मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा
वासिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने घोषणा गरेका छन्। उनले इरानसँग फलदायी छलफल भइरहेको बताउँदै आर्थिक र सैन्य रूपमा इरान कमजोर अवस्थामा रहेको दाबी गरे।
ट्रम्पको घोषणाअघि अमेरिकी सञ्चारमाध्यमले ह्वाइट हाउसले इरानका सम्भावित सैन्य लक्ष्यमा आक्रमणको योजना बनाउन पेन्टागनलाई निर्देशन दिएको समाचार सार्वजनिक गरेका थिए।
यसैबीच, हर्मुज जलघाँटीमा तनाव र यमनका इरानसमर्थित हुथी तथा साउदी अरबबीचको शत्रुताले कच्चा तेलको मूल्य प्रतिब्यारेल १०५.८८ अमेरिकी डलरसम्म पुगेको थियो।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध युद्ध सुरु गरेपछि बढेको इन्धनको मूल्यप्रति अमेरिकी मतदाता असन्तुष्ट रहेको जनमत सर्वेक्षणले देखाएका छन्। युद्ध अन्त्य भएपछि मूल्य घट्ने ट्रम्पको दाबीले मतदातालाई आश्वस्त पार्न सकेको छैन।
अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा ट्रम्पको रिपब्लिकन पार्टीले कङ्ग्रेसमा बहुमत गुमाउन सक्ने जोखिम छ। डेमोक्रेटहरूले प्रतिनिधिसभामा बहुमत पाए आफूले तेस्रो महाभियोग सामना गर्नुपर्ने ट्रम्पले चेतावनी दिएका छन्।
इरानले लस एन्जलस र सान डियागोमा आक्रमण गर्न सक्ने आशयको अभिव्यक्तिलाई लिएर भएको आलोचनापछि ट्रम्पले सञ्चारमाध्यमले आफ्नो भनाइको गलत व्याख्या गरेको आरोप लगाए। इरानसँग आणविक हतियार नभएको अवस्थामा पेट्रोलको मूल्यमा भएको अस्थायी वृद्धि सानो मूल्य भएको उनले बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment