विश्व बजारमा घट्यो सुन र चाँदीको मूल्य: यस्ता छन् मूल्य घट्नुका मुख्य कारण
काठमाडौं।अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातु सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट दर्ता भएको छ। किट्को डटकमका अनुसार पछिल्लो कारोबारमा सुनको मूल्य प्रतिऔंस ५५.७० डलर अर्थात् १.३५ प्रतिशतले घटेर ४ हजार ८४.५० डलरमा झरेको छ।
यसअघिको बन्द मूल्य प्रतिऔंस ४ हजार १३९.९० डलर रहेकोमा निरन्तरको दबाबका कारण सुनको मूल्यमा यो कमी आएको हो। अक्टोबर १९ मा प्रतिऔंस ४ हजार १३९.९० डलरमा कारोबार बन्द भएको सुन अक्टोबर २० मा घटेर ४ हजार १२४.१० डलरमा पुगेको थियो भने अक्टोबर २२ मा आइपुग्दा थप घटेर ४ हजार ८४.५० डलरको विन्दुमा आइपुगेको छ। यसले विश्व बजारमा सुनको मूल्य लगातार दबाबमा रहेको प्रस्ट पार्छ।
यता, सुनको तुलनामा चाँदीको मूल्यमा भने अझ ठुलो गिरावट देखिएको छ। किट्कोको तीनदिने विवरण अनुसार चाँदीको मूल्य प्रतिऔंस २.१० डलर अर्थात् ३.६३ प्रतिशतले घटेर ५५.७५ डलरमा सीमित भएको छ।
अक्टोबर १९ मा प्रतिऔंस ५६.९७ डलरमा बन्द भएको चाँदी अक्टोबर २० मा सामान्य बढेर ५७.८८ डलर पुगेको देखिए पनि पछिल्लो उपलब्ध तथ्याङ्क अनुसार अक्टोबर २२ मा पुनः तीव्र गिरावट आउँदै ५५.७५ डलरमा झरेको हो।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा हुने यस प्रकारको उतारचढावलाई कच्चा तेलको मूल्य, मुद्रास्फीतिको अवस्था, अमेरिकी डलरको मजबुती तथा अमेरिकी फेडरल रिजर्भको मौद्रिक नीतिले प्रत्यक्ष प्रभाव पारिरहेका हुन्छन्।
कच्चा तेलको मूल्य बढ्दा उत्पादन तथा ढुवानी लागतमा दबाब परी मुद्रास्फीतिको चिन्ता बढ्ने र त्यसले गर्दा केन्द्रीय बैंकहरूले ब्याजदर लामो समयसम्म उच्च राख्न सक्ने अनुमान लगानीकर्ताहरूले गर्छन्।
ब्याजदर उच्च रहने अपेक्षाले नियमित ब्याज वा प्रतिफल नदिने सुन र चाँदीजस्ता सुरक्षित मानिएका धातुहरूप्रतिको आकर्षण घटाउने गर्छ। यसका साथै अमेरिकी डलर बलियो हुँदा डलरमा कारोबार हुने यी धातुहरू अन्य मुद्रा भएका देशका लगानीकर्ताका लागि महँगो पर्न जाने भएकाले पनि बजारमा माग घटेर मूल्यमा दबाब सिर्जना भएको हो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment