राहत वितरण पक्षपातपूर्ण भएको भन्दै काँग्रेसद्वारा सर्वदलीय अनुगमनको माग
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्तारूढ दलको नेतृत्व रहेका कैयौँ स्थानीय तहमा राहत वितरणमा पक्षपातपूर्ण व्यवहार भएको आरोप लगाउँदै स्थानीय तहमा सर्वदलीय अनुगमनको व्यवस्था गर्न माग गरेको छ ।
काँग्रेस पदाधिकारीको शनिबार बसेको बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि लागू गरिएको ‘लकडाउन’का कारण अप्ठ्यारोमा परेका नागरिकलाई प्रदान गरिँदै आएको राहत वितरण कार्य न्यायोचित, पारदर्शी र व्यवस्थित बनाउन आग्रह गर्दै सो माग गरेको हो । बैठकले केन्द्र र प्रदेश सरकारले घोषणा गरेको राहतको बजेट अझैसम्म निर्धारित क्षेत्र र व्यक्तिसम्म नपुगेको विषयमा सरकारको ध्यानाकर्षण गराउने र तत्काल पु¥याउन आग्रह गर्ने निर्णयसमेत गरेको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
राजधानीलगायतका शहरमा खान बस्न सङ्कट भएपछि पैदल घर फर्किरहेका नागरिकलाई बीच बाटोमा पानी र खानाको व्यवस्था गरिरहेका पार्टीका नेता तथा कार्यकर्ता एवं स्थानीय तहको निर्वाचित नेतृत्वको सराहना गर्दै बैठकले अप्ठ्यारोमा परेका नागरिकलाई गाउँ पुग्ने प्रबन्ध अविलम्ब मिलाउन सरकारलाई पुनःआग्रह गरेको छ । सरकारले व्यवस्थापन गर्न ढिलाइ गरिरहँदा कही पनि कसैलाई पनि बाटोमा भोको पर्न नदिइ गन्तव्यमा पुग्न सहजीकरण गर्न काँग्रेसले आफ्ना नेता कार्यकर्तालाई बैठकले अपिलसमेत गरेको उनले बताए ।
बैठकले साना ठूला सबै व्यवसायीले व्यहोरिरहेको प्रतिकूल स्थितिमा निश्चित अवधिको ब्याज मिनाहादेखि ब्याज घटाउनेसम्मको निर्णयमा पुग्न सरकार र सम्बन्धित तहसमक्ष माग गर्ने निर्णय गरेको छ ।







डिसी नेपाल







Facebook Comment