कोरोना प्रभावः पछाडि सर्छन् नेपाली चलचित्र ?
काठमाडौं। कोरोना भाइरसको प्रभाव नेपाली चलचित्र उद्योगमा पनि देखिन थालेको छ।
नेपाल चलचित्र निर्माता संघले सतर्कता अपनाउन भन्दै सम्पूर्ण चलचित्रको छायांकन स्थगित गर्न आह्वान गरेको छ। हलमा पनि कोरोनाविरुद्ध सतर्कता अपनाउन थालिएको छ। अब, कोरोनाको असर प्रदर्शनको तयारीमा रहेका चलचित्रमा पनि पर्न थालेको छ। निर्माताहरु प्रदर्शनको तयारीमा रहेका चलचित्रको प्रदर्शन मिति सार्ने तयारीमा छन्। यद्यपि उनीहरु अझ केही दिन ‘पर्ख र हेर’को अवस्थामा रहेको बताउँछन्।
‘म यस्तो गीत गाउँछु २’ले यही फागुन ३० गतेलाई प्रदर्शन मिति तोक्दै प्रचार–प्रसारलाई तीव्र बनाएको थियो। अब भने चलचित्र सो मितिबाट पछाडि धकेलिने आशंका छ। निर्माता तथा निर्देशक सुदर्शन थापा २/३ दिनमा निर्णय लिने बताउँछन्। ‘शुक्रबार र शनिबार हलको माहोल नहेरी केही बोल्न सक्दिन’– उनले भने।

चैत २१ गतेदेखि प्रदर्शनमा आउने भनिएको ‘लक्का जवान’का निर्देशक शिवहरि पौड्याल पनि आफूहरु ‘पर्ख र हेर’को अवस्थामा रहेको बताउँछन्। ‘सर्ने मनस्थिति हो। केही दिन माहोल हेर्छौं। अन्य चलचित्रहरु सर्दै गयो भने हामीले पनि सार्नेछौं’– शिवहरिले डिसी नेपालसँग भने।
उनले आफ्नो चलचित्र प्रदर्शनमा आउन १ महिना बाँकी रहेकोले ८/९ दिन माहोल हेरेपछि निर्णय लिने बताउँछन्। उनी थप्छन्, –‘शुक्रबारदेखि बलिउड चलचित्र ‘बागी ३’ लाग्दैछ। त्यसमा कस्तो माहोल हुन्छ? हेरौं।’ केही दिनमा माहोल राम्रै देखिए प्रचार–प्रसारलाई तिव्र पार्दै पूर्वनिर्धारित मितिमै चलचित्र प्रदर्शन गर्ने शिवहरिले बताए।
‘प्रेम गीत ३’ का निर्माता तथा निर्देशक सन्तोष सेन प्रदर्शन मिति सार्नेबारे सोचिनसकेको बताउँछन्। चैत २८ गतेलाई ‘प्रेमगीत ३’को प्रदर्शन मिति तोकिएको छ। ‘अहिलेकै जस्तो अवस्था हो भने प्रदर्शन मिति सार्नेबारे सोचिहाल्नुपर्ने अवस्था छैन्’ उनले भने –‘कोरोना समस्या लम्बिदै गयो। त्रास बढ्यो भने त्यसको प्रभावलाई मध्यनजर गर्दै निर्णय लिनेछौं।’ दर्शकलाई असर पर्ने किसिमले भने चलचित्र प्रदर्शनमा नल्याउने सेन बताउँछन्। अन्य निर्माताहरु पनि अहिले अन्यौलमा देखिन्छन्।
उसो त मानिसको भीड हुने ठाउँ भएकाले चलचित्र हल पनि बन्द गरिनुपर्ने चर्चा पनि चल्न थालेको छ। तर, हल संचालकहरु नेपालमा हालसम्म कोहीमा पनि कोरोना भाइरस नदेखिएकोले गर्दा हलमा जान डराइहाल्नु पर्ने स्थिति नरहेको दाबी गर्छन्।
कोरोनाको त्रास देखिए पनि चलचित्र हेर्न आउने दर्शकको संख्यामा खासै असर नपरेको हल संचालकहरु दाबी गर्छन्। राजधानीको गोपिकृष्ण हलका म्यानेजर तीर्थ पौडेल कोरोना भाइरसको त्रास रहेपनि हलमा दर्शकको उपस्थितिमा कुनै कम नआएको बताउँछन्।
‘हलमा दर्शकको उपस्थितिमा कमी आएको छैन’– उनी दाबी गर्छन्। बरु हलले सतर्कता अपनाउन थालेको र दर्शकहरु स्वयं पनि संयमित देखिएको उनले बताए।
















Facebook Comment