बाढीले पुलको पहुँचमार्ग बगाएपछि यातायात ठप्प, बागलुङमा पर्यटन र व्यापार सुस्तायो

डिसी नेपाल
२३ असोज २०८३ ७:१०

बागलुङ। चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरूमा पर्यटकको उल्लेख्य भरिभराउ हुने गर्दथ्यो। यस समयमा आर्थिक गतिविधि बढ्नुका साथै रोजगारीको दायरासमेत विस्तार हुने गर्दथ्यो।

यस वर्ष पनि सोहीअनुसारको व्यापारिक अपेक्षामा रहेका स्थानीय व्यवसायीहरू भने अहिले निरास र खिन्न बनेका छन्। मुख्य सडक सञ्जालसँगको सम्पर्क विच्छेद हुँदा समग्र पर्यटन, व्यापार र व्यावसायिक गतिविधि नराम्ररी प्रभावित बनेको छ।

दसैँको समयमा प्रसिद्ध कालिका मन्दिर, पञ्चकोट हुँदै ढोरपाटनसम्म घुम्न आउने पर्यटकका कारण बागलुङका होटलहरू भरिभराउ हुने गरेकोमा यस वर्ष बजार तथा होटलमा अपेक्षित चहलपहल देखिन सकेको छैन।

बागलुङ प्रवेश गर्ने मुख्य नाकाका रूपमा रहेको मालढुंगा पुलको पहुँचमार्ग बाढीले बगाएपछि विगत १२ दिनदेखि सिधा यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको छ। त्यसको प्रत्यक्ष मार पर्यटन क्षेत्र, व्यापार व्यवसाय र आम सर्वसाधारणको दैनिकीमा पर्न गएको छ।

गत असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वततर्फको पुलको पहुँचमार्ग बगाएपछि बागलुङ र पर्वतबीचको नियमित सडक सम्पर्क विच्छेद हुन पुगेको हो। मालढुङ्गा हुँदै छिमेकी जिल्ला म्याग्दी र मुस्ताङ जाने मुख्य राजमार्ग नै अवरुद्ध हुँदा त्यसको चौतर्फी प्रभाव बागलुङको पर्यटन उद्योगमा परेको छ।

पर्यटकीय गन्तव्यतर्फ जाने यात्रु तथा पर्यटकका लागि बागलुङ मुख्य प्रवेशद्वारका रूपमा स्थापित छ। स्थानीय होटल व्यवसायी एन्जील शाक्यका अनुसार दसैँको सङ्घारमा होटलहरूमा पर्यटकको चाप उच्च हुनुपर्ने समय भए पनि अहिले बजार क्षेत्र पूर्ण रूपमा सुनसानप्रायः छ।

मुख्य सडकको पूर्वाधार नै नरहेका कारण पर्यटक आउन नसकेको र मुस्ताङसँगको सडक सम्पर्क विच्छेद हुनुको प्रत्यक्ष प्रभाव बागलुङको होटल व्यवसायमा परेको छ।

मुस्ताङ जाने आवगमनले बागलुङको होटल व्यवसायलाई चलायमान बनाउने गरेकोमा पुल सञ्चालनमा आउन जति ढिलाइ हुन्छ, व्यवसायीहरू त्यति नै ठूलो आर्थिक मारमा पर्ने अवस्था छ। वैकल्पिक बाटो भएर पर्यटकहरू निकै कम मात्र आउने गरेकाले मुस्ताङ जोड्ने सडक र मालढुङ्गा पुल नखुलेसम्म होटल व्यवसायमा ठूलो नोक्सानी भइरहने देखिन्छ।

नेपाललाई छिमेकी मुलुक भारत र चीनसँग जोड्ने कालीगण्डकी करिडोरका साथै पहाडी भूगोल हुँदै विस्तार भएको मध्यपहाडी लोकमार्गको महत्त्वपूर्ण सङ्गमस्थल मालढुङ्गा हो। त्यसैले यहाँको सडक संरचनामा अवरोध आउँदा बागलुङका साथै पश्चिम क्षेत्रको समग्र यातायात आवागमन नै अस्तव्यस्त बन्न पुगेको छ।

वैकल्पिक मार्गले बढाएको ढुवानी खर्च र महँगी

मुख्य सडक अवरुद्ध भएपछि अहिले फलेवास-बलेवा हुँदै बागलुङ तथा मालढुङ्गा-बेनी हुँदै बागलुङसम्मका वैकल्पिक मार्गमार्फत यात्रुवाहक बस तथा साना मालवाहक सवारीसाधन सञ्चालन भइरहेका छन्।

लामो र घुमाउरो वैकल्पिक बाटो प्रयोग गर्नुपर्दा ढुवानीमा लाग्ने समय र लागत दुवै अत्यधिक बढेको व्यवसायीहरूको भनाइ छ। यसको प्रत्यक्ष आर्थिक भार दैनिक उपभोग्य वस्तुको बजार मूल्यमा पर्न थालेको छ।

खाना पकाउने ग्यास ढुवानीमा वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा प्रतिसिलिन्डर रु १५० देखि रु १७० सम्म अतिरिक्त ढुवानी खर्च लाग्न थालेको ग्यास विक्रेता हरि आचार्यले जानकारी दिनुभएको छ। ढुवानी भाडादर उल्लेख्य बढेका कारण बाध्य भएर बजारमा ग्यासको उपभोक्ता मूल्य प्रतिसिलिन्डर रु १०० ले वृद्धि गर्नुपरेको स्थिति छ।

सडक अवरोधका कारण समयमै मालसामान आपूर्ति हुन नसक्दा बागलुङमा ताजा तरकारीलगायत अन्य खाद्यवस्तुको आपूर्ति व्यवस्थामा समस्या देखिन थालेको छ। पेट्रोलियम पदार्थ, खाद्यान्न, लत्ताकपडा तथा अन्य उपभोग्य सामग्रीको आपूर्ति नियमित हुन सकेको छैन।

मुख्य सडक अवरुद्ध हुनाले आम सर्वसाधारणको दैनिक जीवनयापनका साथै आपतकालीन स्वास्थ्य सेवामा समेत प्रतिकूल असर परेको छ। गम्भीर बिरामी परेका तथा नियमित उपचारका लागि पोखराका अस्पताल जानैपर्ने सर्वसाधारणहरूले कष्टकर वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने वा केही दूरी जोखिम मोलेर पैदल नै हिँड्नुपर्ने बाध्यता सिर्जना भएको छ।

दसैँअघि नै पुल सञ्चालनमा ल्याउने तीव्र तयारी

सडक डिभिजन कार्यालय पोखराले भने मुख्य चाडपर्व दसैँअघि नै मालढुङ्गा पुलको पहुँचमार्ग मर्मत गरी यातायात सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण कार्य तीव्र पारेको छ। पुलको पहुँचमार्गमा करिब ३० मिटर सडक बाढीले पूर्ण रूपमा क्षति पुर्‍याएकाले त्यसको मर्मत सम्भार तथा पुनःस्थापनाको कार्य अघि बढाइएको छ।

सडक डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीका अनुसार चाडपर्व नजिकिँदै गएको र बागलुङ बजारमा खाद्यान्न, ग्यासलगायतका अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या पर्न थालेकाले चौबीसै घण्टा लगातार काम गराएर दसैँअघि नै पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

कुल ११४ मिटर लामो मालढुङ्गा पुलको पहुँचमार्गमा क्षति पुगेपछि दुई जिल्लाबीचको नियमित सडक सम्पर्क टुटेको हो। यही मार्ग हुँदै मध्यपहाडी लोकमार्गमा जोडिएर बागलुङका साथै पूर्वीरुकुम र रोल्पातर्फ जाने सवारी साधनहरूसमेत प्रभावित भएका छन्। पुल पुनः सञ्चालनमा आएपछि लामो समयदेखि प्रभावित बन्दै आएको व्यापार, पर्यटन र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था क्रमशः सहज बन्ने अपेक्षा गरिएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *