कांग्रेस महाधिवेशनका उम्मेदवार प्रदेश र जिल्ला तहमा चुनाव लड्न नपाउने

डिसी नेपाल
१७ असोज २०८३ १९:०४

काठमाडौं। नेपाली कांग्रेसको विधानअनुसार आसन्न १५औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिने व्यक्तिले त्यसपछि हुने प्रदेश र जिल्ला कार्यसमितिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएको छ।

कांग्रेसको विधान २०१७ (संशोधनसहित) मा पार्टीको कुनै तहको अधिवेशनमा प्रतिस्पर्धा गरेको व्यक्ति सोही अवधिमा आफूले प्रतिस्पर्धा गरेको तहभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि कार्यसमितिको पदमा उम्मेदवार हुन नपाउने व्यवस्था रहेको केन्द्रीय निर्वाचन समितिले स्पष्ट गरेको छ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आसन्न १५औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार बनेका व्यक्ति त्यसपछि हुने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने व्यवस्था पुनः स्मरण गराएका छन्।

त्यस्तै, पदेन महाधिवेशन प्रतिनिधि तथा भ्रातृ संघ र शुभेच्छुक संस्थाबाट आएका पदेन प्रतिनिधिले महाधिवेशनमा केन्द्रीय कार्यसमितिको पदमा उम्मेदवारी दिन नपाउने वैधानिक व्यवस्था रहेको पनि समितिले स्पष्ट गरेको छ।

केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको निर्वाचन प्रक्रियाका क्रममा विधानमा रहेको उक्त व्यवस्थालाई आधार मानेर उम्मेदवारीसम्बन्धी प्रक्रिया अघि बढाइने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *