पाँचखाल बृहत् खानेपानीको ठेक्काः नेपाली र चिनियाँ कम्पनी छनौट

डिसी नेपाल
१७ जेठ २०७७ १६:५८

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकामा सञ्चालन हुने सुनकोशी–पाँचखाल बृहत् खानेपानी आयोजनाको ठेक्काका लागि नेपाली र चिनियाँ कम्पनीलाई छनोट गरिएको छ । आयोजनाको ठेक्का सम्झौता प्रक्रियामा रहेको जनाइएको छ ।

आयोजनाका लागि नौ निर्माण कम्पनीले प्रस्ताव पेस गरेका थिए । नौमध्ये नेपाली कम्पनी कन्काइ विल्डर्स र चिनियाँ कम्पनी हुवाछे (ज्वाइन्ट भेन्चर) छनोट गरिएको नेपाल सरकार शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाका उपनिर्देशक रामकुमार श्रेष्ठले बताए । उनले प्राविधिक र आर्थिक मूल्याङ्कनपछि ज्वाइन्ट भेन्चर कम्पनी छनोट गरी आयोजनाको ठेक्का सम्झौता प्रक्रियामा रहेकोसमेत जानकारी दिए ।

श्रेष्ठका अनुसार सम्भवतः छनोट कम्पनीको स्वीकृतका लागि भोलि एशियाली विकास बैंक (एडिबी)को मुख्यालय फिलिपिन्सको मनिला पठाइनेछ । “एडिबी मुख्यालयको अध्ययनपछि नै निर्माण कम्पनी छनोट भएकाले उसले कम्पनीको स्वीकृत गरेपछि आयोजनाको ठेक्का सम्झौता हुनेछ”, श्रेष्ठले भने । प्राविधिक र आर्थिक मल्याङ्कनपछि सार्वजनिक खरिद ऐनअनुसार कम लागतमा निर्माण सक्ने प्रस्तावक नेपाली कन्काइ र चिनियाँ हुवाछे ज्वाइन्ट कम्पनीलाई छनोट गरिएको आयोजनाले जनाएको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण परियोजनाको प्रक्रिया लम्बिएको हो । परियोजनाको २०७६ भदौ १२ गते तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा खानेपानी आयोजनाअन्तर्गत शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिएको थियो । सम्झौताका अढाइ वर्षमा आयोजनाको काम सक्ने जनाइए पनि अब समयावधि लम्बिने देखिएको छ ।

आयोजनाका अनुसार आउँदो जुन महिनाभित्र निर्माणको काम शुरु भइसक्ने श्रेष्ठले बताए । उनले कोरोना सङ्क्रमणका उच्च जोखिमका कारण प्रक्रियामा केही ढिलाइ भए पनि ठेकेदार कम्पनीसँग सम्झौतालगत्तै निर्माणका काम अघि बढ्ने बताए । आयोजना रु दुई अर्ब २१ करोडको लागतमा अढाइ बर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको थियो । श्रेष्ठका अनुसार आयोजनाअन्तन्र्गत नेपालमा सञ्चालित खानेपानी योजनामध्ये पाँचखाल–सुनकोशी–पाँचखाल बृहत् खानेपानी सबैभन्दा ठूलो हो ।

नेपाल सरकार, नगर विकास कोष, एशियाली विकास बैंक (एडिबी) र उपभोक्ताको लागतमा परियोजना सम्पन्न हुनेछ । आयोजना सम्झौताको शर्तअनुसार कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन् । जसअनुसार पाँचखालका प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा रु १८ हजार जम्मा गरिसकेका छन् । एडिबीले निर्माण कम्पनी स्वीकृत गरेपछि खानेपानी आयोजनाको काम तीव्र गतिमा अघि बढाइने काभ्रेपलाञ्चोकका प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री बाँस्कोटाले बताए । “एडिबीले ठकेदार कम्पनीका स्वीकृतपछि सम्झौतालगत्तै खानेपानी आयोजनाको काम तीव्र गतिमा अघि बढाइनेछ”, उनले भने । उनले निरन्तर निर्माणले लक्ष्यअनुसारको समयसीमासम्ममा आयोजना सम्पन्न गर्ने अपेक्षा लिइएको बताए । उनले भने, “निर्माणमा आवश्यक जनशक्ति परिचालन गरिनेछ, लक्ष्यअनुसारको समयमै पाँचखालका बासिन्दालाई खानेपानी उपलब्ध गराइनेछ ।”

खानेपानीका लागि भुम्लु गाउँपालिका–१० स्थित इन्द्रावती नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधि निर्माणका लागि सडक पु¥याउन पाँचखाल नगर कार्यालयद्वारा सर्भेको काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताए । परियोजनाबाट पाँचखाल नगर क्षेत्रका करिब सात हजार उपभोक्ता लाभान्वित हुनेछन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.