भ्रमण वर्षमा गण्डकी प्रदेशका प्रकृति र संस्कृतिको विश्व बजारीकरण

पोखरा । पर्यटनलाई समृद्धिको महत्वपूर्ण आधारका रुपमा लिएको गण्डकी प्रदेश यतिखेर नेपाल भ्रमण वर्ष-२०२० को स्वागतको पर्खाइमा छ ।

प्रकृति र संस्कृति नै पर्यटनको महत्वपूर्ण आधारस्तम्भ रहेको वास्तविकतालाई दृष्टिगत गरी यसको विश्व बजारीकरणलाई प्रदेशले आफ्नो प्राथमितामा राखेको छ।

फ्रेन्च नागरिक मौरिस हर्जगले १९५० को जुन ३ मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै पर्यटनमा अघि बढेको यस प्रदेशमा गण्डकी प्रदेश सरकारले विभिन्न ११० पर्यटकीय गन्तव्य सूचीकृत गरिसकेको छ।

तथ्याङ्कअनुसार नेपाल आउने पर्यटकमध्ये ४५ प्रतिशत यस प्रदेशमा आउने गरेका छन् ।

यहाँका मुक्तिनाथ, मनकामना, दामोदरकुण्ड, गलेश्वर महादेव, विन्ध्यवासिनी, ढोरबराह, केलादीघाट, त्रिवेणी, देवघाट, सेतीवेणी लगायतका धार्मिक पर्यटकीय गन्तव्य हुन् भने ढोरपाटन सिकार आरक्ष, अन्नपूर्ण, तथा मनास्लु संरक्षण क्षेत्र, धवलागिरि, अन्नपूर्ण तथा मनास्लु हिमशृङ्खला र यसअन्तर्गतमा हिमालले यहाँको गरिमा र महत्व बढाएका छन्।

संसारकै अग्लो तिलिचो ताल, रामसारमा सूचीकृत पोखराका नौवटा ताल, विश्वकै गहिरो म्याग्दीका दाना गल्छी, शालिग्राम पाइने कालीगण्डकी नदी तथा अन्धगल्छी, रुप्से झरना, विभिन्न गुफा, ग्रामीण बस्ती, घरवास र विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गका साथै मौलिक संस्कृतिले पर्यटकलाई लोभ्याउने गरेका छन्।

भ्रमण वर्षलाई भव्य र सभ्य बनाउने लक्ष्यका साथ प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको संयोजकत्वमा गठित समिति यतिखेर भ्रमण वर्षको शुभारम्भ लगायतका तयारीमा जुटेको छ।

गण्डकी प्रदेशको पर्यटनको महत्वपूर्ण आधारस्तम्भ यहाँका प्रकृति र संस्कृति नै रहेको बताउने नेपाल भ्रमण वर्ष–२०२० का गण्डकी प्रदेश सहसंयोजक अग्नि कँडेलले यिनीहरूको विश्व बजारीकरणलाई प्राथमिकतामा राख्दै अघि बढाएको बताए ।

“मनोरम प्रकृति र मौलिकता युक्त संस्कृतिमा सम्पन्न भए पनि हामीले यसको अपेक्षित बजारीकरण गर्न सकेका छैनौँ,” उनले भने, “नेपाल भ्रमण वर्षका अवसरमा यिनीहरूको प्रवद्र्धनका माध्यमबाट विश्व पर्यटन बजारमा पु¥याउने लक्ष्य राखेका छौँ।”

गण्डकी प्रदेशमा पर्यटकीय नगरी पोखराका साथै यहाँका ११ वटै जिल्लामा विभिन्न महत्वपूर्ण पर्यटकीयस्थल छन् ।

पोखरास्थित फेवा, बेगनास लगायतका ताल, यहाँबाट देखिने चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाली दृश्य, विन्ध्यवासिनी मन्दिर, सेती नदी, महेन्द्र गुफा, गुप्तेश्वर महादेव गुफा, डेभिड फल्स, ढङ्गेसाँघुस्थित प्राकृतिक पुल, बाइसे चौबिसे राजाका पालाका ऐतिहासिक कोटहरू कास्कीकोट, भरतपोखरीको कोटभैरव, हुडिकोट, कालिकाको ठूलाकोट र रुपा गाउँपालिकाको रुपाकोट लगायतका धेरै महत्वपूर्ण पर्यटकीयस्थल छन्।

हिमालपारिको जिल्ला मनाङ, मुस्ताङमा धेरै पर्यटकीयस्थल छन् ।

मुस्ताङको धार्मिक पर्यटकीयस्थल मुक्तिनाथ यहाँको अर्को आकर्षण हो । मुक्तिनाथ दर्शनका साथै मुस्ताङ पुग्नेहरू उपल्लो मुस्ताङको ल्होमन्थाङ हुँदै नेपाल चीनबीचको कोराला नाकासम्म पुग्ने गर्दछन्।

मुस्ताङकै कागबेनी, मार्फा र ठिनी लगायतका ऐतिहासिक ठाउँ तथा गाउँहरू यहाँका पर्यटकीय आकर्षण हुन्।

गण्डकी प्रदेश पदयात्रा पर्यटनमा समेत महत्वपूर्ण स्थान राख्ने स्थान हो। पदयात्राकै लागि बर्सेनि ठूलो सङ्ख्यामा पर्यटक आउने गरेको ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष एवम् नेपाल भ्रमण वर्ष–२०२०, गण्डकी प्रदेशका सदस्य सोम थापाले जानकारी दिए ।

उनका अनुसार यही प्रदेशमा विश्वका १० उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण पदमार्ग पर्दछ।

नेपाल आउने विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने यो पदमार्ग लमजुङको बेँसीसहरबाट शुरु भई मनाङ जिल्लाका विभिन्न स्थान हुँदै थोराङ पासबाट मुक्तिनाथ हुँदै जोमसोम निस्कन्छ।

प्रदेशकै घोरेपानी–अन्नपूर्ण आधार शिविर पदमार्ग र मर्दी पदमार्गका साथै नेपालकै एकमात्र मध्यपहाडी क्षेत्रको तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने सहस्राब्दी पदमार्ग (मिलिनियम ट्रेक) पदयात्रा पर्यटनका आकर्षक गन्तव्य हुन्।

प्रदेशका गोरखाको मनकामना, बाग्लुङको बाग्लुङ कालिका, म्याग्दीको गलेश्वर लगायतका स्थानले विशेष महत्व राख्दछन्।

मनकामना देवी मन्दिर यहाँका एक विशिष्ट धार्मिक पर्यटकीयस्थल हो। मनले चिताएको पुग्ने देवी भएकाले यस तीर्थस्थलको नाम मनकामना राखिएको प्राचीन जनविश्वास छ।

मनले चिताएको पुग्ने विश्वासका साथ बर्सेनि ठूलो सङ्ख्यामा भक्तजन भाकल एवम् सामान्य पूजाका लागि यस मन्दिरमा पुग्ने गरेका छन्।

प्रदेशकै अर्को धार्मिक पर्यटकीय तीर्थस्थल बाग्लुङ कालिका मन्दिर हो। विशेषगरी चैत्रशुक्ल अष्टमीका दिन यहाँ ठूलो मेला लाग्ने गर्दछ। त्यस्तै म्याग्दी जिल्लास्थित गलेश्वर महादेव मन्दिर अर्को धार्मिक पर्यटकीय तीर्थस्थल हो।

ढुङ्गामा देवता टुसाउने तीर्थस्थलका रुपमा लिइने यस स्थलमा प्रत्येक वर्षको महाशिवरात्रिमा विशेष मेला लाग्ने गरेको छ।

गण्डकी प्रदेश गाउँ पर्यटनका दृष्टिबाट पनि महत्वपूर्ण गन्तव्य भएको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष रवीन्द्रराज पौडेलले बताए।

नेपाल भ्रमण वर्षका अवसरमा यहाँका ऐतिहासिक तथा सांस्कृतिक महत्वका गाउँहरूको प्रवद्र्धन गरिने उहाँले जानकारी दिए ।

भ्रमण वर्षलाई लक्षित गरी यस वर्षमा घरवासमा बस्न आउने पर्यटकलाई २० प्रतिशत छुट दिने योजना राखिएको छ।

मनोरम पर्यटकीय गाउँमध्ये तनहुँको बन्दीपुर एक हो। मौलिकतायुक्त विविध संस्कृति रहेको यस ठाउँबाट उत्तरमा मस्र्याङ्दी उपत्यका, गणेश, माछापुच्छ्रे लगायतका हिमाली दृश्य नाङ्गो आँखाले हेर्न सकिन्छ।

गाउँ पर्यटनका क्षेत्रमा नेपालको पहिलो घरवास सञ्चालन भएको गाउँ सिरुबारी हो। स्याङ्जाको पञ्चमूलमा पर्ने यो गाउँमा गुरुङ जातिको संस्कृति अवलोकन गर्न सकिन्छ।

सरसफाइ, पाहुनाप्रति गरिने सत्कार आदिले यहाँको गरिमा र महत्व बढाएको छ।

त्यस्तै घलेगाउँ यहाँको अर्को पर्यटकीय आकर्षणयुक्त गाउँ हो । मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ हिमाल लगायतको दृश्यका साथै गाउँमा रहेको चियाबगान, भेडीखर्क, उत्तरकन्याको मन्दिर आदिले पर्यटकलाई लोभ्याउने गरेको छ।

प्रदेशका विविधतायुक्त प्रकृति र संस्कृतिलाई भ्रमण वर्षका अवसरमा विश्व पर्यटन बजारमा पुर्याउने गरी कार्यक्रम अघि बढाइने सहसंयोजक कँडेलको भनाइ छ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position