उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

डिसी नेपाल
२६ असोज २०८३ १७:५१
4
Shares

गोरखा। उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्। सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बूढीगण्डकी बाढीले क्षति पर्यायका कारण उक्त क्षेत्रका जनता प्रभावित बनेका हुन्।

आइतबार मध्यरातिदेखि आएको बाढीले जलविद्युत् आयोजना बगाएपछि चुमनुब्री गाउँपालिका वडा नं ३ र वडा नं ६ मा विद्युत् अवरुद्ध बनेको सिर्दिबास उहिया लघुजलविद्युत् आयोजनाका अध्यक्ष सुजन गुरुङले बताए ।

चुमनुब्रीको लोक्पा, दुङ्ला, न्याक, फिलिम, चिसापानी, आंगा, सस्र्युँ, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, पैयुँ, भालुवन, सिर्दिबास र जगत्मा विद्युत् अवरुद्ध भएको हो । जसका कारण ९७१ घरधुरी प्रभावित बनेको उहाँले जानकारी दिए।

‘बाढीले विद्युत्को १२ पोल बगायो, एउटा टावर र तारहरु पनि कता पुर्‍यायो, पुर्‍यायो । पावर हाउस चाँही सुरक्षित छ’, उनले भने। विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा परेको चुमनुब्रीको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बताए ।

विद्युत् र इन्टरनेट नहुँदा हाल पालिकाको प्रशासनिक काम ठप्प बनेको छ । निजी सङ्घसंस्था र स्थानीय नागरिक पनि मर्कामा परेका छन्। हाल उत्तरी गोरखाको बाढी प्रभावित क्षेत्रमा एक गाउँबाट अर्को गाउँसम्म पुग्न सक्ने अवस्थासमेत नरहेको चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङ बताउँछिन्।

‘फिलिमबाट न तल जाने ठाउँ छ, न त माथि जाने । बाढीले पुल, बाटो सबै बगायो’, उनले भनिन्, ‘झनै बिजुली पनि नहुँदा त यो ठाउँ अन्धकार बनेको छ। धन्न मानवीय क्षति भने भएको छैन ।’ उत्तरी गोरखाको अधिकांश गाउँबस्तीमा विजुली र इन्टरनेटको समस्या रहेको गुरुङको भनाइ छ। बाढीका कारण उत्तरी गोरखाको धार्चे गाउँपालिकावासीलाई झनै मर्का परेको छ ।

हाल गाउँपालिकाको सात वटै वडाका करिब चारहजार घरधुरी विद्युत्विहीन बनेको पालिकाको प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले जानकारी दिए । विद्युत् प्राधिकरणको आरुघाटस्थित वितरण केन्द्रमा बाढीले क्षति पुर्‍याएपछि धार्चे गाउँपालिका अन्धकार बनेको उनले बताए।

‘बाढीले यहाँको बिजुली, सञ्चार, बाटो-घाटो, पुल सबै बगायो’, उनले भने। जिल्लाको आरुघाट गाउँपालिकाका ५० घरधुरी समेत विद्युत्विहीन बनेका छन् । पालिकाका अध्यक्ष राजु गुरुङले आरुघाटको वडा नं ५ शान्ति बजार क्षेत्रका ५० घरधुरीमा विद्युत् सेवा अवरुद्ध बनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *