कैलाली जनपुस्तकालयको ४९औँ वार्षिक साधारण सभा तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
धनगढी । कैलाली जनपुस्तकालयको ४९औँ वार्षिक साधारण सभा तथा शुभकामना आदानप्रदान कार्यक्रम पुस्तकालयको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा पुस्तकालयको वार्षिक तथा आर्थिक प्रतिवेदन पारित गर्नुका साथै रिक्त रहेका प्रबन्ध समिति सदस्य पदमा उपनिर्वाचनमार्फत पदपूर्ति, नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण तथा विभिन्न व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ।
कैलाली जनपुस्तकालयका अध्यक्ष शिवराज ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी राना प्रमुख अतिथिका रूपमा उपस्थित थिए। वरिष्ठ साहित्यकार बासुदेव पाण्डेय र वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र विशिष्ट अतिथिका रूपमा सहभागी थिए। पुस्तकालयका उपाध्यक्ष टङ्कप्रसाद जोशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव सुभाष सङ्कल्प भण्डारीले गरेका थिए।
साधारण सभामा सचिव सुभाष सङ्कल्प भण्डारीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसैगरी, कोषाध्यक्षको अनुपस्थितिमा उनले नै आर्थिक प्रतिवेदन तथा आयव्यय विवरण प्रस्तुत गरेका थिए। सभामा उपस्थित सभासद्हरूले दुवै प्रतिवेदनमाथि छलफल गरी पारित गरेका छन्।
यसैगरी, साधारण सभाले पुस्तकालयको प्रबन्ध समितिमा रिक्त रहेका चार सदस्य पदमा उपनिर्वाचनमार्फत पदपूर्ति गरेको छ। उपनिर्वाचनबाट मोहन भण्डारी, केशव ओझा, यम ढकाल र महेश्वरा भट्ट निर्विरोध निर्वाचित भएका छन्। नवनिर्वाचित चारै जना सदस्यले सोही दिन पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
्साधारण सभाको अवसरमा पुस्तकालयले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरेको छ। सम्मानित हुने व्यक्तित्वहरूमा महिला तथा बालबालिका सेफ हाउस, अत्तरियाकी सञ्चालिका जानकी मलासी, शैक्षिक व्यक्तित्व तथा संस्कृतिकर्मी बलराम भट्ट, धनगढीस्थित वडा कार्यालयका प्रमुख बलराम पाण्डेय, कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. मोहनसिंह साउद, यज्ञराज लेखक तथा पुस्तकालयका नियमित पाठक सदस्य टीकाराम पौडेल रहेका छन्।
त्यसैगरी, ‘शिव बिमा राष्ट्रिय शिक्षा सेवा पुरस्कार–२०८३’ गगन सिंह कार्कीलाई प्रदान गरिएको छ। रु. ११ हजार राशिको ‘शिव बिमा जेहेन्दार छात्रवृत्ति पुरस्कार’ शकुन्तला बोहरा र अनुज खड्कालाई प्रदान गरिएको छ।
कैलाली जनपुस्तकालयले पठन संस्कृतिको विकास, ज्ञानको प्रवर्द्धन तथा साहित्यिक र शैक्षिक गतिविधिको विस्तारमा योगदान पुर्याउँदै आएको छ। पुस्तकालयको वार्षिक साधारण सभाले संस्थाका विगतका गतिविधिको समीक्षा गर्नुका साथै भावी कार्यदिशा र कार्यक्रमलाई थप प्रभावकारी बनाउने अवसर प्रदान गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment