थाइल्याण्डको राजधानी बाढीले डुब्यो, ५० जिल्लामा संकटकाल

डिसी नेपाल
११ असोज २०८३ १५:३३

काठमाडौं । थाइल्यान्डको राजधानी बैंककमा भारी वर्षापछि आएको बाढीका कारण स्थिति बिग्रिएको छ। सडकहरूमा पानी भरिएपछि गाडीहरू डुबेका छन् भने बसहरूभित्र पनि पानी पसेको छ। कतिपय क्षेत्रमा मानिसहरू कम्मरसम्म आउने पानीबाट हिँड्न बाध्य भएका छन्।

यसैबिच, बाढीको पानीमा सर्पहरू देखिएका तस्बिर र भिडियोहरूसमेत बाहिर आएका छन्। प्रशासनले शहरका सबै ५० वटा जिल्लामा सङ्कटकाल घोषणा गरेको छ। मौसम विभागले सेप्टेम्बर २७ सम्म भारी वर्षाको चेतावनी दिएको छ।

बैंककमा बाढीको सङ्कट बढेपछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुल लन्डन भ्रमण बीचैमा छाडेर स्वदेश फर्किएका छन्। बैंकक प्रशासनका अनुसार बाढी प्रभावितहरूका लागि २३३ वटा अस्थायी राहत शिविर बनाइएका छन्। तिनमा करिब ४ हजार २०० मानिसले शरण लिइसकेका छन्।

थाइल्यान्डको विपद् रोकथाम तथा राहत विभागका अनुसार शनिवार देशका २१ प्रान्तमा पनि बाढीको जस्तै स्थिति सिर्जना भएको छ। मौसम विभागले आइतबार देशका अधिकांश भागमा भारीदेखि धेरै भारी वर्षाको अनुमान गरेको छ। यसले बाढीको स्थिति अझ बिग्रन सक्ने आशङ्का बढाएको छ।

यद्यपि, केही क्षेत्रमा वर्षा कम भएपछि प्रशासनले पानी निकाल्ने कामलाई तीव्र बनाएको छ। अधिकारीहरूका अनुसार वर्षा नभएमा जलस्तर बिस्तारै घट्न सक्छ। बैंककको ड्रेनेज एन्ड सिभरेज विभागको तथ्याङ्क अनुसार सेप्टेम्बर महिनामा सामान्यभन्दा बढी वर्षा भएको छ।

सेप्टेम्बर १ देखि २५ बिच राजधानीमा ४८७ मिलिमिटर वर्षा दर्ता गरिएको छ। सन् १९९१ देखि २०२० बिच सोही अवधिको औसत वर्षा करिब २६९ मिलिमिटर मात्र थियो।

बैंककमा सेप्टेम्बर महिनामा वर्षाको याम चरम विन्दुमा हुन्छ। यद्यपि, धेरै मानिसहरूले यसपालिको स्थिति सामान्यभन्दा निकै खराब रहेको बताएका छन्।

६३ वर्षीय स्थानीय बासिन्दा अनुटिन मीचामनानले भने, “म यहाँ धेरै वर्षदेखि बसोबास गर्दै आएको छु, तर यस्तो कहिल्यै देखेको थिइनँ। धेरै दिनसम्म निरन्तर वर्षा भइरह्यो।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *