा भनेझैँ बूढापाका भेट हुँदा खुशी लाग्ने ढकालको भनाइ थियो ।

रिब्दीकेट गाउँपालिका डुम्रेखर्ककी शान्ति रुचाल अहिले घरमा एक्लै बस्नुहुन्छ । एउटा सानो घरमा दिनरात एक्लै बिताउनुपर्छ । साँझ बिहान एक्लै खाना पकाउनुपर्छ। एक्लै बसेका वृद्धालाई सरकारी भत्ताले ठूलो गुन लगाएको छ । रुचालले चार महिनामा रु आठ हजार सामाजिक सुरक्षाभत्ता बुझेर आफ्नै दैनिक खर्च चलाउँछन् ।

सामाजिक सुरक्षाभत्ताले घरमा साँझ बिहान चुलोमा आगो बाल्न सहयोग जुटेको छ । नुन, तेल, चामल, दालसमेत किन्न सहयोग पुगेको छ । एकल महिला तथा सन्तान गुमाएका आमाहरुका लागि सरकारी भत्ताले खुशी मात्रै ल्याएको छैन कि जीवनभर बाँच्न सहयोग पुर्याएको छ ।

खस्यौलीका तुल्सीप्रसाद नेपाल लौराको साहारामा हिँड्डुल गर्छन् । शरीर कमजोर बनेको छ । ७४ वर्षीय नेपाल चार महिनामा १२ हजार सामाजिक सुरक्षाभत्ता पाउँदा खुशी हुनुहुन्छ । वृद्धवृद्धालाई मात्र होइन, सरकारले एकल महिलाका लागि मासिक रु दुई हजार भत्ता दिन्छ।

सामाजिक सुरक्षाभत्ता वितरणले परिवारमा एक्लै जीवन जिउने, वृद्ध अवस्थामा औषधि उपचार, खानपिन तथा चाडपर्व राम्रोसँग मनाउन पाइएको प्रतिक्रिया वृद्धबृद्धाको रहेको पाइन्छ।

रिब्दीकोट गाउँपालिकाका अनुसार गत आवमा रु चार करोड ६१ लख ६५ हजार ६६९ को बजेट सामाजिक सुरक्षाभत्ता शीर्षकमा प्राप्त भएको थियो । जसमध्ये रु सात लाख २४ हजार ८९० फिर्ता भएको गाउँपालिकाको भनाइ छ। विसं २०५१ मा मोहनमन अधिकारी प्रधानमन्त्री हुँदा सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.