सामाजिक सद्भाव-कोरोनाले पुनजागृत गरेको शिक्षा
हामी नेपालीहरुमा पारस्परिक सहयोगको भावना अझै बाँकी छ। हामी नेपालीहरु पुनः हाम्रो देशलाई आत्मनिर्भर बनाउन सक्षम छौँ। परिआउँदा सबै एकजुट भएर समस्यासँग जुधेर अघि बढ्न सक्दछौँ भन्ने हामीले प्रमाणित गरेका छौँ।
समाजमा नकारात्मक शक्ति पनि हुन्छ त्यसलाई बेवास्ता गरेर एउटा सुन्दर समाजको निर्माणमा हामी लागिरहनुपर्छ भन्ने पनि बोध गरेका छौँ।
— हिजो हामी ललितपुरको गोदावरी गयौँ। गोदावरी नगरपालिका वार्ड नं. २ का स्थानीय बासिन्दाले सडकका छेउछेऊमा गाईबाच्छाका लागि आवश्यक पराल, घाँस, मकैलगायतका अनाज राखिदिनुभएको थियो।
हामीले ट्रकमा उठाएर ल्यायौँ। जबजब समस्या पर्दछ तबतब हामी सबै नेपालीहरु मिलेर समाधान गर्दछौँ भन्ने एउटा उदाहरण हो यो।
— काठमाडौँ र अन्य क्षेत्रबाट आ–आफ्ना घरतर्फ जान सडकमार्गबाट लम्किरहेका व्यक्तिहरुलाई ठाउँठाउँमा विभिन्न व्यक्तिहरु मिलेर खाना–खाजा खुवाइरहेका छन् – बटुवालाई सोधिरहेका छन् कि कहीँ कतै अप्ठ्यारो परेको छ कि ? अनि बच्चा र बृद्धलाई गाडीमा चढाएर गन्तब्यमा पुर्याइरहेका छन् ।
— युवाहरु स्वयम्सेवाका लागि अगाडि बढिरहेका छन् । आफ्ना वरिपरिका मानवलाई सहयोग र सेवा गर्नका लागि रातदिन खटिरहेका छन् । यी र यस्ता सकारात्मक कथाहरु हामीकहाँ यत्रतत्र छन् ।
— सबै मानिस सकारात्मक विचारधाराका हुन सक्दैनन् । यो हामी मानव र हाम्रो समाजको विशेषता हो । विशुद्ध भावले नभई सेवालाई पेशा बनाउने पनि नदेखिएका होइनन् । पेशेवर सेवकको सेवामा निस्वार्थता हुँदैन । तर यसलाई पनि स्वीकार गरेरै अहिलेको समयमा कर्तव्यपथमा लम्किनुपर्दछ भन्ने शिक्षा पनि वर्तमान समस्याले दिएको छ ।
— बाहिर निस्कँदा संक्रमण फैलिन्छ कि भनेर घरमै बस्नु परेको कारण फुर्सद पनि भएको र ‘के गरौँ के गरौँ’ भएर छट्पटिइरहँदा बाहिर कर्म गर्ने, सेवा गर्नेहरुलाई सामाजिक सञ्जालबाट गाली गर्नेहरु पनि प्रशस्तै छन् । अनि कतिपय सञ्चार माध्यम पनि ‘जे लेखिदिए पनि हुने’, ‘जे भनिदिए पनि हुने’ गरी झुटो र भ्रामक समाचारहरु फैलाइरहेका छन् ।
यो अदृश्य तत्व कोरोनाले आफूलाई पनि लान सक्छ भन्ने हेक्का नभएकाहरु कर्मक्षेत्रमा रहेकालाई गाली गरेर आफ्नो कर्तव्य पूरा गरेको सम्झिरहेका छन् । तर अर्को पक्षबाट हेर्दा यस्ता हतोत्साहित पार्ने नकारात्मक टिकाटिप्पणीरुलाई बेवास्ता गर्दै अगाडि लम्किरहने र झुटो र भ्रामक समाचारबाट जोगिनुपर्छ भन्ने पनि सिकाइरहेका छन् ।
यो कोरोना महामारी यो युगमा आएकोे मानवताको एउटा अपत्यारिलो कहर बनेको छ । अकस्मात रुपमा बेहोर्नु परेको लकडाउनका कारण यथेष्ट तयारी गर्न नपाएकोले केही कष्ट त भइरहेको छ । तर पनि यसले धेरै कुराहरु सिकाइरहेको छ। समग्रमा, हामी नेपालीहरुलाई यो कोरोनाले भविष्यको ऐना पनि देखाइरहेको छ । आत्ममन्थन गर्दै अगाडि बढ्नु परेको छ।
डा. ढकाल पशुपति क्षेत्र विकास काेषका सदस्य सचिव हुन्







डिसी नेपाल








Facebook Comment