ऊर्जा मन्त्री श्रेष्ठद्वारा कुलेखानी बाँधको निरीक्षण

डिसी नेपाल
१७ असोज २०८३ १७:५६

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको बाँधको शनिबार निरीक्षण गरेका छन्। पछिल्लो ८ देखि १२ असोजसम्मको भारी वर्षाले बाँधको पानीको सतह सतर्कता तहमा पुगेपछि मन्त्री श्रेष्ठले स्थलगत निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितका अधिकारीले बाँधको अवस्थाबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए। मन्त्री श्रेष्ठले कुलेखानी बाँध सुरक्षित र अहिले अवस्था सामान्य रहेको बताएका छन्।

उनका अनुसार भारी वर्षाका क्रममा बाँधको पानीको सतह व्यवस्थापन, चौबीसै घण्टा निगरानी तथा तल्लो तटीय क्षेत्रमा सूचना प्रवाह गरी आवश्यक सतर्कता अपनाइएको थियो। अहिले बाँध स्थिर र सुरक्षित अवस्थामा रहेको उनले बताए।

मन्त्री श्रेष्ठले अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुगेको र त्यसको प्रभाव कुलेखानीमा समेत परेको बताए। कुलेखानी जलविद्युत् केन्द्र नेपालको विद्युत् प्रणालीको मुख्य ‘ब्याकअप’का रूपमा रहेकाले पानीको सतह सतर्कता तहमा पुग्दा विद्युत् आपूर्ति व्यवस्थापनमा समेत दबाब सिर्जना भएको उनको भनाइ छ।

स्थलगत अध्ययनपछि जलाशयमा पर्याप्त पानी रहेकाले आगामी सुख्खा मौसममा विद्युत् आपूर्ति व्यवस्थापनमा थप सहज हुने विश्वास बढेको मन्त्री श्रेष्ठले बताए। ऊर्जा सुरक्षालाई बलियो बनाउँदै भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न सरकार सक्रिय रहेको उनले बताए।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले कुलेखानी विद्युत् प्रणालीको मेरुदण्डका रूपमा रहेको बताए। उनका अनुसार कुलेखानीले विद्युत्को उच्च माग हुने समयमा आपूर्ति व्यवस्थापन तथा प्रणाली सञ्चालनमा महत्वपूर्ण योगदान गर्दै आएको छ। उनले पनि बाँधको वर्तमान अवस्था सामान्य रहेको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *