इजरायली प्रधानमन्त्रीले नै बनाएका थिए विमान अपहरणको योजना ?

डिसी नेपाल
१६ असोज २०८३ ११:२२

काठमाडौं । फ्लाईदुबई विमानमा भएको आक्रमणलाई लिएर इरानका तर्फबाट ठुलो आरोप लगाइएको छ। इरानी मिडिया प्रेस टीभीले यस सम्पूर्ण घटनाको पछाडि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानको कथित षड्यन्त्र हुन सक्ने दाबी गरेको छ।

रिपोर्टमा भनिएको छ – यस कथित योजनाको उद्देश्य नेतान्याहूप्रति अक्टोबर ७ को हमास आक्रमणलाई लिएर उठिरहेका प्रश्नहरूबाट ध्यान मोड्नु, अक्टोबर २७ को इजरायली चुनावअघि उनको स्थिति मजबुत बनाउनु र इरानविरुद्ध नयाँ कारबाहीको बहाना तयार पार्नु हुन सक्छ।

यो आरोप यस्तो समयमा आएको छ जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लाईदुबई विमानका को-पाइलट र इरानबिच कुनै सम्बन्ध देखिएमा इरानमाथि कडा कारबाही गरिने बताएका छन्। ट्रम्पले अमेरिका यस मामलाको अनुसन्धान गरिरहेको र आफूले पाइरहेको जानकारीका आधारमा इरानको भूमिका हुन सक्ने बताएका छन्। यद्यपि, उनले यसबारे कुनै विस्तृत विवरण भने दिएका छैनन्।

युएईबाट तेल अभिभतर्फ जाँदै गरेको फ्लाईदुबई उडानमा ओमानका को-पाइलटले कथित रूपमा क्याप्टेनमाथि चक्कु प्रहार गरे। त्यसपछि विमान तीव्र गतिमा तलतिर खस्न थाल्यो। विमानमा रहेका यात्रुहरू र अन्य क्रू सदस्यहरूले ककपिटमा पुगेर को-पाइलटलाई नियन्त्रणमा लिए र विमानलाई स्थिर बनाउन मद्दत गरे। त्यसपछि विमानलाई साउदी अरबको तबुकमा आकस्मिक अवतरण गराइयो।

विमानमा १८२ जना सवार थिए, जसमा अधिकांश इजरायली नागरिक थिए। भारतीय क्याप्टेन स्मित मच्छर पनि यस आक्रमणमा घाइते भए र पछि आबुधाबीमा उनको उपचार भयो। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार हाल आतंकवाददेखि लिएर अन्य सम्भावित कारणहरूसम्म सबै पक्षको अनुसन्धान भइरहेको छ।

इजरायली गुप्तचर र सुरक्षा अधिकारीहरूले साउदी अरबमा अनुसन्धानमा सहयोग गरिरहेका छन्। इजरायलले को-पाइलटलाई सोधपुछका लागि आफ्नो देश पठाउन अनुरोध पनि गरेको छ। युएईले पनि आफ्नो अनुसन्धान सुरु गरेको छ र यस आक्रमणको कुनै आतंकवादी उद्देश्यसँग सम्बन्ध थियो कि थिएन भन्ने कुरा पत्ता लगाउने जनाएको छ।

प्रधानमन्त्री नेतान्याहूले ओमानी को-पाइलट इस्लामवादी कट्टरपन्थी विचारधाराबाट प्रभावित भएको दाबी गरेका छन्। यद्यपि, उनलाई यो जानकारी कसरी प्राप्त भयो भनी सोध्दा उनको कार्यालयले यसमाथि कुनै टिप्पणी गरेन। इरानको भूमिकालाई लिएर नेतान्याहूले पनि अहिले नै केही भन्नु हतार हुने बताएका छन्।

फ्लाइटराडार २४ का अनुसार विमानको ककपिटबाट दुईवटा इमर्जेन्सी कोड पठाइएको थियो। पहिले ७७०० को प्रयोग गरियो, जुन सामान्य इमर्जेन्सी सिग्नल हो। त्यसपछि ७५०० कोड पठाइयो, जसले विमानमा गैरकानुनी हस्तक्षेप वा सम्भावित अपहरण (हाईज्याकिङ) को सङ्केत गर्छ।

रिपोर्ट अनुसार विमान करिब ३३ हजार फिटको उचाइबाट लगभग एक मिनेटमा १७ हजार फिटसम्म तल खसेको थियो। त्यसपछि विमानले साउदी-जोर्डन सीमा नजिकै एउटा अनौठो चक्कर लगायो र तबुकमा सुरक्षित अवतरण गरियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *