बग्दादमा आशाको किरण बन्दै प्रहरी अधिकृत
बग्दाद (बीबीसी) । आफ्ना बालबालिकाको लालनपालनका निम्ति इराक कहिले राम्रो देश बन्ला भनेर कल्पना गर्न गाह्रो छ । इराकको हालैका युद्ध, आक्रमण, अत्याचार र साम्प्रदायिक हिंसाको इतिहासले मानिसहरूमा गहिरो मनोवैज्ञानिक आघात पारेको छ । लापरवाही र प्रतिस्पर्धाको अभावका कारण इराकका सार्वजनिक निकायहरू यति गए गुज्रेको भएका छन् कि खत्तम हुने विन्दुमा पुगिसके । अर्थतन्त्र निकै खराब भएको छ, भोकमरी व्याप्त छ र देशका राजनीतिक नेताहरूले सबै सम्मान गुमाइसके ।
आर्थिक कठिनाइ र व्यापक भ्रष्टाचारका कारण हजारौँ मानिसहरूले सडकमा विरोध प्रदर्शन गरेका छन् र अराजकता व्याप्त छ । प्रदर्शनका कारण सयौँ मानिसहरूले ज्यान गुमाएका छन् । यस्तो अव्यवस्थाकामाझ एउटा आशाको किरण देखापरेको छ । र त्यो आशाको किरण बग्दादको प्रहरी मेजर अजिज नाशरको रूपमा आश्चर्यजनक रूपमा उदाएको छ । आफूलाई देशभक्तका रुपमा स्वयं स्वीकारेका मेजर काम गरिरहने खालका मानिस हुन् । उनी नयाँ पुस्ताका पुलिस कमान्डरमध्ये एक हुन् र देख्नमा आधुनिक देखिन्छन्, मिडियाको प्रयोग राम्रो सँग जानेका छन् र जनताको सेवा गर्न प्रतिवद्ध छन् । सार्वजनिक मामिलासम्बन्धी विभागका प्रमुख रहेका उनको सामाजिक सञ्जालमा राम्रै उपस्थिति छ ।
कहिलेकाहीँ उनलाई सहायता वा सुझावका लागि एकै दिनमा १० हजार अनुरोध पनि आउँछन् । उनको व्यक्तिगत उद्देश्य भनेको बग्दादको प्रहरीको कमजोर छवि उकास्नु हो । अस्तित्वमै नरहेका सार्वजनिक सेवाले उत्पन्न गराएका खाडललाई पुर्न उनी मानिससम्म पुग्न चाहन्छन् । उनलाई धेरै कुरा हासिल गर्नुछ । सद्दामको पालामा बग्दादको प्रहरी फौजले त्यतिबेलाको दमनकारी शासनकाल इमानदारीपूर्वक सञ्चालन गरे ।
उक्त शासनकाल भ्रस्टाचार र असक्षमताको पर्याय बनेको थियो । अमेरिकाविरोधी विद्रोहको बेला बग्दादका प्रहरीमाथि कायरताको आरोप लाग्ने गथ्र्यो । खतराका बेला प्रहरी चौकी पछि हटेको र उद्धारका लागि अमेरिकी सेनाको भर परेको भन्ने आरोप लाग्ने गथ्र्यो । यसले गर्दा पहिल्यै बिग्रिएको प्रहरीको छविलाई थप असर पु¥याएको थियो । तर मेजर अजिज एक प्रतिवद्ध आशावादी व्यक्ति हुन् । प्रहरी फौजको समस्याहरू उनी स्वीकार्छन् । उनी त्यसलाई सच्च्याउनका लागि कडा मिहिनेत गर्न खोज्छन् । उनको त्यो दृढताको पहिचान कमाण्डिङ जेनेरलले गरेका छन् जसले उनलाई त्यस्ता घटना भएका ठाउँ वा जहाँ उनको आवश्यकता छ त्यहाँ जान अनुमति दिएका छन् ।
ड्यूटीमा भएका बेला उनको कामलाई पछ्याउनु भनेको बग्दादको अहिलेको दैनिक जीवनको अँध्यारो पक्षको यात्रा गर्नु हो । चार बच्चाकी आमाले गरेको आत्महत्याको प्रयासको घटनामा हिरासतबाट ती आमालाई छोड्नुअघि मेजर अजिजले ती महिलाका परिवारसँग उनको हत्या हुनसक्ला भन्ने आशङ्कामा कुराकानी गर्छन् । आत्महत्याको प्रयास त्यस्तो काम हो जसले महिलाका परिवारको अपमान हुने ठानिन्छ । त्यसको केही घण्टापछि अजिज मस्जिदमा नजिकै छोडिएका पाँच बालबालिका भएको ठाउँमा पुग्छन् । ती पाँच बालबालिकामध्ये सबैभन्दा कान्छा पाँच वर्षभन्दा कम उमेरका छन् । उनीहरूको काकीले उनीहरूलाई त्यहीँ बसिरहे मिठाई दिने भन्दै त्यहाँबाट गइन् । र, कहिल्यै फर्किनन् ।
आफ्नो बच्चामा सिकाइको समस्या भएका मेजर अजिजले ती पाँचजना बालबालिकाको भेट परिवारसँग नभए आफैँले उनीहरूलाई राख्ने घोषणा गरे । बालबालिका उपेक्षामा पर्नु र छोडिने जस्ता समस्या बढ्दो छ । धेरै परिवारहरू उनीहरूलाई पाल्न असमर्थ छन् । खानेकुराको जोहो गर्नेहरूकै मृत्यु हुने वा घाइते हुने कारणले पछिल्लो दुई दशकमा समस्या थप बढाएको छ । मेजर अजिज भने रोकिँदैनन् । उनका कमाण्डरले इराकको अदालतले मृत्युदण्ड दिएका एक हत्यारालाई सोधपुछ गर्न भनेका छन् । ती व्यक्तिले जर्मनीमा भएको विवाह कार्यक्रममा आफन्तको हत्या गरे र पक्राउमा पर्नुअघि नै इराक फर्किए ।
आफ्नो विवाह प्रस्ताव अस्वीकार गरेर ती महिलाले आफ्नो बेइज्जत गरेको दाबी ती हत्याराले गरेका छन् । ती हत्याराका परिवारले यदि उनलाई मृत्युदण्ड दिइए जातीय बदला लिने धम्की दिएका छन् । दुई परिवारबीचको वार्ता रोकिएको छ । मेजरको कामको गति अनवरत छ । सहरको केन्द्रमा एउटा सानो कार दुर्घटना हुँदा त्यसले ठूलो ट्राफिक जाम गराएको छ । दुवै चालकले गल्ती स्वीकारी रहेका छैनन् । उक्त समस्यालाई छिटो समाधान गर्नका लागि अजिज त्यहाँ पुगेका छन् ।
उनले क्षतिका लागि आफ्नै खल्तीबाट पैसा झिकेर दिए। त्यो उपायले काम ग¥यो । त्यस्तो अवस्थामा पैसा लिनु शोभनीय हुँदैन थियो र दुवै चालकले आफ्नो अडान छोडे । ट्राफिक जाम केहीबेरमै खुल्यो । प्रत्येक साता मेजर अजिजले दुई घण्टा खुला कार्यक्रम गर्छन् जहाँ नागरिकहरू आएर मद्दत माग्न सक्छन् । मानिसप्रतिको त्यो लगन र त्यो सँगै आउने लोकप्रियताले मेजरका केही शत्रु पनि बनेका छन् । कम प्रतिस्पर्धी प्रहरीहरू उनको ख्यातिको डाहा गर्छन् । गत वर्षको सेप्टेम्बरमा उनलाई जागिरबाट निकालियो। उक्त घटनाले उनलाई दुखी बनायो र उनी रोए । तर उनका सहयोगीहरूले हस्तक्षेप गरे र उनी पुनः काममा फर्किए ।







डिसी नेपाल








Facebook Comment