लकडाउनले जुराएको अवसर, परिवारसँग रमाउँदै वृद्धवृद्धा
सांकेतिक तस्वीर।
काठमाडौं। ‘कोरोना त होइन बाबु, करुणा चाहिँ मेरी नातिनी हुन्। अहिले बजार बन्द भाको छ अरे, आमासँग यतै आकी छन्’ यो जवाफ हो, कोरोना भन्ने सुन्नु भाछ? भन्ने छिमेकीको प्रश्नमा मोरङ रङगेलीका ९८ वर्षीय बृषबहादुर कार्कीकाे।
बृषबहादुर बुबालाई कोरोनाको कुनै प्रवाह छैन, विदेशमा भएको कान्छो छोरो बाहेक सबै परिवारका सदस्य यतिबेला घरमा जम्मा भएकाले उनी निकै खुसी छन्। एक छोरा बुहारी र ३ जना नाति नातिना बिराटनगरमा बस्थे।
लकडाउन भएपछि सबैजना गाउँ गएका हुन्। सुरुमा त सबै छोरा बुहारी, नाति नातिना भेला हुँदा अचम्ममा परेको उनी सुनाउँछन्।
सँधै चाडवाडमा एक दुई दिन घर आएर जाने आफ्ना छोरा नाति नातिना र परिवारका सदस्य भेला भएकाले खोटाङ ऐँसेलुखर्ककी ७८ वर्षीया मनमाया आमा पनि खुसी हुँदै भन्छिन्, ‘बाबु यो लकडाउन अझै एक महिनासम्म भए पनि हुन्थ्यो जस्तो भाको छ। एक महिना भएपनि मेरो नाति खेलाउन पाउँथे।’
पाँच भाइ छोरा र छ बहिनी छोरीकी आमा रहेकी सोलुखुम्बु सोताङकी ८६ वर्षीया सितादेवी आमाका छोराहरुले अरुबेला महिनामा एकचोटी फोन गर्ने गर्थे। तर लकडाउन पछि म्यासेन्जरमा ग्रुप बनाएर दैनिक जसो भिडियो कल गर्छन्।
सँधै छोराछोरी के गर्दै होलान् भनेर चिन्तामा बिताइरहने आमा दिनैपिच्छे अनुहार हेरेर बोल्न पाएपछि खुसी हुदै भन्छिन्,
‘अरु सबै बाटोमा मुखडी (मास्क) लगाएर हिड्छन् म चाहिँ जतिबेला पनि भिडियो कलमा, धेरै छोराछोरी छन् पालैपालो सबैसँग बोल्छु।’
यी माथिका प्रतिनिधि घटना मात्र हुन्। सरकारले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि २६ दिनसम्म लकडाउन गर्दा अधिकांश मानिसहरुले आफ्नो परिवारलाई उचित समय दिन पाएका छन्। यसले गर्दा बृद्धबृद्धामा सकारात्मक असर परेको छ।
छोराछोरी जन्मिँदा निकै खुशी हुने बाबुआमा छोराछोरी हुर्किएपछि उनीहरुले गर्ने व्यवहारबाट प्रायः निराश हुन्छन्। कारण हो, बुढेसकालमा छोराछोरीबाट गरिएको अपेक्षा पूरा नहुनु। अझ छोराबाट आसभरोसा गर्ने बाबुआमा धेरै हुन्छन्।
बुबा आमाको मन छोरा छोरीमा, छोरा छोरीको मन ढुंगामुढामा भने झैँ संधै विभिन्न कारणले आफ्ना बृद्ध बाआमालाई समय दिन नसक्नेहरुले पनि छोरालाई हुकाई बढाई र लेखपढ गराइसकेपछि उसले बुढेसकालमा आफूलाई केही गर्छ भन्ने आशाको त्यान्द्रोले बाआमा बाँच्ने भएकाले उनीहरुको यो आशा केही हदसम्म लकडाउनले समय उपलब्ध गराएर पूरा भएको हो।
बुढाबुढीले झर्कोफर्को गरे भन्ने धेरै छोरा बुहारीको गुनासो हुन्छ। झर्कोफर्को गर्नु त बुढेसकालको लक्षण हो, स्वभाविक रुपमा लिनुपर्छ। शरीर कुप्रनु, दाह्री कपाल फुल्नु, गाला चाउरी पर्नु जस्तै उमेर ढल्केपछि दिमाग पनि बुढो हुने भएकाले यस्ता लक्षण देखिन्छ। बुढो भएपछि निउँ खोज्छ भन्ने चलन छ।
निउँ खोजेको होइन। बुढो भएपछि सबैलाई लोभ लाग्छ। झर्कोफर्को र करकर गर्न मन लाग्छ। यस्तो बेला छोराबुहारी रिसाउन हुँदैन। बाआमा बुढो भएछन् भनेर स्वभाविक रुपमा लिन सक्नुपर्छ। उनीहरुको कुरा सुनिदिनुपर्छ। उनीहरुको मनोभावना बुझेर त्यसै अनुसार काम गर्न जान्नुपर्छ। यी यावत कर्तब्य पनि लकडाउनले सबैलाई सिकाएको छ।







डिसी नेपाल








Facebook Comment