मदन भण्डारी विश्वविद्यालयकाे दफादार छलफल सकियाे

डिसी नेपाल
२१ फागुन २०७६ १७:४७

काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल सकिएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा जारी विधेयकको दफावार छलफल सकिएको समितिका सभापति जयपुरी घर्तीले जानकारी दिइन्।

उनका अनुसार विधेयकमाथि संशोधन दर्ताको दफावार छलफल सकिएको हो । “दफावार छलफलका क्रममा केही निर्णय गर्न बाँकी छन्” उनले भनिन् । विधेयकमा २२ सांसदले ७७ बुँदामा संशोधन दर्ता गराएका थिए । समितिमा संशोधन दर्ता गराएका सदस्यले आआफ्नो सुझावसमेत दिएका थिए ।

शिक्षा मन्त्रालयका विज्ञान तथा प्रविधि सचिव डा सञ्जय शर्माले संशोधनकर्ताले दिएको सुझावका आधारमा विधेयक तयार गर्ने बताए। समिति सदस्य रामकुमारी झाँक्रीले विश्वविद्यालयले अनुसन्धान र प्राज्ञिक क्षेत्रमा प्रशंसनिय काम गरेको व्यक्तिलाई मात्र मानार्थ उपाधि दिनुपर्ने सुझाव दिइन्। विधेयकमा सांस्कृतिक तथा समाजसेवीलाई समेत मानार्थ उपाधि दिइने उल्लेख गरिएकोमा हटाइएको छ ।

समिति सदस्य गगन थापाले विदेशी नागरिकलाई पनि संरक्षक समितिको सदस्य, विश्वविद्यालयको पदाधिकारीमा राख्न सकिने व्यवस्था हुनुपर्ने बताए । विधेयकमा विदेशी नागरिकलाई पनि संरक्षक समितिका सदस्य र पदाधिकारी रहने व्यवस्था गरे पनि केही समिति सदस्यले विदेशी नागरिकलाई नराख्न सुझाव दिएका थिए ।

‘हाम्रा देशका राम्राराम्रा प्राध्यापक विदेशस्थित विश्वविद्यालयमा छन्’, थापाले भने, ‘हामीले पनि विश्वविद्यालयको संरक्षक समिति र पदाधिकारीमा बाहिरका प्रतिष्ठित प्राध्यापकलाई राख्नुपर्दछ ।’ सरकारले विज्ञान र प्रविधिका छुट्टै विश्वविद्यालय स्थापना गर्न विधेयक ल्याएको हो । पचासी प्रतिशत विज्ञान र प्रविधि तथा १५ प्रतिशत अन्य विषय पढाइ हुने व्यवस्था रहेको विश्वविद्यालय मकवानपुरको थाहा नगरपालिकास्थित चित्लाङमा र केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकमा रहनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.