लिम्पियाधुरासहितको नेपालको नक्सा मन्त्रिपरिषदद्वारा स्वीकृत

डिसी नेपाल
५ जेठ २०७७ १९:३७

काठमाडौं । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ । भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरासहितको नक्सा सोमबार (आज) बसेको मन्त्रिपरिषद बैठकले पारित गरेको हो।

जेठ २ गतेको सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति नै लिम्पियाधुरासहित समेटेर नेपालले नक्सा जारी गर्ने जानकारी गराएकी थिइन् । कालापानी, लिम्पियाधुरा र लिपुलेक सहितको नक्सा जारी गर्ने प्रतिवद्धता संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा जनाइएको थियो । सोमबारबो बैठकमा भूमिसुधार मन्त्रालयले लगेको प्रस्तावमा निर्णय कार्यान्वयनमा आएको एक मन्त्रीले डिसीनेपाललाई बताए ।

कोरोना कहरकाबीच भारतले तिब्बतको मानसरोवर जान लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै बनाएको सडक उद्घाटन गरेपछि दुई देशको सीमा विवाद पुनः सतहमा आएको हो।

यसअघि, भारतले सन् २०१९ को नोभेम्बरमा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतमा देखाउँदै आफ्नो नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । त्यसको नेपालमा चर्को विरोध मात्र भएन, संसदीय समितिहरुले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो ।

अहिले पनि सरकारलाई नेपाली भूभागसहितको नयाँ नक्सा जारी गर्न चौतर्फी दवाव आएको छ । तर, आइतबारको प्रतिनिधि सभामा सांसद् सरिता गिरीले भारतलाई नसोधेर नक्सा जारी गर्न नहुँने विवादास्पद धारणा राखेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.