झापामा कोरोनाको राहत ५ किलो चामल लिन गएका मजदूरको घर जल्यो, निस्किए लाखौंका बण्डल
काठमाडौं। झापामा अत्यन्तै दयनीय हालतमा जीवन यापन गर्दै आएका एक मजदूरको घरमा आगो लागेपछि घरभित्रका सामान जोगाउने क्रममा घरभित्रबाट लाखौं रुपैयाँका बण्डल निस्किएपछि उद्धार गर्न गएका सबै चकित परेका छन् । बाँसले बारेको सानो फुसको घरमा बस्ने र मजदूरीसँगै कवाडी संकलनको काम गर्ने कनकाई नगरपालिकाको वडा नं. ३, सुरुङ्गाका ठाकुरसिंह राईको घरबाट यसरी ठूलो रकम निस्किएको हो ।
शनिबार दिउँसो उनको घरमा आगो लागेको थियो । आगो लाग्दा राई भने कनकाई नगरपालिकाको कार्यालयमा राहत लिन पुगेका थिए । उनको हालत पहिलेदेखि नै निकै दयनीय देखिएकोले कोरोनाभाइरस महामारीको क्रममा उनलाई जीवनयापनमा समस्या हुने अनुमान गरी राहत दिन बोलाइएको थियो । उनलाई राहतको पाँच किलो चामल, एक किलो दाल र तेल दिइयो तर त्यही बेला उनको घरमा आगो लागेको थियो ।
आगो लागेपछि उद्धारमा गएकाहरुले उनको घरभित्रका सामान जोगाउने प्रयास गर्दा घरभित्र रहेको टिनको बाकसभित्र ठूलो परिमाणमा पैसा भेटियो । राईको झुपडीबाट ९ लाख रुपैयाँ सग्लै भेटियो । आधा जलेका पुराना नोट ५ देखि ६ लाख रुपैयाँ पनि भेटिए । राईले भने घरमा २४ लाख रुपैयाँ रहेको बताए ।
दयनीय हालतमा जीवनयापन गर्दै आएका राईको घरभित्र यति धेरै रकम भेटिएपछि यो रकम अवैध हुन सक्ने आशंका गरिएको थियो । तर, यो सबै रकमको स्रोत भने खुलेको छ । उनले २०४५ सालमा भारतबाट काम गरेर फर्किंदा ल्याएको रकमबाट जग्गा किनेको र ७ वर्षपछि त्यो जग्गा बेचेको तथा त्यही रकम विभिन्न व्यक्तिहरुलाई व्याजमा लगाएको खुलेको छ । त्यही व्याज लगाएको रकम बढ्दै जाँदा यति धेरै रकम भएको पुष्टि भएको छ ।
उनले ब्याजमा रकम दिएका व्यक्तिहरु पनि भेटिएर उनीसँग रकम लिएको पुष्टि गरेपछि यो रकम अवैध नरहेको पुष्टि भएको छ । राईले आफूसँग भएको रकम जोगाउँदै राख्ने तथा दैनिक मजदुरी गरेर कमाउँदै, नियमित आवश्यकता टार्दै रकम जम्मा गर्दै गएकोले यति धेरै रकम भएको पाइएको छ । उनले आफूसँग पैसा भए पनि त्यो पैसा न बैंकमा राखे न कुनै अचल सम्पत्ति किनेर लगानी गरे । उनले सबै पैसा घरमै राखिरहेको पाइएको छ । उनको घरमा भेटिएका अधिकांश नोट राजाको तस्वीर भएका पाइएका छन् । जसले उनले धेरै पहिलेदेखि नै घरमा रकम राखिरहेको कुरालाई पुष्टि गर्छ ।







डिसी नेपाल








Facebook Comment