बेहुलीका पूर्वप्रेमीले जब झ्याप्पै जन्ती गाडी रोके…

डिसी नेपाल
२१ फागुन २०७६ ६:३०

वीरगन्ज । बिहे गरी बेहुलाको घरमा जाँदै गरेकी बेहुलीलाई बीच सडकमै रोकेर बेहुली आफ्नी प्रेमिका रहेको दाबी गर्ने एक युवक र उनका साथी पक्राउ परेका छन् ।

पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ दसौताका सकलदिप साह तेली र उनका साथी मुन्ना आलमलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ दसौता निवासी सिकेन्द्र साहको घरमा सोमबार बेलुकी भारत बिहारको पूर्वी चम्पारण जिल्लाको आदापुरबाट बेहुला पक्ष जन्ती लिएर लिएर आएको थियो ।

सोमबार राति बिहे सकेर मङ्गलबार बिहान बेहुलीको घरबाट बेहुलीसहित भारत फर्किरहेका जन्तीलाई जगरनाथपुर गाउँपालिका ४ लक्ष्मीपुरस्थित गण्डक नहरको बाटोमा तेली र आलमले रोके ।

प्रत्यक्षदर्शीका अनुसार तेलीले उक्त विवाहमा बेहुली भएकी युवती आफ्नो प्रेमिका भएको र उनीसँग आफैँले बिहे गर्न पाउनुपर्ने भन्दै केही बेरसम्म जन्तीको गाडी नै रोकिदिए । स्थानीयले ती दुबै युवकलाई सम्झाउन खोज्दा उल्टै उनीहरुले स्थानीयमाथि हातपात गर्ने प्रयास गरे ।

त्यसपछि नजिकै रहेको सशस्त्र प्रहरी बेस क्याम्पका सुरक्षाकर्मीले जन्तीको गाडी रोक्ने तेली र आलम दुबैलाई नियन्त्रणमा लिएर बेहुली सहित जन्तीलाई बेहुलाको घर पठाइदिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नीरिक्षक चन्द्र सिंहले जानकारी दिए । आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।




प्रतिक्रिया

धेरै पढिएको.