देवि ज्ञवाली भूमि सम्बन्धि आयोगको अध्यक्षमा नियुक्त
काठमाडौं। सरकारले नेकपा केन्द्रीय सदस्य देविप्रसाद ज्ञवालीलाई भूमी सम्बन्धि समस्या समाधान आयोगको अध्यक्षमा नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई भूमी सम्बन्धि समस्या समाधान आयोगको अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।
भरतपुर महानगरपालिकाको मेयर पदमा तत्कालीन एमालेकातर्फबाट उम्मेद्वार बनेका ज्ञवाली तत्कालीन माओवादीका उम्मेद्वार रेणु दाहालसँग पराजित भएका थिए। मतगणनामा अग्रता लिइरहेका ज्ञवाली जित नजिक पुगेपछि माओवादी कार्यकर्ताले मतपत्र च्यातिदिएपछि भरतपुर महानरपालिकाको १६ नम्बर वडामा पुन मतदान भएको थियो।
पुन मतदान भएपछि ज्ञवाली पराजित बनेका थिए। तत्कालीन माओवादी उम्मेद्वार एवं प्रचण्ड पुत्री रेणु दाहाल मेयरमा निर्वाचित भएकी थिइन्।
पछि संसदीय निर्वाचनमा तत्कालीन एमाले र माओवादीबीच वामगठबन्धन गर्दै चुनावमा होमिने निर्णय गरेपछि ज्ञवालीलाई प्रचण्डको चुनाव प्रचार प्रसार गर्ने मुख्य जिम्मेवारी दिइएको थियो। ज्ञवालीले आफूलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको बताएका थिए।
स्थानीय निर्वाचन पछि भएका प्रदेश र संघीय चुनावमा ज्ञवालीलाई अवसर नदिएको भन्दै तत्कालीन एमालेको आलोचना हुँदै आएको थियो। कतिपयले कोमल वलीलाई राष्ट्रियसभा सदस्य बनाउँदा ज्ञवालीलाई उपेक्षा गरेको भन्दै कटाक्ष गरेका थिए।
तर मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी ओलीले ज्ञवालीलाई भूमी सम्बन्धि समस्या समाधान आयोगको अध्यक्षको जिम्मेवारी दिएर न्याय गरेका छन्।







डिसी नेपाल








Facebook Comment