‘टनेल २६’ को रिलिज स्थगित, अब विभिन्न भाषामा विश्वव्यापी प्रदर्शन गरिने
काठमाडौं। नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको बहुप्रतिक्षित चलचित्र ‘टनेल २६ः द कर्स बिनिथ द माउन्टेन’ को असोज २३ गते (९ अक्टोबर) देखि हुने भनिएको प्रदर्शन तत्कालका लागि स्थगित गरिएको छ।
नेपाल र भुटानमा प्रदर्शनको तयारीमा रहेको यो चलचित्रको ग्राण्ड प्रिमियरबाट प्राप्त उत्साहजनक प्रतिक्रियापछि निर्माण पक्षले यसलाई दुई देशमा मात्र सीमित नराखी विश्वव्यापी रूपमा प्रदर्शन गर्ने निर्णय लिएको हो।
निर्माण टिमले दिएको जानकारी अनुसार अब चलचित्रलाई नेपाली, भुटानी, हिन्दी र अंग्रेजी भाषामा विश्वका विभिन्न देशहरूमा एकसाथ प्रदर्शन गरिनेछ। यसका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया तथा व्यवस्थापन पूरा गरेपछि चलचित्रको नयाँ रिलिज मिति छिट्टै घोषणा गरिने जनाइएको छ।
‘टनेल २६’ को निर्माणमा डोर्जिस प्रोडक्सन, रेल्टिक पिक्चर्स र रोलिङ इमेज पिक्चर्स लगायतका संस्थाहरूको सहकार्य रहेको छ। डोर्जिस प्रोडक्सनका तर्फबाट दोर्जी वाङ्चुक, रेल्टिक पिक्चर्सबाट प्रशान्त कुमार गुप्ता र कृष्ण गुप्ता तथा रोलिङ इमेज पिक्चर्सबाट डीडी किन्ले निर्माण सहकार्यमा जोडिएका छन्। चलचित्रका कार्यकारी निर्माता दोर्जी वाङ्चुक तथा क्रिएटिभ प्रोड्युसर प्रदीप खड्का हुन् भने यसको निर्माणमा सिजी ग्रुपका निर्वाण चौधरी पनि जोडिएका छन्।
यस चलचित्रको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका हुन्। चलचित्रमा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादाको मुख्य भूमिका रहेको छ।
चलचित्रको छायांकन दीर्घ गुरुङ र सङ्गे टी. तेन्जिङले गरेका छन् भने एक्सन निर्देशन राजु तामाङको रहेको छ। निर्माण डिजाइन कृष्ण शर्माको रहेको चलचित्रमा पेमा लामोले निर्माण व्यवस्थापन तथा ब्लु छेरिङ दोर्जीले मेकअप तथा कस्ट्युमको जिम्मेवारी सम्हालेका छन्।
त्यस्तै, चलचित्रमा टेरड्साक जानपानको संगीत तथा करण थामावोङको ध्वनि रहेको छ। चलचित्रको व्यवस्थापनमा लिभेन्ट्स स्टुडियो तथा सन्तोष कुमार कार्की पनि जोडिएका छन्।
तय भएको प्रदर्शन स्थगित गर्नुपरेकोमा निर्माण टिमले सम्पूर्ण दर्शक, सञ्चारकर्मी, चलचित्र प्रदर्शक तथा शुभेच्छुकहरूप्रति क्षमायाचना गर्दै चलचित्रप्रति देखाएको माया, उत्साह र विश्वासका लागि हार्दिक आभार व्यक्त गरेको छ।
निर्माण टिमले अब ‘टनेल २६’ लाई अझ व्यापक र ठूलो दर्शकमाझ पुर्याउने उद्देश्यसहित विश्वव्यापी प्रदर्शनको तयारीलाई तीव्र रूपमा अघि बढाएको जनाएको छ।

No ads found for this position



डिसी नेपाल
Facebook Comment