नेपालको राजनीतिमा भूकम्प ल्याउने ‘कटवाल प्रकरण’ : प्रधानमन्त्री निवास बालुवाटारलाई सेनाले घेरेको क्षण

डिसी नेपाल
१० कार्तिक २०८३ १३:१५

काठमाडौं। प्रथम निर्वाचित सरकार र सैनिक नेतृत्वबीचको टकरावका कारण २०६६ साल वैशाखमा नेपाली राजनीतिमा आएको महाभूकम्प र तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवाललाई बर्खास्त गर्ने प्रयासका क्रममा सिर्जना भएको अकल्पनीय परिस्थितिको नयाँ तथ्य उजागर भएको छ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटारमा कटवाललाई बर्खास्तगीको पत्र थमाउने तयारी गरिरहँदा नेपाली सेनाको भैरवनाथ गणले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई नै घेराउ गरेको खुलेको छ।

तत्कालीन राष्ट्रपति डा. रामवरण यादवका स्वकीय सचिव ललित बस्नेतले पत्रकार सुधीर शर्मासँगको   अन्तर्वार्ता अनि अब  कार्यक्रमका  क्रममा १६ वर्षअघिको उक्त संवेदनशील घटनाक्रमको पर्दाफास गरेका हुन्।

बस्नेतका अनुसार, तत्कालीन अवस्थामा यदि प्रधानमन्त्री निवासभित्र कुनै अप्रिय घटना घटेको खण्डमा भित्ता भत्काउनेसम्मका भारी उपकरण (मेसिन) र भर्‍याङसहित सेनाको विषेश टोली बालुवाटार परिसर बाहिर तयारी अवस्थामा तैनाथ गरिएको थियो।

टकरावको पृष्ठभूमि र सेना पठाउने रणनीति

माओवादी लडाकुहरूलाई नेपाली सेनामा समायोजन गर्ने विषय, सेनामा नयाँ भर्ना प्रक्रिया रोक्न सरकारले दिएको निर्देशन तथा सैनिक मुख्यालयद्वारा केही रथीहरूको म्याद थप गर्न गरिएको सिफारिसका कारण नागरिक सरकार र सैनिक नेतृत्वबीच तिक्तता उत्कर्षमा पुगेको थियो। सरकारको आदेश पालना नगरेको आरोप लगाउँदै तत्कालीन प्रधानमन्त्री प्रचण्ड कटवाललाई पदबाट हटाउने निष्कर्षमा पुगेका थिए।

तत्कालीन राष्ट्रपति डा.रामवरण यादवको स्वकीय सचिव रहेका ललित बस्नेत

यता, कटवाललाई बालुवाटार बोलाइएपछि राष्ट्रपति कार्यालयमा भने अर्कै आशंका जन्मिएको थियो। “प्रधानमन्त्रीले कटवाललाई बोलाएपछि वाइसीएल लगाएर उहाँलाई नियन्त्रणमा लिइने हो कि भन्ने डर थियो,” बस्नेतले स्मरण गर्दै भनेका छन्, “त्यसपछि मैले तत्कालै सेनाका तत्कालीन बलाधिकृत रथी छत्रमान सिंह गुरुङलाई फोन गरी प्रधानसेनापतिको सुरक्षाबारे चासो व्यक्त गरेँ। लगत्तै १० मिनेटमै उहाँले फोन गरेर भैरवनाथ गणले बालुवाटार क्षेत्रलाई ‘लोकेट’ गरिसकेको जानकारी दिनुभयो।”

यसरी कटवाल बालुवाटार प्रवेश गरेलगत्तै सम्भावित खतरासँग जुध्नका लागि सैनिक टोली पर्खाल नाघ्न भर्‍याङ र पर्खाल फुटाउने यन्त्रसहित बालुवाटार घेर्न पुगेको थियो।

बालुवाटारभित्रको समानान्तर घटनाक्रम

२०६६ वैशाख २० गते प्रचण्डले तत्कालीन रथी कुलबहादुर खड्कालाई पहिले बालुवाटार बोलाएका थिए। त्यसपछि मात्रै कटवाललाई बोलाइयो। प्रचण्डले कटवाललाई बालुवाटारको एउटा कोठामा कफी दिएर राखेका थिए भने अर्को कोठामा रथी खड्कासँग छलफल चलाएका थिए।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रचण्डले रथी खड्कालाई कामु प्रधानसेनापतिको नियुक्ति पत्र सुम्पे भने कटवाललाई बर्खास्तगीको पत्र थमाउने प्रयास गरे। तर, बर्खास्तगीको पत्र समात्नुअघि कटवालले बालुवाटारबाटै राष्ट्रपति कार्यालयमा सम्पर्क गरी सो पत्र बुझ्ने वा नबुझ्नेबारे परामर्श मागेका थिए। उत्तरमा शीतल निवासबाट उनलाई ‘सिधै सैनिक मुख्यालय (हेडक्वाटर) गएर कमान्ड सम्हाल्न’ स्पष्ट निर्देशन दिइयो।

शीतल निवास र बालुवाटारबीचको शक्ति सङ्घर्ष

कटवाललाई हटाउने कदम चाल्नुअघि प्रचण्डले राष्ट्रपति डा. यादवसँग पटक-पटक परामर्श गरेका थिए। डा. यादवले निर्वाचित सरकारलाई सैनिक नेतृत्वसँग नउल्झिन र कटवाललाई नहटाउन सल्लाह दिएका थिए।

तर प्रचण्ड आफ्नो अडानमा कायम रहे। प्रचण्डले ‘मैले प्रधानसेनापतिलाई फ्याँके भने तपाईं के गर्नुहुन्छ?‘ भनी सोद्धा डा. यादवले ‘कि म संसद् पठाउँछु, कि अदालत पठाउँछु’ भन्दै चेतावनी दिएका थिए।

सेनापति हटाउने निर्णयमा तत्कालीन सत्ता साझेदार दल नेकपा एमालेसमेत सहमत थिएन। कटवालमाथि कारबाही गर्ने निर्णय हुनासाथ एमालेले सरकारबाट फिर्ता हुने घोषणा गर्‍यो भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस विरोधमा उभियो। लगत्तै संसद्मा रहेका १८ राजनीतिक दलका शीर्ष नेताहरू शीतल निवास पुगेर प्रधानमन्त्रीको उक्त कदम रोक्न राष्ट्रपतिसँग जोडदार माग गरे।

बस्नेतका अनुसार प्रधानमन्त्री प्रचण्डले उक्त कदम चाल्दा नेपाल प्रहरी वा सेनाभन्दा पनि सशस्त्र प्रहरी बलका तत्कालीन महानिरीक्षक सनत बस्नेतको सहयोग र सुरक्षामा भर परेका थिए।

मध्यरातिको त्यो ऐतिहासिक निर्णय र सरकारको पतन

मन्त्रिपरिषद्को निर्णय सच्याउन राष्ट्रपति डा. यादवले प्रधानमन्त्री कार्यालयमा पत्र पठाएका थिए। तर, बालुवाटारबाट त्यसको कुनै सकारात्मक जवाफ आएन। परिस्थिति नियन्त्रणबाहिर जान थालेपछि वैशाख २० गते राति करिब ११ बजे राष्ट्रपति कार्यालयले कटवाललाई प्रधानसेनापति पदमा पुनःबहालीसम्बन्धी पत्र तयार गर्‍यो।

तर, उक्त संवैधानिक र राजनीतिक रूपमा अत्यन्तै संवेदनशील पत्रमा हस्ताक्षर गर्न राष्ट्रपति कार्यालयका सचिव  वा प्रशासनका अन्य प्रशासनिक सचिवहरूले अस्वीकार गरे। अन्ततः डा. रामवरण यादव स्वयंले आफ्नो विशेषाधिकार प्रयोग गर्दै सो पत्रमा हस्ताक्षर गरी कटवाललाई पदमै कायम राखे।

यस घटनाको भोलिपल्ट अर्थात् २०६६ वैशाख २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशबासीका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिए। “राजीनामा बुझाउन वैशाख २१ गते शीतल निवास आउँदा प्रचण्ड निकै आक्रोशित देखिनुहुन्थ्यो,” बस्नेतले भने, “उहाँको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भएसँगै तत्कालीन माओवादी नेतृत्वको ९ महिने सरकार ढलेको थियो।”

नेपाली राजनीतिमा नागरिक सर्वोच्चता र संवैधानिक सीमाको बहस छेड्ने यो ‘कटवाल प्रकरण’ सैन्य शक्ति र राजनीतिक शक्तिबीचको टकरावको इतिहासमा अहिलेसम्मकै सबैभन्दा संवेदनशील र नाटकीय मोडका रूपमा दर्ता छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *