आइएमईको आफ्नै होटल ब्रान्ड ‘इला’, अन्तरराष्ट्रियस्तरको सेवा आधा मूल्यमा दिने दाबी

डिसी नेपाल
३ कार्तिक २०८३ ८:१७
28
Shares

चितवन। आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालमा अन्तरराष्ट्रियस्तरको आतिथ्य सेवा विस्तार गरिरहेको जनाएको छ। अन्तरराष्ट्रिय होटल ब्रान्डको तुलनामा करिब ५० प्रतिशत कम शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराउँदै पर्यटन प्रवर्द्धन र पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिइएको समूहले जनाएको हो।

नवलपुरको गैँडाकोटस्थित इला रिसोर्टमा सोमबार आयोजित पत्रकार अन्तरक्रियामा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमै अन्तरराष्ट्रियस्तरको होटल सेवा उपलब्ध गराउने उद्देश्यले आफ्नै ब्रान्ड ‘इला’ सञ्चालनमा ल्याइएको बताए। उनका अनुसार समूहले आफ्नो व्यावसायिक सञ्जाल, अनुभव र दक्ष जनशक्तिको उपयोग गर्दै स्वदेशी होटल ब्रान्डलाई अन्तरराष्ट्रिय चेन होटलसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउने लक्ष्य लिएको छ।

“अन्तरराष्ट्रियस्तरको सेवा हामीले सर्वसुलभ रूपमा दिएका छौँ,” अध्यक्ष ढकालले भने, “हामीसँग यत्रो नेटवर्क र अनुभव छ भने आफ्नै होटलको सञ्जाल किन नबनाउने भन्ने सोचका साथ इला सञ्चालनमा ल्याएका हौँ।”

आइएमई हस्पिटालिटीले हाल नवलपुरको गैँडाकोटमा ६५ कोठाको इला रिसोर्ट, हर्कपुरमा ३५ कोठाको इला कम्फर्ट र बागलुङ बजारमा ३० कोठाको इला कम्फर्ट सञ्चालन गरिरहेको छ। पोखरामा ३५ कोठाको ‘द लेक साइड रिट्रिट’ पनि सञ्चालनमा छ।

त्यसैगरी, कैलालीमा सुरुमा २० कोठा र पछि थप ६५ कोठा विस्तार गर्ने योजनासहित इला लज सञ्चालनको तयारी भइरहेको छ। पाल्पाको वसन्तपुरमा १२० कोठाको इला रिसोर्ट तथा काठमाडौंको लाजिम्पाटमा १०० कोठाको इला होटल सञ्चालनमा ल्याउने तयारी गरिएको छ। समूहअन्तर्गतको चन्द्रागिरि हिल्स रिसोर्टमा १२० कोठा रहेका छन्।

अध्यक्ष ढकालका अनुसार होटलमा कार्यरत ३० प्रतिशतभन्दा बढी कर्मचारीले विदेशमा काम गरेको अनुभव हासिल गरेका छन्। दक्ष जनशक्ति उत्पादन गर्न हस्पिटालिटीले आफ्नै प्राविधिक तालिम केन्द्र ‘काठमाडौं टेक्निकल स्कूल’ सञ्चालन गर्दै आएको छ। उक्त केन्द्रबाट तालिम प्राप्त कुक, वेटर तथा हाउसकिपिङसम्बन्धी जनशक्तिले समूहका होटलमा सेवा दिइरहेका छन्।

ढकालले चन्द्रागिरिमा केबलकार, पाँचतारे रिसोर्ट, थिमपार्क, थ्रिडी पार्क तथा धार्मिक संरचनासहितका पर्यटकीय पूर्वाधार निर्माणबाट प्राप्त अनुभवलाई देशभर विस्तार गर्ने योजना रहेको बताए। सातै प्रदेशमा यस्ता पूर्वाधार विकास गर्न सके नेपाल आउने पर्यटकको बसाइ अवधि दोब्बर बनाउन सकिने उनको विश्वास छ।

उनका अनुसार पर्यटकीय गन्तव्यमा होटल, केबलकार तथा मनोरञ्जनका पूर्वाधार निर्माण गर्दा पर्यटकको बसाइ लम्ब्याउन र पर्यटन गतिविधि विस्तार गर्न सहयोग पुग्छ। तराईको गर्मीबाट राहत लिन पहाडी क्षेत्रमा पुग्ने पर्यटक, वन्यजन्तु सफारीमा रुचि राख्ने पर्यटक तथा धार्मिक गन्तव्यमा जाने पर्यटकलाई एउटै पर्यटन सञ्जालमा जोड्ने योजना समूहले अघि सारेको छ।

ढकालले व्यवसाय विस्तार गर्दा सरकारको प्राथमिकता, सर्वसाधारणको चाहना र व्यावसायिक दिगोपनलाई मुख्य आधार बनाइएको बताए। उनका अनुसार सरकारले प्राथमिकता दिएका क्षेत्रमा लगानी गर्ने, सर्वसाधारणको आवश्यकताअनुसारका परियोजना अघि बढाउने र दीर्घकालीन रूपमा व्यवसायलाई दिगो बनाउने तीन सिद्धान्तका आधारमा समूहले काम गरिरहेको छ।

निजी क्षेत्रको पूँजी परिचालनबाट नेपालमै ठूला पर्यटकीय परियोजना सञ्चालन गर्न सकिने उल्लेख गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका ढकालले यस्ता लगानीले रोजगारी सिर्जना गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

आइएमई समूहअन्तर्गत चन्द्रागिरि, मौलाकालिका र लुम्बिनी केबलकार सञ्चालनमा छन्। कैलालीको चिसापानीमा जालपादेवी केबलकार सञ्चालन गर्ने तयारी भइरहेको छ भने पाथीभरामा केबलकार निर्माणको काम करिब ६० प्रतिशत पूरा भएको समूहले जनाएको छ। देवघाटबाट मौलाकालिका जोड्ने केबलकार निर्माणको काम पनि अघि बढाइएको छ। कास्कीको सिक्लेसमा केबलकार निर्माण प्रक्रिया अगाडि बढाइएको छ।

त्यसैगरी, कर्णालीको रारामा होटल सञ्चालन गर्ने तयारी भइरहेको छ भने मधेस प्रदेशमा पर्यटकीय पूर्वाधार निर्माणका लागि अध्ययन भइरहेको छ।

इला हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण थापाले दक्ष कर्मचारी, आधुनिक सुविधा र गुणस्तरीय सेवामार्फत अन्तरराष्ट्रिय चेन होटलको तुलनामा करिब ५० प्रतिशत कम शुल्कमा सेवा उपलब्ध गराइरहेको बताए।

विदेशमा हासिल गरेको ज्ञान र सीपलाई स्वदेशमा उपयोग गर्ने उद्देश्यले अनुभवी जनशक्तिलाई होटल सेवामा जोडिएको उनको भनाइ छ। थापा स्वयंले पनि विदेशमा २० वर्ष हस्पिटालिटी क्षेत्रमा काम गरेर नेपाल फर्किएका हुन्। नेपालका टाइगर प्यालेस, सिजी हस्पिटालिटी, याक एन्ड यती तथा सिद्धार्थ हस्पिटालिटीमा काम गरेको अनुभवपछि उनी इला हस्पिटालिटीमा आबद्ध भएका हुन्।

इलाका होटलहरू रमणीय तथा पर्यटकीय सम्भावना भएका स्थानमा रहेकाले आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने थापाको विश्वास छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *