एनपीएल-३ को अफिसियल टेलिकम पार्टनरमा नेपाल टेलिम्याक्स रहने, क्यान र टेलिम्याक्सबीच सम्झौता

डिसी नेपाल
१ कार्तिक २०८३ १७:५८

काठमाडौं। आगामी २०८३ कात्तिक ९ गतेदेखि १५ गतेसम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन हुने नेपाल प्रिमियर लिग-३ (एनपीएल-३) प्रतियोगितामा नेपाल टेलिम्याक्स अफिसियल टेलिकम पार्टनरका रूपमा रहने भएको छ।

सोसम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिम्याक्सको तर्फबाट प्रबन्ध निर्देशक सुनिल कार्की (अपर्ण) र नेपाल प्रिमियर लिग-३ को आयोजक नेपाल क्रिकेट संघ (क्यान) को तर्फबाट अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गरेका छन्।

नेपाल टेलिम्याक्सको केन्द्रीय कार्यालयमा आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल टेलिम्याक्सको तर्फबाट मुख्य प्राविधिक अधिकृत डिल्लीरमण अधिकारीले राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलोपटकबाटै सहयोग गर्दै आएको स्मरण गर्दै कम्पनीको ब्रान्ड ओझ बढाउन मात्र नभई नेपालमा क्रिकेट खेललाई संस्थागत रूपमा थप प्रवर्धन गर्नका लागि पनि यो सहकार्य उपयोगी हुने विश्वास व्यक्त गरे। यसले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वलाई समेत व्यवहारमा लागू गर्न र दुई संस्थाबीचको सहकार्यलाई बलियो बनाउन भूमिका खेल्ने उनले बताए।

कार्यक्रममा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टेलिम्याक्सजस्तो प्रतिष्ठित ब्रान्डसँग जोडिएर सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै यसबाट नेपाली क्रिकेट खेललाई अझै अगाडि बढाउन योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले यो सहकार्यले भविष्यमा नेपालमा क्रिकेट खेललाई मात्र नभई खेलाडीहरूको जीवनस्तरमा समेत परिवर्तन ल्याउन सहयोग पुग्ने अपेक्षा गरेका छन्।

नेपाली खेलकुद क्षेत्रको संरक्षण तथा प्रवर्धन गर्ने नेपाल सरकारको नीतिलाई यो सहकार्यले थप टेवा पुर्‍याउने विश्वास कम्पनीले लिएको छ। एनपीएलले हालै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त गरेकामा नेपाल टेलिम्याक्सले नेपाल क्रिकेट सघ (क्यान) लाई हार्दिक बधाईसमेत ज्ञापन गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *