कोलोराडोका नेपालीले दुनियाँलाई सिकाए कोरोनासँग सामुहिक लड्ने तरिका

डिसी नेपाल
३ जेठ २०७७ २३:३४

वासिंगटन डिसी । अमेरिकाको विकसित समाजमा समेत कोरोना भाइरस लागेपछि त्यसलाई लुकाएर बस्ने गरिएकोमा कोलोराडोको नेपाली समाजका सबैले रोगको स्वघोषणा गर्दै त्यसको सामुहिक व्यबस्थापन गरेर दुनियांभरका लागि उदाहरण बनेको छ ।

पुष्पा गुरुंगले पहिलोपल्ट फेसबुक पेजबाट आफूलाई कोरोना लागेको स्वघोषणा गरेर शुरु भएको कोलोराडोका नेपालीहरुको यो अभियानमा क्रमश अरुले पनि साथ दिंदै गए । त्यसपछि संजयसिंह केसीको परिवार हुंदै क्रमश अन्यले पनि अव निर्वाध कोरोना संक्रमणको घोषणा शुरुभयो । कोलोराडोस्थित नेपाली घरका उपाध्यक्ष जगदीश ढकालले डिसी नेपालका सन्देशकुमार खड्कासंग कुरा गर्दै भने, कोरोना कुनै गल्ती होइन, कुनै अपराध होइन, आपसी सहयोगले हामी जित्न सक्छौं भन्ने विश्वास भयो ।

के के गरे कोलोराडोबासी नेपालीले जो जसलाई कोरोना लागेको छ उनीहरुले स्वयं घोषणा गरी समाजलाई जानकारी गराउने काम गरे । यसले गर्दा प्रत्यक्षरुपले समाजलाई दुईवटा लाभ भयो । एउटा सोसल डिस्ट्यान्सिंग कायम गर्न मद्धत पुग्यो । दोस्रो कोरोना लागेको व्यक्तिलाई आवश्यक पर्ने खाद्यान्नलगायत औषधिसमेतको व्यबस्था गर्न समाज नै अग्रसर भयो ।

सुबोधविलास पन्त

ढकालले दिएको जानकारीअनुसार, कोलोराडोमा नेपालबाट आएकाहरुको संख्या ४ देखि ५ हजारसम्म छ भने भूटानबाट आएका नेपाली भाषीहरुको संख्या पनि त्यत्तिकै हाराहारीमा छ । जम्माजम्मी ९ देखि १० हजारको संख्यामा नेपालीभाषीहरुको बस्ती रहेको कोलोराडो क्षेत्रमा केही परिवारमा कोरोना देखिएपछि उनीहरुलाई वाहिर निस्कन नपर्ने गरी आवश्यक पर्ने सबै सामग्रीहरु समाजबाटै उपलब्ध गराउने काम भयो । यसका लागि ठाउं ठाउंका सक्रिय व्यक्तिहरुको टाक्सफोर्स बनाइयो ।

सो टाक्सफोर्सले खानादेखि माक्ससम्म संक्रमित व्यक्तिहरुको घर घरमा पुऱ्यादिने काम गऱ्यो । यसले गर्दा संक्रमित र उनको परिवारमा हामीलाई केही पर्दा समाज छ है सहयोग गर्ने भन्ने आत्मविश्वास बढ्यो र यो आत्मविश्वास रोगसंग लड्ने क्षमता बढाउन पनि काम लागेको ठम्याइ त्यहांका नेपालीहरुले गरेका छन् ।

विस्तारै धेरैजसो संक्रमितहरु निको हुंदै गए । सामाजिकरुपमै माक्स बनाउने र वितरण गर्ने काम गरिएको कुराकानीका क्रममा ढकालले बताएका छन् । उनका अनुसार, दिनेश र चुन श्रेष्ठ, नरायण श्रेष्ठ, बालकृष्ण श्रेष्ठ र उत्तरा बराललगायतका नेपालीहरुले माक्स बनाउने काम गरेका थिए भने सो माक्स नेपालीहरुमाझ पुऱ्याउने काम टाक्स फोर्सका सदस्यहरुले गरे ।

ढकालका अनुसार, अहिलेसम्म कोलोराडोमा नेपाली भाषीहरुमध्ये २३ परिवारमा कोरोनाको संक्रमण पुष्टि भएको थियो । जसमध्ये धेरैजसोको परिवार नै निको भइसकेका छन् । अव ३ परिवारजतिमा संक्रमण छ तर उनीहरु पनि निको हुने क्रममा छन् । अत्याधिक सजगता अपनाउंदा अपनाउंदै पनि संक्रमणका ४ जना अभिभावकहरुको देहान्तसमेत भएको छ ।

मृत्यु हुनेहरुमा ३ जना ७० बर्षभन्दा बढी उमेरका थिए भने १ जना ६० बर्षभन्दा बढी उमेरका । मृतक अभिभावकहरुको दाहसंस्कार र अन्तिम संस्कारको काम गर्नलाई पनि मापदण्डहरु तयार गरेर सहभागिता जनाउने र सहयोग गर्ने काम भएको ढकालले बताए ।

आफूलाई लागिसकेपछि समाजका अरुलाई सतर्क गराउंछु भन्ने भावनाको विकास भई स्वघोषणा गर्ने अभियान चलाएपछि आफूलाई बचाउन समाजले सहयोग गरेकोले आफू र समाज सबैलाई बचाउन सकिएको असल उदाहरणका रुपमा कोलोराडोको नेपाली समुदाय परिचित हुन थालेको छ ।

बाल्टिमोर पनि उदाहरण बन्दै

कोलोराडोजस्तै स्वघोषणाको विधि अबलम्बन गर्न र गराउन नसकेपनि बाल्टिमोरमा रहेको नेपालीहरुको साझा संस्था बाल्टिमोर एशोसिएसन अफ नेपाली इन अमेरिका(बाना) ले आवश्यक पर्ने नेपालीभाषीहरुलाई खुला हृदयले सहयोग गर्ने गरेको छ ।

बानका अध्यक्ष सुबोधविलास पन्त र उनको टीम कोरोना पीडित नेपालीहरुको घर घरमा सहायता सामग्री पुऱ्याउन खटिने गरेका छन् । पन्तको समूहले खाना र पानीसमेत घर घरमा पुऱ्याइदिएर पीडितलाई सहयोग गर्दै आएपछि बानालाई आर्थिक अभाव नहोस् भनेर यहांका नेपालीहरुले आफैं घोषणा गर्दै संस्थालाई आर्थिक सहयोग दिन थालेका छन् ।

पन्तको टीमले रोगसंग लड्नका लागि जनचेतान जगाउनेदेखि लिएर औषधि किन्न र नियमित डाक्टरी परिक्षण गर्न नसकेका अभिभावकहरुलाई औषधि खरिद गरेर घरसम्म पुऱ्याइदिने कामसमेत गरेको छ ।

ढकालसंगको कुराकानी तलको लिंकमा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *