कोरोनाका कारण चावहिल स्थित गणेश मन्दिर बन्द
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पशुपति क्षेत्रस्थित उपत्यकाका चार विनायकमध्येको एक चन्द्रविनायक मन्दिर मंगलबारदेखि बन्द गरिएको छ ।
चावहिल गणेश समेत भनेर चिनिने मन्दिर सङ्क्रमणको जोखिम नघटेसम्मका लागि बन्द गरिएको श्री चन्द्रविनायक तथा श्री भैरवनाथ भजन मण्डल समितिले जनाएको छ । मन्दिरमा प्रत्येक साता मङ्गलबार हजारौँ दर्शनार्थीको भीड लाग्थ्यो । मङ्गलबार मन्दिरमा आई पूजा आजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, शरीरमा घाउ खटिरा आएमा निको हुने विश्वास रहेको समितिका अध्यक्ष नवीन गोर्खालीले बताए ।
समितिले मन्दिर आउने भक्तजनलाई एक÷एक फिटको दूरीमा आज मङ्गलबार दर्शन गराउने तयारी गरेकामा सोमबार बेलुकी सरकारले लकडाउनको निर्णय गरेपछि सूचना टाँस गरी मूलढोकामा तालाबन्दी गरिएको उनले जानकारी दिए । आउन सक्ने भक्तजनले मुलढोका बाहिरबाट दर्शन गरी घुमेर जान सक्ने छन् ।
मन्दिरमा नित्य हुने पूजा आरती लगायत विधि भने यथावत् रहने समितिले जनाएको छ । भूकम्पले भत्किएर पुनःनिर्माण भइरहेको मन्दिर अझै पूरा हुन सकेको छैन । पुरातत्व विभाग र पशुपति क्षेत्र विकास कोषबीच पुराना काठ राख्ने वा नराख्ने विवादले तीन महीना काम बन्द भएको काठमाडौँ महानगरपालिका वडा नं।–७ का अध्यक्ष शुद्ध डङ्गोलले बताए।
दुई तलाको काम भइसकेकामा भत्काएर पुराना काठ झिकी नयाँ काठ राखेर पुनःनिर्माण भइरहेकामा कोरोना भाइरसको सन्त्रासका कारण फेरि काम रोकिएको छ । पुराना काठलाई मन्दिरको पाटीमा सुरक्षित राखिएको जनाइएको छ ।







डिसी नेपाल








Facebook Comment