पूर्वउद्याेगमन्त्री जाेशीले भने, मुलुकभित्रकाे संकट समाधान गर्न स्वदेशी उद्याेग चलाउनु पर्छ

डिसी नेपाल
५ वैशाख २०७७ १८:०५

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीले कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै सङ्कटमा फसेका बेला मुलुकभित्रको सङ्कट समाधानका लागि स्वदेशी उद्योग परिचालन गर्न सुझाव दिएका छन् ।

उनले शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई पत्रमार्फत उपलब्ध स्रोत सामग्रीको अधिकतम उपयोग गर्दै स्वदेशी उत्पादनद्वारा राष्ट्र र जनतालाई सहयोग पु¥याउन देशभित्रैका उद्योगलाई प्रोत्साहित गरी वर्तमान समस्या समाधान गर्न सरकार तत्पर रहनुपर्ने सुझाव दिएका हुन्। औद्योगिक क्षेत्रका साथै अन्य अनौपचारिक क्षेत्रमा कार्यरत मजदूर खाद्य सङ्कटका कारण कार्यस्थल छाडेर लामो पैदल यात्रा गरी घरतर्फ जानुपरेको बाध्यतालाई संवेदनशीलताका साथ मनन गरी सरकार र सम्बन्धित उद्योगले मजदूरको सङ्कट तत्काल समाधानमा ध्यान दिनुपर्ने नेता जोशीको सुझाव छ ।

उनले उद्योगी–व्यवसायीसँग छलफल गरी तत्कालै उद्योग सञ्चालन हुने, लगानी नडुब्ने र उद्योग फस्टाउने वातावरण मन्त्रालयले सिर्जना गर्नुपर्ने, उद्यमशीलता, निजी क्षेत्रका लगानी र संयुक्त लगानीका क्षेत्रलाई विश्वास आर्जन हुने गरी सरकारले तत्काल कार्यक्रम ल्याउनुपर्ने पत्रमा उल्लेख गरेका छन् । साथै अतिआवश्यक स्वास्थ्य सामग्री मुलुकभित्रै उत्पादनका लागि स्वदेशी उद्योगहरुसँग सरकारले समन्वय गर्ने र उद्योगीका बीचमा समन्वय गराई अभाव पूर्तिका लागि सक्रिय रहनुपर्ने, सङ्कटमा सहयोग गरेका सबैखाले ठूला तथा साना उद्योगीलाई भविष्यमा कर छुट र ऋणको ब्याजमा सहुलियत दिने व्यवस्था गर्नुपर्ने उनको पत्रमा उल्लेख छ ।

महामारीका रुपमा आएको कोरोना सङ्क्रमणका विरुद्ध प्रभावकारी हुने औषधि नेपालकै औषधि कम्पनीले उत्पादन गरी राहत मूल्यमा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उनले उल्लेख गरेका छन्। सङ्कटका बेला काला बजारिया सक्रिय रहने तथ्यलाई बुझेर सरकाले खाद्य उद्योगसँग सहकार्य गरी अभावको अनुभव नहुने गरी जनताले सहुलियतमा जीवन यापन गर्नसक्ने अवसरको सिर्जना गर्नुपर्ने नेता जोशीको सुझाव छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.