इरान-अमेरिका तनाव चुलिँदा तेलको मूल्य बढ्यो, विश्व बजारमा दबाब
न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको सातदिने युद्धविरामको प्रस्ताव अस्वीकार गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ।
तेलको मूल्यमा भएको यस वृद्धिले विश्वव्यापी रूपमा पुनः मुद्रास्फीति (महँगी) बढ्न सक्ने चिन्ता थपिदिएको छ भने यसको प्रत्यक्ष नकारात्मक असर एसियाली लगायत विभिन्न देशका सेयर बजारहरूमा समेत परेको छ।
इरानले गत साता संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा सातदिने युद्धविरामको प्रस्ताव प्रस्तुत गरेको थियो। सो प्रस्ताव कार्यान्वयनमा आएमा रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य पुनः खुल्ने र विश्वव्यापी ऊर्जा आपूर्तिमा देखिएको गम्भीर संकट केही सहज हुने अपेक्षा गरिएको थियो।
विश्वको ठूलो ऊर्जा आपूर्ति मार्गका रूपमा रहेको होर्मुज जलडमरूमध्य अहिले अमेरिका र इरानबिचको सैन्य तथा कूटनीतिक तनावको मुख्य केन्द्रविन्दु बनेको छ।
तर, ह्वाइट हाउस बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको उक्त प्रस्ताव स्वीकार गर्न नसकिने प्रस्ट पारेका छन्।
यद्यपि, उनले अमेरिका र इरानबिच कूटनीतिक वार्ता पुनः सुरु हुन सक्ने संकेत भने दिए। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार दुवै देशबिच अप्रत्यक्ष वार्ता सोमबारदेखि नै पुनः प्रारम्भ हुन सक्ने सम्भावना रहेको छ।
अन्तर्राष्ट्रिय जलक्षेत्र होर्मुज जलडमरूमध्य पुनः खोल्नका लागि इरानले केही कडा सर्तहरू अघि सारेको छ। जसमा विदेशमा रोक्का गरिएका इरानी वित्तीय सम्पत्तिहरू तुरुन्त फुकुवा गरिनुपर्ने, इरानी तेल निर्यातमाथि लगाइएका प्रतिबन्धहरू हटाउनुपर्ने तथा अमेरिकी नौसैनिक नाकाबन्दी पूर्ण रूपमा अन्त्य हुनुपर्ने उसका प्रमुख मागहरू रहेका छन्।
युद्धविरामको प्रस्ताव सार्वजनिक भएलगत्तै गत शुक्रबार दुई प्रतिशतभन्दा बढीले घटेको कच्चा तेलको मूल्य सोमबार बजार खुल्नासाथ पुनः उकालो लागेको हो।
अन्तर्राष्ट्रिय बजारमा उत्तर समुद्री बे्रन्ट कच्चा तेलको मूल्य १.८ प्रतिशतले बढेर प्रतिब्यारेल १०६.१९ अमेरिकी डलर पुगेको छ। त्यसैगरी, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य १ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ९३.३४ डलर पुगेको छ।
तेलको मूल्य बढेसँगै विश्वभर महँगी बढ्ने त्रास पुनः छाएको छ, जसको सोझो प्रभाव एसियाली सेयर बजारहरूमा देखिएको छ। लामो सार्वजनिक बिदापछि सोमबार खुलेको दक्षिण कोरियाली सेयर बजार दुई प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।
जापानको टोकियो, चीनको सांघाई, फिलिपिन्सको मनिला, थाइल्यान्डको बैंकक र इन्डोनेसियाको जकार्ताका सेयर बजारहरूमा पनि गिरावट दर्ज भएको छ।
अर्कातर्फ, हङकङ, अस्ट्रेलियाको सिड्नी, सिङ्गापुर र न्युजिल्यान्डको वेलिङ्टनका सेयर बजारहरूमा भने केही सुधार र वृद्धि देखिएको छ।
यसैबीच, विश्वव्यापी ऋणपत्र (बन्ड) बजारमा पनि प्रतिफल (यिल्ड) बढेको छ। गत साता विश्व ऋणपत्रको औसत प्रतिफल चार प्रतिशतभन्दा माथि पुगेको थियो, जुन सन् २००७ यताकै उच्च स्तर भएको बताइएको छ।
अब विश्वभरका लगानीकर्ताहरूको ध्यान अमेरिकी केन्द्रीय बैंक (फेडेरल रिजर्भ) को आगामी मौद्रिक नीतिसम्बन्धी निर्णयतर्फ केन्द्रित भएको छ।
अक्टोबरको अन्त्यमा हुने केन्द्रीय बैंकको बैठकअघि यसै साता अमेरिकाको मुद्रास्फीतिसम्बन्धी महत्त्वपूर्ण तथ्यांक तथा रोजगारीसम्बन्धी नयाँ विवरणहरू सार्वजनिक हुँदै छन्। यी तथ्यांकहरूले आगामी दिनमा हुने ब्याजदरसम्बन्धी निर्णयमा निर्णायक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
आर्थिक विश्लेषकहरूका अनुसार मध्यपूर्वमा राजनीतिक तथा सैन्य तनाव पुनः बढेपछि तेलको मूल्य बढेको छ र त्यसले एसियाली सेयर बजारहरूमा ठूलो दबाब सिर्जना गरेको छ।
यद्यपि, अमेरिका र इरानबिच पुनः अप्रत्यक्ष वार्ता सुरु हुन सक्ने सम्भावनाले बजारमा केही हदसम्म आशा भने जीवितै राखेको छ।
No ads found for this position




Facebook Comment