कोरोना संक्रमण विरुद्ध जनचेतना फैलाउँदै भक्तपुरका युवा

डिसी नेपाल
१८ चैत २०७६ ९:३२
4
Shares

काठमाडौं। महामारीको रुपमा विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारमा स्वयं चिकित्सक नै डराइरहेका बेला भक्तपुरका केही युवा भने जनचेतना फैलाउने काममा सक्रिय भएका छन्।

आरएनए– १६ समूहका युवा कोरोना संक्रमणबाट बच्ने उपाय सिकाउनुको साथै कोरोना संक्रमणको जस्तै लक्षण देखिएका व्यक्तिको उद्धार र सहयोगमा जुटेका हुन्।

भक्तपुर नगरपालिकाका अरुण सैंजू, राजेश गाइजू, न्हुज किजू, दीप थकू र पुनम कर्मचार्यको दिनचर्या भक्तपुर अस्पताल परिसरमा टाँगिएको त्रिपालमा वित्ने गरेको छ। उनीहरु २४ सै घण्टा त्यहीं बसेर सेवा दिँदै आएका छन्।

भक्तपुर अस्पताल, नेपाल प्रहरी र नेपाली सेनाको सहकार्यमा आफूहरु कोरोना भाइरसका शंकास्पद संक्रमितको सहयोगमा खटिएको अरुण सैंजुले बताए।

कोरोनाको जस्तै लक्षण देखिएका व्यक्तिको घरसम्म पुगेर उनीहरुलाई अस्पताल पुर्याउने, यात्रा विवरण बटुल्ने, परीक्षणका लागि स्वाव प्रयोगशालासम्म पुर्याइदिने काममा नै उनीहरुले दिन बिताउने गरेका छन्।

पेशाले शिक्षक राजेश गाइजु लकडाउन सुरुभएदेखि नै आरएनए–१६ समूहमा आवद्ध भइ कोरोना विरुद्धको लडाइमा लागेका हुन्।

यस्तै समूहमा काम गर्दै आएका अर्का कोरोना विरुद्धका अभियन्ता न्हुज किजुको काम कोरोनाको शंका देखिएका बिरामीको स्वाब परीक्षणका लागि काठमाडौंको टेकु अस्पताल पर्याउने गरेका छन्।

उनले अहिले पनि ६ जना विरामीको स्वाब परीक्षणका लागि टेकु जाँदै गरेको बताउँदै उनले भने, ‘लक डाउनमा घरमा बस्न मन त थियो तर घरमा बस्दाको भन्दा यहाँ स्वयम सेवा गर्नुको मज्जा नै अलग छ। आफू मात्र बाँचेर भन्दा पनि अरुलाई पनि बचाउनु पर्छ भन्ने भावका साथ २४ सैं घण्टा खटिएको छु।’

यस्तै अर्का अभियन्ता राजेश गाइजुले विदेशबाट आएको र काठमाडांै बाहिरबाट आएका ब्यक्तिको ट्राभल हिस्ट्री लिने आवश्यक परामर्श दिनेकाम पनि गरिरहेको बताए।

पेशाले नर्स पुनम कर्माचार्यले टोलीको कम्युनिकेसन संयोजनको रुपमा काम गरेकी छन्। भक्तपुर अस्पताल परिसरमा रहेको त्रिपालमुनि बसेर उनले सबै कामको तालमेल मिलाउने गर्छिन्।

हाल सम्म उनीहरुको समूहले २३ जना विरामीको नमुना प्रयोगशाला पुर्याएको छ। ती मध्ये ११ वटा नमुनाको रिपोर्ट नेगेटिभ आइसकेको छ र बाँकीको आउन बाँकी छ। उनीहरु सरकारबाट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगाएर स्वयंसेवामा खटिएका हुन्।

उनीहरुले भक्तपुर अस्पताल परिसरमा तीनवटा टेन्ट बनाएका छन्। तीमध्ये एउटा आफूहरु बस्ने, अर्काेमा स्वदेशमै रहेका सम्भावित संक्रमितलाई उपचारका लागि राख्ने र तेस्रोमा विदेशबाट फर्केका सम्भावित संक्रमितलाई राख्ने व्यवस्था गरिएको छ।

भक्तपुरमा उद्दारकर्मीको पर्यावाचीको रुपमा चिनिदै आएका अरुण सैंजुको नेतृत्वमा सो समूहले बाढी पहिरो तथा विभिन्न प्राकृतिक विपत्तीको समयमा पनि उद्दारको काम गर्दै आएको थियो। यो समुहले समय अनुसार विभिन्न प्रकोपबाट बच्ने उपायबारे विद्यालय एवं गाउँ गाउँमा प्रशिक्षण समेत दिदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.