शिक्षाले समाज, संस्कृति र राष्ट्रप्रति उत्तरदायी नागरिक बनाउनुपर्छ : राष्ट्रपति पौडेल

डिसी नेपाल
१७ असोज २०८३ १७:१४

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताएका छन्। उनले सेन्ट जेभियर्स स्कुल गोदावरी र जावलाखेलको ७५औँ वार्षिकोत्सव समारोहलाई शनिबार ललितपुरमा सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्।

‘शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित हुँदैन। शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारीबोधको विकास गर्ने सशक्त माध्यम हो। त्यही भएर शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने हुनुपर्दछ,’ राष्ट्रपति पौडेलले भने।

उनले नेपाल विविध भाषा, संस्कृति, परम्परा र जीवनपद्धतिले समृद्ध देश भएकाले हामीले दिने शिक्षाले देशको विविधतालाई सम्मान गर्दै विद्यार्थीमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए। समय परिवर्तनशील भएको तर परिवर्तनसँगै हाम्रा आधारभूत मानवीय मूल्यहरू अझ सुदृढ हुन चाहिँ आवश्यक रहेको उनको भनाइ थियो।

सूचना प्रविधिको द्रुत विकास भएको आधुनिक युगमा हामी कस्तो राष्ट्र निर्माण गर्न चाहन्छौँ र भोलिका लागि कस्तो जनशक्ति आवश्यक पर्छ भन्ने प्रश्नको उत्तर पनि हाम्रो शैक्षिक प्रणालीमै खोजिनुपर्छ। त्यसका लागि प्रविधिको उच्चतम प्रयोगसँगै समयको मागअनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्दछ,’ राष्ट्रपति पौडेलले भने।

उहाँले ज्ञान र सीपसँगै नैतिकता, अनुशासन, सिर्जनशीलता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नु आजको शिक्षाको प्रमुख दायित्व भएको बताए।

‘साथसाथै, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने गरी स्वदेशमै उत्पादन र रोजगारीको अवस्था सिर्जना गरी हरेक नागरिकमा देशभक्तिको भावना अभिवृद्धि गर्ने शिक्षा प्रदानमा विशेष ध्यान दिनुपर्छ भन्ने म ठान्दछु,’ राष्ट्रपति पौडेलले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *