अमेरिकाबाट बालेन्द्र शाहलाई कविता

कवीन्द्र सिटौला
२३ फागुन २०८२ २०:५२
3.9k
Shares

अमेरिकाबाट कवि तथा साहित्यकार कविन्द्र सिटौलाले काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन शाह निर्वाचित भई टुकुचा खोलाको अतिक्रमण विरुद्ध साहसी कदम चाल्न थालेको ऐतिहासिक क्षणमा रचना गरिएको आफ्नो कविता पुनःप्रकाशन गरेका छन्। त्यो समयको आशा, परिवर्तनको चाहना र नगरको स्वाभिमानलाई अभिव्यक्त गर्ने उक्त कविता आज फेरि पाठकमाझ ल्याइएको हो।

“टुकुचाहरू खोजौँ”

हे नेपालीहरू,
हे नेपालका ज्योति र आत्माहरू !
सुन्नुहोस् त-
कान्तिपुरमा हराएको टुकुचा भेटिएछ रे!
काष्ठमण्डपको गर्भदेखि नै बगेको टुकुचा भेटिएछ रे!
नेपालकै हृदयमा हराएको टुकुचा भेटिएछ रे!
काठमाडौँको आत्मामा सुतिरहेको टुकुचा फेरि बगेछ रे!

हो, हराएका धरोहरहरू यसरी नै भेटिँदै जान्छन्,
यदि हामी खोज्न साहस जुटाउँछौं भने
अरू धेरै अमूल्य सम्पदा भेटिन्छन्-
लुकाइएका सत्यहरू भेटिन्छन्,
लुटिएका इतिहासहरू भेटिन्छन्,
भ्रष्टहरूको छायाँ भेटिन्छ,
र त्यससँगै,

बालेनहरूको मार्तोल र डोजरले
मेटिँदै जान्छन् कालो योजनाहरू,
मेटिँदै जान्छन् पापका इतिहासहरू।

हो,
हराएका टुकुचाहरू भेटिनैपर्छ,
भ्रष्टहरूको पाइला मेटिनैपर्छ
हाम्रो पश्चिममा महाकाली बग्छ
तर सोधौँ, साँच्चै महाकाली हाम्रो छ त?
महाकालीको शिर लिम्पियाधुरा
अझै हामीसँग छ त?
टुकुचा मात्र होइन,
अब हामी महाकालीको शिर पनि खोज्नैपर्छ
लिम्पियाधुरा हाम्रो हो
त्यो सीमारेखा हामीले फर्क्याउनै पर्छ।

विशाल नेपालको गौरवशाली इतिहास,
टिष्टा र काँगडाको साक्षी इतिहास-
मेटिएको इतिहास होइन,
फेरि लेखिनुपर्ने इतिहास हो
हामी यसरी नै जुट्यौँ भने
फेरि पुर्खाको हातमा उठ्नेछ
टिष्टामा धोएको खुकुरी,
र बज्नेछ विजयको नगारा!
आऊ-
मेचीलाई छोऔँ, कालीलाई नमन गरौँ
कोशी, गण्डकी, कर्णालीका धाराहरूमा
टुकुचा खोजेझैँ सत्य खोजौँ
नेपालका जलधारा, पोखरी, झरना र माटोमा
लुकेको आत्मा भेटौँ ।

पुर्खाको गरिमा बोकेको
रगत र पसिना बगेको
कतै माटो हराएको छ कि !
कतै हराएको छ कि हाम्रो पहिचान?
कतै हराएको छ कि हाम्रो पहिरन?
कतै हराएको छ कि पुर्खाको इमान,
देशको स्वाभिमान, देशभक्ति र धर्म?
आऊ-
कतै सभ्यता धर्म र सस्कृति हराएको छ कि !
कतै इमान, स्वाभिमान, देशभक्ति र राष्ट्रियता हराएको छ कि !
सुई खोजेझैँ खोजौँ हाम्रो आत्मा,
टुकुचा खोजेझैँ खोजौँ हाम्रो आत्मसम्मान।

सबै राम्रा कुरा भेटाऔँ, नराम्रा मेटाऔँ,
विकृतिलाई निमिट्यान्न पारौँ
हराएको सभ्यता र संस्कार भेटौँ,
टुट्दै गएको एकता र अखण्डता बचाऔँ
शान्ति, सुख र समृद्धिको हराएको स्वर
फेरि गुञ्जाऔँ
यो शिवभूमि, ऋषिभूमि, तपोभूमि-
यो पवित्र ज्ञान र अलौकिक ध्यानको भूमि,
यो बुद्ध जन्मभूमि नेपाल-
यहाँ हराएको छ आत्मिक शान्ति,
त्यो भेट्नुछ
यहाँ हराएको छ प्रेम, योग, ध्यान र ज्ञान-
सब भेट्नुछ

“वसुधैव कुटुम्बकम्”,
“बुद्धं शरणं गच्छामि”,
“जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी”,
“सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली…”
“बनेको छ पहराले यो छाती मेरो,
बगेको छ छहरा रगतमा मेरो…..”
यी अक्षरहरू फेरि स्वर्णमा लेख्नुछ।

अब उठौँ-
सगरमाथा भएर, नेपाली सौर्य भएर,
धरतीको जुन कुनामा भए पनि
नेपाली जाति नेपाली भाषी एउटै नेपाली भएर उठौ
“मात्र नेपाली” भएर उठौँ
नेपाल आमाका वीर सन्तान भएर उठौँ,
नेपालीका लागि, नेपालीपनका लागि उठौँ
सभ्यताको मार्गदर्शक भएर उठौँ-
वेदभूमिबाट विश्वलाई ज्ञान पठाऔँ
प्रेमको सन्देश बनेर उठौँ
अहिंसा र शान्तिको सन्देश लिएर
बुद्धको जन्मभूमिबाट बोलौँ
मानवताको मार्ग देखाऔँ

अब पक्कै नरोकिने हो-
सर्वत्र हराएका टुकुचाहरू खोज्न उठौँ
लुटिएका सम्पदाहरू फर्काउन जुटौँ।
टुकुचा भेटाउने बालेनहरू खोजौँ
किनकि
कतै अझ सयौं बालेनहरू सुतेका छन्, उनीहरूलाई ब्युझाउँ
खोज्दै जाँदा
रविको सपना र गति भेटिन्छ,
गोपीका छविहरू झल्किन्छन्,
हर्कको श्रम र पसिनामा देशको सुगन्ध पाइन्छ,
महावीरको आविष्कार छुन सकिन्छ,
सन्दुकको दृष्टि र समर्पण, कुलमानको उज्यालो फेरि चम्कन सक्छ।

अझ खोज्दै खोज्दै जाँदा-
प्रजातन्त्रका लागि रगत पसिना बगाएका,
गणतन्त्रको बलिदान पछि उज्यालो भोरका लागि आँधीपाखा छेकेका,
तराई-मधेश-पहाड आफ्नो अधिकारका लागि अडिग उभिएका,
न्यायका पक्षमा निर्भीक भएर आवाज उठाएका,
भ्रष्टाचारको अन्धकारसँग युद्ध गरेका,
परिवर्तनको नयाँ दिनका लागि आत्मा र स्वप्ना जलाएका,
नयाँ नेपालको शिल्प तयार पार्न रातदिन अहोरात्र खटिरहेका
यस्ता हजारौँ राष्ट्रप्रेमी, ज्वलन्त सोच भएका, परिवर्तनमा होमिएका देशभक्तहरू, युवाहरू
कतै न कतै भेटिन सक्छन् !

अझ खोज्दै जाँदा,
हरेक सिद्धान्त, पार्टीभित्र वा स्वतन्त्र रूपमा
नेपाललाई मुटुमा बोकेर हिँडिरहेका
लाखौं युवाहरूको पवित्र सङ्कल्प भेटिन सक्छ
जसले मातृभूमिलाई उज्यालो बनाउन
सपनासँगै पसिना बगाइरहेका छन्।

अनी
नारीहरूको शक्ति,
सैनिकहरूको राष्ट्रसर्पण,
र देशप्रेमीहरूको सहभागिता र समर्पणले
फेरि इतिहास लेख्नेछ
किनभने- सबैलाई भेटिएपछि शक्तिपुञ्जको निर्माण हुन्छ।
बालेनहरू र युवाहरू जनताका आवाज हुन्-ध्वनि हुन्,
सहिदहरूका सन्देश हुन्
परिवर्तनका संकेत हुन्
उनीहरूलाई नछेक, नरोक।
अब-
टुकुचाहरू नछोप,
बग्न देऊ स्वच्छताका धाराहरू
टुकुचाहरूलाई स्वतन्त्र बग्न देऊ-
जसरी सत्य बग्नुपर्छ,
जसरी आत्मा स्वतन्त्र हुन्छ।

हे नेपालीहरू,
हे नेपालका ज्योति आत्माहरू-
सुन्नुहोस् त !
कान्तिपुरमा हराएको टुकुचा भेटिएछ रे !
काष्ठमाण्डपमा हराएको टुकुचा भेटिएछ रे !
नेपालको मुटुमा हराएको आत्मा,
पवित्र जल
अब फेरि बग्न थालेको छ,
फेरि बग्न थालेको छ !


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *