डा. विजय पौडेलको निधन: चरम आर्थिक संकट र ऋणको तनावमा थिए

डिसी नेपाल
२६ असोज २०८३ १९:३५
1.1k
Shares

काठमाडौं। अर्थविज्ञ तथा कम्युनिस्ट नेता डा. विजय पौडेलको निधन भएको छ। केही समयदेखि गम्भीर आर्थिक समस्याबाट गुज्रिरहेका पौडेलको आज निधन भएको हो। निकटस्थहरूका अनुसार उनी पछिल्लो समय करोडौँ रुपैयाँको ऋणको मारमा परेका थिए।

उनले सञ्चालन गर्दै आएको जनता टेलिभिजन घाटामा गएपछि डा. पौडेल ऋणको पासोमा परेको बताइएको छ। यही आर्थिक दायित्वकै कारण केही दिनअघि मात्रै चेक अनादर (बाउन्स) मुद्दामा प्रहरीले उनलाई पक्राउ समेत गरेको थियो।

पछिल्लो समय आफ्ना आर्थिक समस्या समाधान गर्न ऋणको खोजीमा रहेका पौडेलले निधनको अघिल्लो दिन (हिजो) मात्रै नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेलाई फोन गरेर सहयोगका लागि आग्रह गरेको खुलेको छ।

नेता पाण्डेका अनुसार हिजो दिउँसो १२:३७ बजे डा. पौडेलको फोन आएको थियो। उनीहरूबीच ५९ सेकेन्ड कुराकानी भएको थियो।

सामाजिक सञ्जाल फेसबुकमा घटनाबारे उल्लेख गर्दै नेता पाण्डेले लेखेका छन्, “हिजो मात्र विजयजीले मलाई १२:३७ मा कल गर्नुभएको थियो। म चितवनमा छु भनेँ। ५९ सेकेन्ड मेरो कुरा भयो। उहाँ ऋणको तनावमा हुनुहुन्थ्यो। उहाँले ‘दाइ, तपाईंको गुरु न्यौपानेसँग कस्तो सम्बन्ध छ? उहाँले केही समयका लागि ऋण दिन सक्नुहुन्थ्यो कि?’ भनेर मलाई सोध्नुभयो। मैले धेरै समय भयो मेरो कुरा भएको छैन भनेँ। ए! भनेर फोन राख्नुभयो। आजै यस्तो दुःखद समाचार सुन्नुपर्‍यो।”

नेता पाण्डेलाई आज आफ्नी धर्मपत्नी पूर्ण सोभाले डा. पौडेलको निधनको खबर सुनाएकी थिइन्।

पाण्डे अगाडि लेख्छन्, “कसको दुःखद खबर! भर्खरै मेरो श्रीमती पूर्ण शोभाले फोन गरेर ‘डा. विजय पौडेल बित्नुभयो रे, फेसबुकमा पोस्ट आइरहेको छ’ भनेर सुनाइन्। के रे भनेँ मैले, मलाई पत्यारै भएन। हत्त न पत्त डाटा अन गरेर फेसबुक खोलेँ र धेरैजनाको पोस्ट एकपछि अर्को देखेँ। अझै बुझौँ भनेर कमरेड घनश्याम भुसाललाई कल गरेँ, उहाँले ‘हो’ भन्नुभयो। कमरेड विजयप्रति हार्दिक श्रद्धाञ्जली!”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *