‘पाल्पा तिनाउको शिखरडाँडामा खानेपानी सुविधा’

डिसी नेपाल
१८ मंसिर २०७६ १०:४७

पाल्पा । खानेपानीको समस्या रहेको पाल्पा, तिनाउ गाउँपालिकामा लिफ्टिङ्मार्फत खानेपानी सुविधा पुर्याउने भएको छ।

वर्षौँदेखि करीब एक घण्टा उकालो ओरालो गरी डोकामा पानी बोकेर जीविकोपार्जन गर्दै आएका त्यस क्षेत्रका नागरिकको समस्यालाई ध्यानमा राखी आफ्नो तहले खानेपानीको योजना ल्याएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाको आर्थिक सहयोग तथा उपभोक्ताको जनश्रमदान गरी करीब रु दुई करोड १६ लाखमा लिफ्टिङ् सिष्टमबाट पानी तानेर गाउँभरि सुविधा दिइने लक्ष्य छ।

गाउँपालिका वडा नम्बर ६ का प्रत्येक घरमा एक घर एक धारा उपलब्ध गराइने छ। अध्यक्ष घर्तीले भने, “ प्रत्येक धारामा मिटर जडान गरी नुहाउने तथा धुने गरेर खेर गएको पानीलाई करेसाबारीमा प्रयोग गरी अनिवार्य तरकारी उत्पादनमा समेत जोड दिनुपर्छ। ”

वडाका ८० घरधुरीमा सुविधा हुनेपछि सबै दङ्ग भएको खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष रेवन्त रासकोटीले बताए । “बिहान उठेर पानी लिन जाँदा समय त्यतै खर्च हुने, गाईवस्तुलाई खुवाउन कपडा धुन, नुहाउन समेत समस्या हुने, सिंचाइको कुरा त परको भो”, रासकोटीले गुनासो गरे।

उनले गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएपछि जनश्रमदान गर्न आफूहरु उत्साहित भएको बताए । घर नजीकै तरकारी लगाउन मन भएर पनि सिंचाइ असुविधा हुँदा त्यस क्षेत्रका नागरिक समस्यामा छन्।

अब भने गाउँपालिका तथा प्रदेशले खानेपानी सुविधासँगै सिंचाइको समेत सुविधा पुर्याउने योजना गरेका छन्। बजेट विनियोजन भएर उपभोक्ता समिति गठन भएसँगै समयमै खानेपानी सुविधा पाइन्छ भन्नेमा यस क्षेत्रका नागरिक ढुक्क छन्।

प्रदेशसभा सदस्य तुलाराम घर्ती मगरले खानेपानीको असुविधा रहेको ठाउँमा सिंचाइ तथा खानेपानीको सुविधा गाउँपालिकासँग प्रदेश सरकारको साझेदारीमा दिन लागिएको बताए । गाउँकै सेनाघाटबाट तानिएको पानी शिखरडाँडा र भुटुक्डी गाउँका नागरिकलाई दिइनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.